नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7752 · वि.सं. २०६३
नि.नं. 7752 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ हदैसम्म सजाय गर्दा वा हदैसम्म सजाय नगरी आधा वा कम सजाय गर्दा किन हदैसम्म सजाय गरेको वा किन हदैसम्म सजाय नगरी आधा वा कम सजाय गरिएको हो त्यसलाई पुष्टि गर्ने आधार र कारणले समर्थन गर्नु पर्ने । (प्रकरण नं.४७) § अ.वं. १८८ नं. बमोजिम सजाय घटाउँदा वा नघटाई हदैसम्मको सजाय तोक्दा किन हदैसम्मको सजाय गर्न परेको हो, कारण विनाको परम्परागत कैद तोक्ने वा घटाउने प्राणालीको अन्त्य गरी अपराध गर्दाको परिस्थिती, तयारी षडयन्त्र, योजना, अभियुक्तको आपराधिक अभिलेख, अपराध गर्दाको बखतको अभियुक्तको सजगता, अपराध गरी सकेपछिको अभियुक्तको कृयाकलाप, अभियुक्तको अपराधिक गिरोहसँग संलग्नता एवं साठ गाँठ, अपराध सँग ठित अपराध हो, होइन कतिको निर्ममतापूर्वक अपराध भएको हो, अपराध गर्दा प्रयोग गरिएको हात हतियार, साधन एवं उपकरण अभियुक्तको उमेर, चरित्र, पीडितलाई पुगको क्षति, पिडीतको परिवारलाई पुगेको क्षति, क्षति अपुरणीय हो कि आदि विभिन्न कुराहरुलाई ध्यानमा राखेर अभियुक्तले अव पुनः अपराध गर्ने आँट र गल्ती नदोहर्याउने भनी अपराध माफिकको उचित कैद सजाय तोक्नुपर्ने । (प्रकरण नं.४८) § Guilty mind ले गर्ने ज्यान सम्बन्धी महलको १३ नं. को अपराध ठहर गरी Innocent mind ले गर्ने ज्यान सम्बन्धी महलको १४ नं. को अपराधमा हुने कैद सजाय भन्दापनि कम सजाय गर्न मिल्ला नमिल्ला र त्यस्तो रायलाइ कसरी पुष्टि गर्न सकिएला ? कसरी पुष्टि गर्न मिल्ला ? विचार गर्नु पर्छ । Guilty mind ले गर्ने ज्यान सम्बन्धी महलको १३ नं. को अपराध ठहर गरी Innocent Mind ले गरेको अपराधमा १४ नं. ले हुने कैद सजाय भन्दापनि कम कैद सजाय तोक्ने अ.वं. १८८ को मनसाय र उद्देश्य हो होइन, अ.वं. १८८ नं. बमोजिम कैद सजाय घटाउने राय व्यक्त गर्ने पुनरावेदन एवं जिल्ला अदालतले अ.वं. १८८ नं. प्रयोग गर्नु अगाडि सदविवेक लगाई सोच्नुपर्ने । § अ.वं. १८८ नं.ले सजाय घटाउने चाहि अपवाद र अ.वं. १८८ नं. प्रयोग नगर्ने चहि Rule हुने ऐनको मनसाय स्पष्ट हुँदा हुँदै ज्यान सम्बन्धीको १३ नं. को कसूर कार्य गरी ऐन विपरीत जवान २०–२२ बर्षको अभियुक्त भएको आधारमा पनि २० बर्षको कारण देखाई अ.वं. १८८ नं. प्रयोग गरी सजाय घटाउने र ६५–७० बर्षको व्यक्ति अभियुक्त भएपनि अपराधी वृद्ध भएको भनी अ.वं. १८८ नं.ले सजाय घटाउने हालको प्रचलन ऐन विपरित भएको स्पष्ट छ । अ.वं. १८८ नं. प्रयोग गर्न अगाडि कमसेकम अ.वं. १८८ नं. मा के लेखिएको छ र कस्तो अवस्थामा मात्र अ.वं. १८८ नं.ले सजाय घटाउने राय लेख्ने अधिकार दिएको छ । अदालतले ऐन हर्नै पर्छ र ऐनले दिएको भन्दा बढि अधिकार अदालत जस्तो निकायले प्रयोग गर्न नमिल्ने । (प्रकरण नं.५०) § अपराध गर्दाको अवस्था हेर्दा परिस्थितिवस मात्र अपराध गरेको भन्ने देखिएको अवस्थामा ज्यान सम्बन्धी महलको १३ नं. र १४ नं. को अपराधमा के फरक छ यसको महत्व बुझी कारण सहित Innocent mind तर Actus Reus बाट मात्र ज्यान मर्न गएकोमा हाम्रो कानून ज्यान सम्बन्धी महलको १४ नं. को सजायको व्यवस्थालाई पनि ध्यानमा राखि अ.वं. १८८ नं. प्रयोग गर्न सकिने ऐनको मनसाय हो । पुनरावेदन अदालतले माथिका कुनै कुरा पनि विचार नगरी प्रतिवादीहरुलाई हचुवाको भरमा सजाय घटाई १० बर्ष सजाय गर्ने राय व्यक्त गरेको देखियो जुन कानून विपरित हुने । (प्रकरण नं.५१) § योजनावद्ध तरिकाले घातक हतियार जम्मा गरी १ भन्दा बढी व्यक्तिहरुको संलग्नतामा भाला जस्तो जोखिमी हतियार प्रयोग गरी भएको वारदातलाई कसरी Innocent mind ले गरेको हत्या मान्ने ? यस्तोमा ज्यान सम्बन्धीको १४ नं. को परिस्थितीको विद्यमानता रहेको भनी पुनरावेदन अदालतले लिएको आधार ठिक मान्न सकिएन । यदि प्रमाणबाट ज्यान सम्बन्धीको १४ नं. को अवस्थाको वारदात देखिन्छ भने स्वतन्त्र न्यायपालिकाले निडर भएर १४ नं. को कसूर नै कायम गरी सोही अनुसार सजाय गर्न सक्नु पर्दछ । अ.वं. १८८ नं. को हवाला दिई सजाय घटाउने होइन । (प्रकरण नं.५२) § अदालतबाट भएको कानून बमोजिमको फैसला प्रति सर्मपण गर्नुको सट्टा भागि हिडी वेपत्ते ठेगानाबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १०(४) को सहुलियत लिन पाईन्छ की ? भनी लाग्नै नसक्ने १०(४) अन्तर्गत अरु व्यक्ति उठाई अरुबाट निवेदन पठाउने निवेदकहरुको सन्दर्भमा अ.वं. १८८ नं. का आधारमा सजाय घटाउनु भनेको अ.वं. १८८ नं. को व्यापक दुरुपयोग गर्नु हो र अदालतले त्यस्तो कहिल्यैपनि गर्नु नहुने । (प्रकरण नं.५३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7752 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2062/12/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री पवन कुमार ओझा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7752 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
