नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 768 · वि.सं. २०३०
नि.नं. 768 — उत्प्रेषणको आदेश जारी गरीपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदकको मागबमोजिम आदेश जारी भएमा हक प्रचलन हुन नसके पनि भविष्यको अरू कुनै निर्वाचनमा उम्मेद्वार हुन पाउने हक सुरक्षित हुने वास्तविक लाभ हुन सक्ने देखिए माग बमोजिमको आदेश निरर्थक हुन जाने भन्न मिल्ने नदेखिने । जुन प्रधानपञ्चको निर्वाचनको कुरालाई लिई यो रिट निवेदन पर्न आएको हो सो निर्वाचनको प्रधानपञ्चको अवधि ४ बर्ष पुरा भइसकेकोले अब निवेदकको मागबमोजिम आदेश जारी भए तापनि निवेदकको हक प्रचलन हुन सक्ने स्थिति नभई त्यस्तो आदेश जारी गर्न निरर्थक हुन जाने भन्ने विद्वान का.मु.वरिष्ठ सरकारी अधिवक्ताले बहसमा मुख्य जिकिर लिनु भएको हकमा जुन निर्णय बदर गरिपाउँ भनी निवेदक आएको छ सो निर्णय बदर गर्दा उसको हक प्रचलन हुन सक्दैन वा हक प्रचलन हुन नसके पनि त्यसबाट उसलाई वास्तविक लाभ पनि हुन सक्दैन भने त्यस्तो आदेश जारी गर्नु निरर्थक हुन जाने हो, विपक्षी निर्वाचन विशेष अदालतको फैसलाबाट टाट उल्टिएकोले निर्वाचनमा उम्मेद्वार हुन नपाउने भनी निवेदक प्रति जुन अयोग्यताको ठहर गरेको छ सो कायम रहेमा त्यसबाट यो प्रधानपञ्चको निर्वाचनमामात्र होइन कि भविष्यमा हुने अरू कुनै निर्वाचनमासमेत उम्मेद्वार हुन नपाउने भई निवेदकलाई हुन सक्ने वास्तविक लाभसमेतमा असर पुग्न जाने देखिन्छ, निवेदकको मागबमोजिम आदेश जारी भएमा यो प्रधानपञ्चको निर्वाचनमा उम्मेद्वार हुन पाउने निवेदकको हक प्रचलन हुन नसके पनि भविष्यमा अरू कुनै निर्वाचनमा उम्मेद्वार हुन पाउने निवेदकको हक सुरक्षित रही निजलाई वास्तविक लाभ हुन सक्ने हुँदा आदेश निरर्थक हुन जाने भन्न मिल्ने देखिँदैन । (प्र.नं. ६) (२) निर्वाचन अपराध तथा सजाय ऐन, २०२४ को दफा १ को खण्ड (ग) अनुसार अयोग्य मानिने व्यक्ति अयोग्य मानिनलाई टाट उल्टी भएको भनेरमात्र पुग्ने नभई टाट उल्टी साहुको दामासाहीमा पर्नु पर्ने । कुनै व्यक्ति टाट उल्टी साहुका दामासाहीमा परेको हो होइन भन्ने प्रमाणको आधारमा निश्चित हुने कुरा हो त्यसलाई कानूनी प्रश्न भनी व्याख्या गर्ने आवश्यक पर्दैन भन्ने ०२८।१।५।१ को डिभिजन बेञ्चको तर्कका हकमा निर्वाचन (अपराध तथा सजाय) ऐन, ०२४ को दफा ६(१) को खण्ड (ग) मा टाट उल्टी साहुको दामासाहीमा परेको भनी उल्लेख भएको सो भित्र निवेदक पर्ने नपर्ने कुरा उक्त दफाकै व्याख्यामा आधारित भएको र उक्त दफाको गलत व्याख्या गरी गैरकानूनी निर्णय गरेको बदर गरिपाउँ भन्ने निवेदकको मुख्य जिकिर हुनाले यस्तो कुरालाई कानूनी प्रश्न होइन भन्न नमिल्ने हुँदा डिभिजन बेञ्चको उक्त तर्कसँग सहमत हुन मिलेन । निवेदक, निर्वाचन (अपराध तथा सजाय) ऐन, ०२४ को दफा ६ (१) को खण्ड (ग) अनुसार अयोग्य मानिने व्यक्ति हो होइन भन्ने तर्फ हेर्दा उक्त दफा ६ (१) खण्ड (ग) मा टाट उल्टी भन्ने र साहुको दामासाहीमा परेको भन्ने वाक्य कुनै अक्षर वा चिन्हद्वारा फरक फरक अर्थ लाग्ने गरी छुट्याइएको नभई टाट उल्टी साहुको दामासाहीमा परेको भन्ने समूह रूपमा एकै वाक्यांश उल्लेख भएकोले उक्त दफा अनुसार अयोग्य मानिनलाई टाट उल्टिएको भनेरमात्र पुग्ने नभई टाट उल्टी साहूको दामासाहीमा परेको हुनु पर्ने प्रष्टै छ । साहुको दामासाहीमा परेको भन्ने कुरा मुलूकी ऐन दामासाहीको १।२ नं. बमोजिम दामासाही गरिपाउँ भनी सोही ऐनको ४ नं. बमोजिम आसामीको साहूहरू उपर नालेस परी अदालतको फैसलाले दामासाही गराइदिएको हुनुपर्छ अनीमात्र साहूको दामासाहीमा परेको मानिन सक्छ । निवेदकको त्यस किसिम अदालतमा नालिस परी साहूको दामासाहीमा परेको भन्ने नभई विपक्षी निर्वाचन विशेष अदालतको फैसलामा झुमडमल माडवारीले भरी पाउने भएको बिगोमा जायजात हुन जाँदा घरद्वारा धनमालसमेत केही नभएको बहिनी ज्वाँई सुर्घुको घर गुहालीमा बसी बनियारी गरी पेट पालन गरेको भन्ने सर्जमिन मुचुल्का भएको भन्ने कुराले टाट उल्टिएको भनी उक्त निर्वाचन (अपराध तथा सजाय) ऐन, ०२४ को दफा ६ (१) को खण्ड (ग) को अयोग्यता ठहराएको रहेछ, त्यतिकै कुराले उक्त दफा ६(१) को खण्ड (ग) मा उल्लिखित टाट उल्टी साहुको दामासाहीमा परेको भन्ने वाक्यांश परिभाषा भित्र नपर्ने देखिन्छ । (प्र.नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 768 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरीपाउँ |
| निर्णय वर्ष / मिति | 2030/04/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर थापा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 768 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
