नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7294 · वि.सं. २०६०
नि.नं. 7294 — नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(१) र (२) बमोजिम उत्प्रेषणको आदेश जारी गरी पाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै ऐन के कति कारणबाट संविधानसंग वाझिएको छ भन्ने कुरा निवेदकले नै देखाउन सक्नुपर्दछ । समानताको सिद्धान्त समानहरुलाई असमान व्यवहार गर्न नहुने कुरामा आधारीत छ। तथ्यको समानतामा कानूनको प्रयोग पनि समान किसिमले हुने हो । मोलासेस र स्प्रिट खरीद गर्ने मदिरा उत्पादकलाई भिन्न अन्तः शुल्कको दर निर्धारण गरिएको हुँदा समान कच्चा पदार्थवालालाई असमान व्यवहार गरियो भन्ने स्थिति नरहने। § समानस्तरका मदिरा उत्पादक भएपनि अलग अलग किसिमको कच्चा पदार्थ खरिद गरी उत्पादन गर्ने उत्पादकहरुले अलग अलग दायित्व वहन गर्नुपर्ने नै हुंदा अन्तःशुल्कको असमान दायित्व बोकाएको भन्न मिल्ने अवस्था देखिएन । तसर्थ आयकर ऐन, २०५८ को दफा १४३(२)(छ)(१) को व्यवस्था संविधानसंग वाझिएको नदेखिने । § कुन ऐन के कस्तो बनाउने, के कति संशोधन वा खारेज गर्ने भन्ने विषय विधायिकाको अधिकारको कुरा हो । हाम्रो देशमा संविधान मूल कानून भई संवैधानिक सर्वाेच्चताको सिद्धान्तलाई राज्यले अंगीकार गरेको हुंदा संविधानले नै निषेध गरेको अवस्थामा बाहेक संविधानका प्रावधानहरुसंग नबाझिने गरी विधायिकाले आवश्यक र उपयुक्त कानून बनाउन, संशोधन गर्न वा खारेज गर्न सक्ने नै हुन्छ । त्यस्तै कानून निर्माणको क्रममा कुनै अमुक कानूनद्वारा अन्य कुनै कानूनको कुनै प्रावधानलाई हटाउन वा खारेज गर्न पनि नसकिने भन्न नमिल्ने । § औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ध) को व्यवस्थालाई आयकर ऐन, २०५८ को दफा १४३(२)(छ)(१) ले खारेज गरी दिएको अवस्थामा संविधान अन्तर्गत रहेर बनेको ऐनले नै सुविधा नदिएको कुराको सम्बन्धमा समानताको सिद्धान्त प्रतिकूल असमान व्यवहार भयो भन्न समेत नमिल्ने हुंदा विवादमा ल्याइएको कानूनी व्यवस्था निवेदकको माग बमोजिम अमान्य तथा बदर घोषित गरी उत्प्रेषणको आदेश समेत जारी हुने अवस्था नदेखिने । (प्र.नं. १६ देखि १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7294 |
|---|---|
| मुद्दाको विषय | नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(१) र (२) बमोजिम उत्प्रेषणको आदेश जारी गरी पाउं |
| निर्णय वर्ष / मिति | 2060/09/10 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री खिलराज रेग्मी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7294 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
