नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 715 · वि.सं. २०२९

नि.नं. 715 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एउटै घरमा बसेको नाताले एकाघरका भनी नलेखिने, अंश नभई एउटै घरमा बसेका अंशियारलाई एकाघरको भनी लेखिने । यसमा दावीबमोजिम वादीले अंश पाउने नपाउने के हो भन्ने कुराको निर्णयको लागि मिसिल कागजहरूको अध्ययन गरी हेर्दा प्रतिवादीबाट पेश हुन आएको रु. १२१ लिई अंशमा दावी छोडी दिएका भन्ने व्यहोराको ८०।६।२९ को कागज आफूले गरी दिएको होइन भनी वादीले जिकिर लिन नसकेको र यो मुद्दाको प्रतिवादी सुचेतमानले वादी बंशमानउपर अंशको दावी खिचोला मेटाई कागज सदर गरी पाउँ भनी दिएको मुद्दामा सोही ८०।६।२९ को कागजलाई आधार लिई आफूले हक दावी छोडी सकेकोमा फेरि अंश पाउँ भनी दावी गरेको समेत ठहराई देवानी तेश्राबाट ८८।१।२६ मा भएको फैसला अन्तिम रुपमा रहेको देखिएको समेतबाट वादी वंशमान पहिले एक पटक छुट्टी भिन्न भई रु. १२१। लिई अंशमा दावी छाडी बसेको प्रमाणित हुन्छ तथापी प्रमाणमा पेश भएको सो पछिका अन्य कागजहरू हेर्दा प्रतिवादी सुचेतमानले रामहरि पाध्यालाई ९९।८।२।३ मा पास गरी दिएको फार्छेपत्र निज सुचेतमानले पूर्णलाल अमात्यलाई २०००।३।१७ मा पास गरी दिएको भोगबन्धकी तमसुकमा ऋणीको एकाघरको छोरा बंशमान अमात्य भन्ने लेखी वादीलाई साक्षी राखेको र प्रतिवादी सुचेतमानले तिरुवा विर्ता पाई २००३।४।२४।२ मा भएको लालमोहरमा पनि विर्ता पाउने सुचेतमानको एकाघरको छोरा वंशमान अमात्य भन्ने लेखिएको समेत देखिन आयो प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले उक्त लिखतहरूमा एकाघरको भन्ने लेखेको भए पनि एकाघर सगोलको नभनेको र छुट्टी भिन्न भएको छोरा पनि बाबु बसेको एउटै घरमा बस्न सक्ने र त्यसरी एउटै घरमा बसेकोलाई एकाघरको भन्ने लेखिने हुँदा त्यस्तो लेखिदैमा अंश छुट्टिएको पछि सगोलमा बसेको मानिन नसक्ने भन्ने तर्क उठाउनु भएको हकमा ८० सालमा बाबुसँग १२१। लिई अंशमा दावी छाडी बसेको भनिएको वादी फेरि सगोलमा नमिलिएको भए त्यस्तो व्यक्ति पुर्खौली घरमा बाबुका साथ बस्न सक्ने स्थिति नै उत्पन्न हुन सक्तैन र बहालमा मगनीमा बसेको भन्ने पनि देखिँदैन वास्तवमा एउटै घरमा बसेको नाताले जोसुकैलाई पनि एकाघरको भनि लेखिने नभई अंश नभई एउटै घरमा बसी आएका अंशियारहरूल लाईसम्म एकाघरको भनी लेखिने कुरा हो उपरोक्त लिखतहरूमा वादी वंशमानलाई सुचेतमानको एकाघरको छोरा भन्ने लेखिएको र प्रतिवादी सुचेतमानले दुर्गादेवी पाध्यानीसँगको बहाल भराई घर चलन पाउँ भन्ने मुद्दामा वादी वंशमानलाई वारेस राखी २००६ साल भाद्रमा गरी दिएको वारेसनामामा मेरो एकाघरसँग मानो जोडी बसेको छोरा भन्ने बोली परेको समेतबाट वादी पहिले एक पटक छुट्टिएको भए पनि पछि फेरि बाबुसँग मानो जोडी सँगबसेको रहेछ भन्ने प्रष्ट हुन्छ बाबुले लेनदेन कारोवार गर्दा छोरालाई एकाघरको भनी लिखतमा साक्षी राखिन्छ भने सो लेनदेन कारोवार भएको सम्पत्तिमा अंश हकको दैयादार छोरालाई साक्षी राखी कारव्यवहार भएको भन्ने पुष्टि हुन आउँछ । पहिले भिन्न भई पछि फेरि बावुसँग मानो जोडी बसेको साविक रजिष्ट्रेशनको ३क.नं. बमोजिम रजिष्ट्रेशन पास भएको लिखत नभएकाले मानो जोडी बसेको कायम हुन नसक्ने पनि तर्क उठ्न सक्छ तर उक्त रजिष्ट्रेशनको ३ क.नं.मा त्यस्तो लिखत चाहिने बाध्यता गरेको मिति २००० साल कार्तिक १० गते देखि अगावैको उपरोक्त ९९।८।२।३ को फार्छे पत्र २०००।३।१७ को भोगबन्धकी तमसुक भई एकाघरको भन्ने जनाई राखेकोले त्यसबाट २००० साल कार्तिक १ गते अगावै मानु जोडी बसेको देखिन आउने हुँदा मानो जोडी बसेको पास भएको लिखत चाहिने भन्न भएन । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.715
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2029/09/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 715
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्