नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 705 · वि.सं. २०२९
नि.नं. 705 — जालसाजी, जिम्मावारी धनमाल हिनामिना गरे
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विदेश जानेको सम्पत्ति ऐनले अपुताली खान पाउने नजिकको हकवालाको जिम्मा राख्नु रखाउनुपर्ने कानूनी व्यवस्था नभएको । तत्सम्बन्धमा कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित आशौच बार्नेको ३५ नं.मा देश परदेश गएको मानिस मर्यो जिउँदो केही पत्ता नभएकोमा घरबाट जाँदाको उमेर परदेश गएपछिको बर्ष जम्मा गरी १३० बर्ष उमेर नाघेपछि काजकृया गर्नुपर्ने र १०० बर्ष नपुगी अपुतालीको आशाले काजकृया गरेकोमा पछि जिउँदो फर्की आयो भने कृया गर्नेलाई उसैले पाउने अपुताली बमोजिम दण्ड हुनेसम्म व्यवस्था गरेको पाइन्छ, त्यस्ता विदेश जानेको सम्पत्ति ऐनले अपुताली खान पाउने नजिकको हकवालाको जिम्मा राख्नु रखाउनुपर्ने कुनै पनि कानूनले व्यवस्था गरेको पाउन सकिएन । (प्रकरण नं. ९) (२) विदेश जानेको सम्पत्ति अरु जिम्मा लगाएकोमा मेरो जिम्मा लगाई रखाइपाउँ भन्ने हकवालाको नालिस लाग्न नसक्ने । नजिकको हकवालाकै जिम्मा राख्नु रखाउनुपर्ने कानूनी व्यवस्था नभएपछि विदेश जानेको सम्पत्ति हिनामिना हुन गर्न नपाउने गरी जोसुकै जिम्मा पनि राख्न रखाउन कानूनले नमिल्ने हुँदैन । नजिकको हकवालाबाहेक अरु जिम्मा राखे रखाएकोमा सो जिम्मा लिने व्यक्तिले जिम्मा लिएको सम्पत्ति हिनामिनासमेत गरेमा अपुतालीबाट हक खोज्न पाउने अवस्था पुगेकोमा ऐनले अपुताली खान पाउने नजिकको हकवालाले अपुतालीको तहबाट ऐनबमोजिम दावी नालिस गरेमा उसैबखत ठहरेबमोजिम हुने कुरा हो । उपरोक्त आशौच बार्नेका ३५ नं. बमोजिम विदेश जानेको १०० बर्ष उमेर नभएसम्म हकवालाले कृयासमेत गर्न नपाउने र विदेश जाने मानिस आफै फर्की आएमा आफ्नो सम्पत्ति निजले नै खोजी गरी लिन पाउने हुन्छ नगिचको हकवालाले ऐनले अपुताली हक खोज्न पाउने अवस्था पुगी सकेको हुनु बेगर विदेश जानेको सम्पत्तिमा पहिले नै हकवालाको हक पुग्न सक्ने हुँदैन यस स्थितिमा विदेश जानेको सम्पत्ति अरु जिम्मा राख्न रखाउन कानूनले बन्देज नलगाएकोमा अरु जिम्मा लगाएको बदर गरी मेरो जिम्मा राखी रखाई पाउँ भनी हकवालाले दावी नालिस गर्न पाउने हक नै कानूनले दिएको छैन । त्यसकारण वादीको यो नालिस लाग्न नसक्ने प्रष्ट हुन्छ । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 705 |
|---|---|
| मुद्दाको विषय | जालसाजी, जिम्मावारी धनमाल हिनामिना गरे |
| निर्णय वर्ष / मिति | 2029/03/10 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 705 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
