नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7048 · वि.सं. २०५८
नि.नं. 7048 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदक केशव नेपालको छोरा अनुप नेपाल अंशवण्डा भई छुट्टिई भिन्न भइसकेको र निजले ऋण रकमका सम्बन्धमा निवेदकको कुनै सरोकारै नभएकोमा निवेदकको दर्ता तथा हक भोगको का. जि. का. म. न. पा. वडा नं. ३२ कालिका स्थान स्थित कि. नं. १३४ र १३५ को घरजग्गा खीमा खापुङ वादी अनुप नेपाल प्रतिवादी भएको लेनदेन विगो मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट मिति २०५४।११।८ मा भएको लिलाम वदर गरी पाउँ भन्ने निवेदन जिकिर लिएको देखिन्छ । § विपक्षी खिमा खापुङ वादी र अनुप नेपाल प्रतिवादी भएको लेनदेन मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट मिति २०४९।३।१५ मा वादी दावी बमोजिम साँवा व्याज समेत भराई दिनुपर्ने ठहरी भएको फैसला पुनरावेदन अदालत पाटनबाट मिति २०५३।२।४ मा सदर भएको देखिन्छ । उक्त फैसला अनुसार प्रतिवादी अनुप नेपालबाट भरी पाउने ठहरेको साँवा व्याज समेत भराई पाउन प्रतिवादीका एकाघरका पिता केशव नेपालको नाममा दर्ता भएको का. जि. का. म. न. पा. वडा नं. ३२ कि. नं. १३४ र १३५ को घर जग्गा समेत देखाई विगो भरी पाउन विपक्षी खीमा खापुङको काठमाण्डौं जिल्ला अदालतमा परेको निवेदन अनुसार निज विपक्षीले भरी पाउने ठहर भएको रकम दाखिल गराउन म्याद तामेल भएकोमा प्रतिवादीबाट रकम दाखिल नभएकोले विपक्षीले आफ्नो निवेदनमा देखाएको उल्लेखित कि. नं. १३४ र १३५ को घर जग्गा लिलाम गरी दावी अनुसारको रकम असुल उपर गर्ने कारवाही चलाई मिति २०५४।११।८ मा उक्त घर लिलाम भएको मिसिल संलग्न लिलाम मुचुल्का बाट देखिन्छ । उक्त लिलाम मुचुल्का हेर्दा लिलाम सम्बन्धी कारवाही आफ्नो रोहवरमा भएको हो भनी रोहवरमा प्रतिवादीका एकाघरका पिता भनी निवेदक केशव नेपालले सहिछाप गरेको पाईन्छ । निवेदक केशव नेपालले अफ्नो घर जग्गा लिलाम भएकै मितिमा विपक्षी खिमा खापुङलाई प्रतिवादी अनुप नेपालले फैसला बमोजिम तिर्नु पर्ने साँवा व्याज र कोर्टफि समेतको रकम कट्टागरी वढी भएको रकम फिर्ता पाउन निवेदन दिई उक्त निवेदन बमोजिमको वाँकी रकम काठमाण्डौं जिल्ला अदालतमा आफै उपस्थित भई बुझी भरपाईसमेत गरी दिएको देखिन्छ । यसरी आफू समेत संलग्न भई निवेदकले लिलाम सम्बन्धी काम कारवाही स्वीकार गरेको अवस्थामा कानून बमोजिम भएको उक्त काम कारवाही वदर हुनुपर्ने नदेखिने । (प्र. नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7048 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2058/10/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7048 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
