नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 699 · वि.सं. २०२९
नि.नं. 699 — निखनाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस भएको भन्ने आधारले पुरै नालिस खारेज हुने भन्न नमिल्ने । देवानी फौज्दारी २ मुद्दाको एउटै फिरादपत्र दर्ता गर्न ल्याएको देखिएपछि उपरोक्त अ.बं ७२ नं.अनुसार एक मुद्दाको यसै फिरादपत्रबाट कारवाई गर्ने गरी दर्ता गरी दिने र एक मुद्दाको चाहिं यस फिरादपत्रबाट इन्साफ गर्नु नपर्ने अर्को फिराद दिएमात्र इन्साफ गर्नुपर्ने भनी सो फिरादपत्रको शिरमा लेखी हाकिमले दस्तखत गरी सो कुरा फिरादपत्रवाला लाई थाहा हुना निमित्त सो फिरादपत्रको भर्पाईमा लेखी दिनुपर्ने कर्तव्य अदालतको थियो, तर सो अनुसार नगरी देवानी फौज्दारी २ मुद्दाको दावीको एउटै फिरादपत्र दर्ता गरी कारवाई चलाउनु अदालतको गल्ती हो, यस किसिमको अदालतको गल्तीले देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस दर्ता गरिदिएकोमा पछि आई देवानी फौज्दारी दुई मुद्दाको एउटै नालिसबाट कारवाई इन्साफ गर्न नमिल्ने भनी पुरै नालिस खारेज गरी दिँदा ऐनको विरुद्ध पक्षलाई आघात पुग्न जाने हुन्छ, अदालतको गल्तीले पक्षको हकमा आघात पुग्न नसक्ने सिद्धान्तलाई यस अदालतले मानिराखेको पनि छ, खास गरी उक्त अ.बं.७२ नं.ले निर्देश गरेबमोजिम एउटै फिरादपत्रमा देवानी फौज्दारी दुई मुद्दाको दावी भएकोमा एक मुद्दाको चाहिं यसै नालिसबाट कारवाई चल्न सक्ने नै हुँदा देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस भएको भन्ने आधारले पुरै नालिस खारेज हुने भन्ने रायमा सहमत हुन मिलेन । (प्र.नं. १०) (२) (क) निखन्न पाउँ भन्ने दावीको साथै बढी अंक राखी थैली जालसाज गरे भन्ने दावी परिणाममा निखन्ने कुराको लागि नै हुने । (ख) थैली थाहा भएकोमा निखनी लिन चाहनेले लेनदेन व्यवहारको ११ नं.को म्यादभित्र थैली धरौट राखी नालिस गर्नुपर्ने । अब वादी दावीको देवानी या फौज्दारी कुन चाहिं मुद्दाको यस नालिसबाट कारवाई इन्साफ गरी दिने कुन चाहिंमा अर्को नालिस गर्नुपर्ने भनी सुनाउने भन्ने प्रश्न आउँछ । निखनाई पाउँ भन्ने दावीको साथै बढी अंक राखी थैली जालसाज गरे भन्ने वादीमा अर्को जुन दावी लिएको छ त्यो पनि परिणाममा निखन्ने कुराको लागि नै हो अतः निखनाई माग्नलाई कानूनले निर्देश गरेबमोजिम विधि पुर्याई वादी आएको भएमात्र निखनाई पाउँ भन्ने हक प्राप्त भई निखनाई पाउँ भन्ने र जालसाजी समेतमा कारवाई चल्न सक्ने स्थिति आउने हुनाले पहिले त्यसतर्फ नै विचार गर्नुपर्ने हुन आयो । यस सन्दर्भमा लेनदेन व्यवहारको १६ नं.हेर्दा थैली तिरी निखनी लिन पाउने गैह्र कुरामा निखनाई पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा पहिले नै थैलीसमेत ल्याई धरौट राख्नुपर्ने र थैली थाहा नभएकोमा सम्म प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र र मुख नमिलेकोमा बुझाउन पाउने ठहरी फैसला भई अपील तहसम्मबाट फैसला भएपछि वा ऐनले अपील नलाग्ने अवस्था पुगेको ३५ दिनभित्र सो तिर्नुपर्ने थैली ल्याई धारौट राख्नु पर्ने व्यवस्था भएको पाउँछौं । वादीले थैली थाहा नभएको भन्न नसकी रु. २६९९९। थैली हाली राजीनामा लिनु दिनु गरेको भन्ने कुरा फिरादपत्रमै उल्लेख गरेको छ, २६५००। लिनु दिनु गरी रु. २६९९९। थैली हाली रु. ४९९। बढी अंक राखी जालसाज गरेको भन्ने लेखाई भएपछि त्यसतर्फ जालसाजीमा मुद्दा परी कारवाई चली जालसाजी ठहरी फैसला भएपछि मात्र ठहरेबमोजिम हुने कुरा हो थैली थाहा भइसकेपछि जालसाजी भन्दैमा निखन्ने कुरालाई पहिले थैली धरौट राख्नु नपर्ने गरी ऐनले छुट दिएको छैन । थैली थाहा भएकोमा पहिले नै थैली धरौट राख्नुपर्ने उपरोक्त लेनदेन व्यवहारको १६ नं.ले बाध्यता गराएको छ उक्त उल्लेख भएबमोजिम थैली थाहा भएकोमा निखनी लिन चाहने वादीले लेनदेन व्यवहारको ११ नं.को म्यादभित्र थैलीसमेत धरौट राखी नालिस गर्नुपर्नेमा थैली धरौट राखी नालिस गरेको नदेखिएकोले म्यादभित्र थैली धरौट राखेको हुनुबेगर वादीले निखन्न पाउने अवस्थै नहुँदा वादी दावीको निखनाई पाउँ भन्ने र थैली जालसाजी भन्नेसमेत दुवै कुरामा ऐनले कारवाई चल्न सक्ने देखिएन ऐनले कारवाई नै चल्न नसक्ने भएपछि कुन मुद्दामा यस मुद्दाबाट कारवाई गर्ने कुन मुद्दामा अर्को नालिस गर्ने भनी सुनाउने भन्ने कुरा विचार गरिरहनु नै परेन । (प्र.नं.११) (३) म्यादभित्र धरौट नराखी नालिस गरे खारेज हुने । तसर्थ उपरोक्त उल्लेख भएअनुसार थैली थाहा भएकोमा लेनदेन व्यवहारको १६ नं. बमोजिम सोही महलको ११ नं.को म्यादभित्र थैली धरौट राख्नुपर्ने नराखेको कारणबाट वादीको यो नालिस खारेज हुने ठहर्छ देवानी फौज्दारी २ मुद्दाको एउटै नालिसबाट कारवाई इन्साफ गर्न नमिल्ने भनी ०२८।१।१५।४ को डिभिजन बेञ्चले खारेज गर्ने गरेकोमा उक्त तर्कसम्म नमिलेको देखिन्छ । मुद्दा दोहर्याएमा लाग्ने कोर्टफी दाखिल भएको हुँदा अरु सजाय गर्नुपरेन, नियमबमोजिम मिसिल बुझाई दिनु । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 699 |
|---|---|
| मुद्दाको विषय | निखनाई पाउँ |
| निर्णय वर्ष / मिति | 2029/06/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर थापा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 699 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
