नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6926 · वि.सं. २०५७

नि.नं. 6926 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली, २०४७ मा रहेको कानूनी व्यवस्थालाई हेर्दा उक्त विनियमावलीको परिच्छेद ९ मा अवकाश उपदान, संचयकोष, पुरस्कार शीर्षक अन्तर्गत नियम ९.१ मा अवकाश सम्बन्धी व्यवस्था रहेको छ । नियम ९.१ (३) मा २० वर्ष वा सो भन्दा बढी सेवा अवधि पुगेका संस्थानका कर्मचारीलाई संस्थानले चाहेमा अवकाश दिन सक्नेछ भन्‍ने व्यवस्था गरिएको र यी निवेदकलाई विनियमावलीको सोही व्यवस्था अन्तर्गत नै अवकाश दिइएको देखिन आउँछ । निवेदकलाई अवकाश दिने गरी संस्थानको संचालक समितिबाट मिति २०४९।९।१७ मा गरिएको निर्णय यस अदालतको पूर्ण इजलासबाट वदर भई निवेदकलाई पुनः सेवामा बहाल गर्नु भनी परमादेशको आदेश समेत जारी भए पश्‍चात गोरखापत्र संस्थानको उक्त निर्णयको ‍औचित्य समाप्त हुन पुगी निवेदकले पूर्ववत बहाल भई कार्य गर्दै आएको अवस्था देखिन आएको छ । निवेदकको सेवा समाप्त नभएको अवस्था र निजले पूर्ववत कार्य गर्दै आएको अवस्थामा निजको सेवाको निरन्तरता कायम रहेको भन्‍नु पर्ने हुन्छ । सेवाको निरन्तरता कायम भएपछि संचालक समितिको मिति २०४९।९।१७ को निर्णय पश्‍चात पुनर्वहाली भएको मिति २०५२।८।२१ सम्मको समय शुन्यमा परिणत भएको भन्‍न मान्‍न मिल्ने हुदैन । कायम हुन पुगेको सेवाको निरन्तरता नै स्थापित हुन पुग्दछ । गोरखापत्र संस्थानले निवेदकलाई अवकाशको मिति देखि पुनर्वहाली भएको मिति सम्मको तलब, भत्ता सुविधा नदिने गरी निर्णय गर्दा विनियमावलीको नियम ४.२(४) को व्यवस्थालाई आधार बनाएको पाइन्छ । उक्त नियम ४.२(४) मा संस्थानका कर्मचारीलाई नोकरीबाट हटाउने वा वर्खास्त गर्ने निर्णय वा आदेश कुनै अदालत वा अधिकारीको निर्णयबाट रद्द भई निज नोकरीमा पुन कायम भएमा निजले संस्थानमा उपस्थित नभएको अवधिको तलब भत्ता र सुविधा दावी गर्न पाउने छैन भन्‍ने व्यहोरा उल्लेख भएको देखिँदा उल्लेखित व्यवस्थाले कर्मचारीलाई नोकरीबाट हटाएको वा वर्खास्त गरेको अवस्था सम्मलाई समेटेको पाइन्छ । नोकरीबाट हटाउने वा वर्खास्त गर्ने भन्‍ने विषय ऐ.विनियमावलीको परिच्छेद ८, नियम ८.२ को व्यवस्थासँग सरोकार रहेको पाइन्छ । रिट निवेदकलाई सेवाबाट अवकाश दिएको कार्य ऐ.विनियमावलीको नियम ८.२ को कार्यविधि अपनाई नोकरीबाट हटाएको वा वर्खास्त गरेको भन्‍ने जिकिर संस्थानबाट लिएको अवस्था देखिदैँन । ऐ.विनियमावलीको परिच्छेद ९ नियम ९.१(३) अन्तर्गत अवकाश दिएको स्थिति देखिन्छ । नियम ९.१(३) अन्तर्गत अवकाश पाएका व्यक्तिको हकमा समेत नियम ४.२(४) आकर्षित हुने भन्‍ने आधारभूत कारण समेत देखाउन सक्नु पर्दछ । संस्थानको लिखित जवाफबाट सो अनुसार भएको भन्‍ने देखिदैन । मिसिल सामेल रहेको प्रतिलिपिबाट २० वर्ष वा सो भन्दा बढी सेवा अवधि पुगेका कर्मचारीलाई अवकाश दिएको सम्बन्धमा श्री ५ को सरकार मन्त्रिपरिषदबाट सर्वोच्च अदालतको फैसला बमोजिम सेवामा पुनर्वहाली भएका कर्मचारीहरुको अवकाशित अवधिको तलब भत्ता सम्बन्धमा केही मन्त्रालयहरुले यस्‍ता कर्मचारीहरुलाई अवकाश पाएको मिति देखि पुर्वहाली भएको मिति तहको तलब भत्ता खुवाएको बुझिएको तर केही मन्त्रालयले अवकाश पाएको मिति देखि नखुवाई नयाँ नि.से.ऐन आएको मिति देखि मात्र तलब भत्ता खुवाएको भन्‍ने बुझिएकोले एकरुपता कायम राख्‍न त्यस्ता कर्मचारीहरुको हकमा पनि अवकाश पाएको मिति देखि नै पुनर्वहाली भएको मिति तकको तलब भत्ता दिने भनी निर्णय भईरहेको अवस्था देखियो । श्री ५ को सरकारको उक्त निर्देशन पालन गर्न नपर्ने आधार समेत लिखित जवाफबाट नखुल्ने । § यस अदालतको पूर्ण इजलासबाट रि.पू.इ.नं. ३२ रामप्रसाद भट्टराई विरुद्ध नेशनल ट्रेडिङ लि.केन्द्रीय कार्यालय समेत भएको रिट निवेदनमा मिति २०५३।१।१३ मा फैसला हुँदा सेवाबाट अवकाश पाई कार्यालयमा उपस्थित नभएको अवधिको तलब भत्ता समेतको सुविधा दिन नमिल्ने गरी गरेको संचालक समितिको निर्णय वदर भई सो अवधिको तलब भत्ता दिनु भनी परमादेश समेत जारी भई रहेको देखिँदा यी निवेदकले सेवाबाट अवकाश पाई पुनर्वहाली भएको अवधिको तलब भत्ता समेतका सुविधा नपाउने भन्‍न नमिलेबाट गोरखापत्र संस्थानको संचालक समितिको मिति २०५२।११।११ को निर्णय वदर हुन्छ र निवेदकले अवकाश पाएको मितिदेखि पुनर्वहाली भएको मितिसम्मको तलब भत्ता समेतका सुविधा दिनु भनी परमादेश समेत जारी हुने । (प्र.नं.९ र १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6926
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2056/10/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6926
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्