नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6884 · वि.सं. २०५७

नि.नं. 6884 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बकसपत्र हुँदा छोरा सरह अंश पाउने हकनै स्थापित नभएकी कानूनले अंशियार भन्‍न नमिल्ने अवस्थाकी वादीलाई भविष्यमा असर पुग्न सक्तछ कि भन्‍ने सम्भावित अनुमानबाट कानूनले निषेध नगरेको सम्पत्ति अवतरण गर्न नमिल्ने भन्‍न मिल्ने भएन । बकसपत्रकै शर्तका आधारमा प्रतिवादीमा सम्पत्ति अवतरण भएपछि पनि त्यस्तो क्रियाबाट वादीको हक मेटिने भएमा कानून बमोजिम नालिस गरी वदर गराउनु पर्ने हुन्छ । डम्बरजंगले प्रतिवादीहरुलाई बकसपत्र दिएको अवस्था होइन र बकसपत्र पाई हकभोग हुने डम्बरजंगको मृत्यु पछि सोही बकसपत्रका आधारमा २०४७ सालमा प्रतिवादीहरुमा सम्पत्ति अवतरण भएको अवस्था छ । जहाँसम्म बकसपत्रको शर्तको कुरा छ पदम कुमारीलाई बुझ्दा निजले पनि बकसपत्रको शर्तलाई अन्यथा भन्‍न सकेको अवस्था छैन । वादीले आफ्नो पैत्रिक सम्पत्तिबाट अंश पाउने हो भनी भनेको देखिन्छ । पदम कुमारीले बकसपत्र गरिदिएको सम्पत्ति निजले आफूखुश गर्न नपाउने भन्‍ने नहुँदा निजले गरिदिएको त्यस्तो सम्पत्तिको बकसपत्र लिखतमा आफ्नो इच्छा र मन्जुरी अनुसार वैद्य शर्त बन्देज राख्‍न नपाउने भन्‍न सकिने अवस्था पनि भएन । ने.का.प. २०३२ अंक २, पृष्ठ ३५ मा प्रकाशित नि.नं. ८९० को जालसाजी मुद्दामा वादी दावी भन्दा बढी कुरा राखी जग्गामा हक बेहक हुने गरी मालले मिलापत्र गराएको भनी प्रमाणमा आएको मिलापत्रको वैद्यताको प्रश्‍न उठेकोमा यस अदालतको पूर्ण इजलासबाट त्यस्तो सम्पत्ति सम्बन्धी शर्त करारको लिखत गर्न गराउन नपाउने भन्‍न कानूनले बन्देज गरेको छैन । कानूनले आफूखुस गर्न पाउने सम्पत्ति जे जस्तो सुकै शर्त बन्देज हक पुने व्यक्तिको इच्छा र मन्जुरी अनुसार राखिन सकिने कुरा हो सो वदर गराउन चाहि कानून बमोजिम वदर गराएको पनि छैन भने त्यस्तो प्रमाणमा आएको मिलापत्रलाई प्रमाणमा लिने वा नलिने भन्‍ने बाहेक मिलापत्रलाई कानूनले मान्यता दिन नमिल्ने भनी ठहर गर्न मिल्ने देखिदैँन भनी व्याख्या गरेको देखिन्छ । यो व्याख्याको सन्दर्भमा विचार गर्दा पनि प्रस्तुत मुद्दामा विवाद उठेको सम्पत्तिको बकसपत्र कानून बमोजिम वदर नभएको र बकस दिन हक पुग्नेले आफ्नो इच्छा र मन्जुरीबाट शर्त बन्देज राखी गरिदिएको बकसपत्र लिखत देखिँदा सो लिखतलाई अंश मुद्दाबाट कानूनी आधार वेगर मान्यता नहुने भन्‍न मिल्ने देखिएन । बकसपत्र दिने लिनेको मन्जूरीबाट भएको बकसपत्रको शर्त अनुसार प्रतिवादीको हक भोगमा आएको सम्पत्ति वण्डा भई वादीले अंश पाउने भन्‍न नमिल्ने । (प्र.नं. १८) § सम्पत्तिमा व्यक्तिको कानून बमोजिम नै हक प्राप्त हुने र हक समाप्त हुने हुन्छ । यसरी कानून बमोजिम अभिनिश्‍चित हुने हकमा कुनै कार्यबाट असमान स्थितिको श्रृजना भयो भने त्यस्तो कार्यको वैद्यता कानूनी आधारबाट हेरी निश्‍चित गरिनु पर्ने हुन्छ । कानूनी मान्यता रहेको सम्पत्ति अवतरण हुने व्यवहारबाट त्यस्तो अवस्था श्रृजना हुन गएको हो भने त्यस्तो वैद्य व्यवहार अमान्य हुने पनि होइन । प्रस्तुत विवादमा मिति २०३४।८।१४ को बकसपत्र लिखत कानूनसंगत रहेको माथि विवेचना भईसकेको छ । कानूनका आधारमा सम्पत्तिमा हक सृजित हुने अवस्थाहरु हुने । (प्र. नं. १९) § वादी डम्बरजंग राणको ३५ वर्ष नाघेकी अविवाहित छोरी हुन भन्‍ने कुरामा विवाद छैन । पदम कुमारीबाट यिनले २०३४ सालमा २५ वर्षको कन्या रहेकै अवस्थामा बकसपत्र पाएको सम्पत्ति वण्डा नहुने गरेको शुरुको फैसला उपर प्रतिवादीको पुनरावेदन पर्दा त्यसमा वण्डा पाउनुपर्छ भन्‍ने जिकिर पनि रहेको अवस्था देखिंदैन । दाता पदम कुमारी राणाले देवर डम्बरजंग पछि डम्बरजंगका छोरा प्रतिवादीहरुको हक हुने गरी डम्बरजंगलाई र छोरी वादी समेतलाई एकै मितिमा अलग अलग बकसपत्र लिखतबाट सम्पत्ति दिएको देखिन्छ । प्रतिवादीहरुमा पिता डम्बरजंगपछि मात्र हक प्राप्त हुने शर्त सहित प्रतिवादीहरुलाई आफ्नो सम्पत्ति बकसपत्र लिखतहरु गरिदिएको अवस्था छ । प्रतिवादीहरुको उल्लेखित बकसपत्र अनुसार हक प्राप्त हुन आएको सम्पत्तिमा वादीको अंश पाउँ भन्‍ने दावी नपुग्ने भन्‍ने राय माथि व्यक्त भईसकेको छ । प्रतिवादीहरुको वादीले बकसपत्रबाट पाएको सम्पत्ति पनि वण्डा लाग्नु पर्ने भन्‍ने पुनरावेदन जिकिर माथि लेखिए अनुसार कानूनसंगत भन्‍न मिलेन । तसर्थ डम्बरजंग राणाले पदम कुमारीबाट बकसपत्र पाएको सम्पत्तिबाट वादीले ५ खण्डको १ खण्ड अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालतको मिति २०५२।३।२५ को फैसला सो हदसम्म उल्टी भई वादी प्रतिवादीका बाबुले बकस पाएको निजको शेषपछि ज्योतीजंग र प्रकाशजंगले पाउने भन्‍ने बकसपत्र लिखतको सम्पत्तिमा र वादीले पदम कुमारीबाट पाएको बकसपत्रको जग्गा वण्डा नहुने ठहर्‍यएको शुरु धनुषा जिल्ला अदालतको फैसला सदर हुने । (प्र.नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6884
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2057/01/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6884
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्