नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6747 · वि.सं. २०५६
नि.नं. 6747 — जोतकट्टा
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ छोरा भन्ने शव्दको उल्लेखन प्रचलित नेपाल कानूनमा विभिन्न प्रयोजनको लागि गरी विशेषतः ३ प्रकारको देखाउन खोजेको पाइन्छ । पहिलो छोरा, दोश्रो सौतेनी छोरा र तेश्रो धर्मपुत्र । यसरी छोराको प्रकृति अलग अलग देखाए पनि कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ (म) ले पुत्र (छोरा) यो शव्दले ऐनमा धर्मपुत्र राख्न पाउनेले राखेको धर्मपुत्रलाई समेत जनाउंछ भन्ने परिभाषा गरेको पाइन्छ । छोरा नहुने व्यक्तिले अरुबाट जन्म दिएको छोरालाई कानूनी रुपबाट ग्रहण गरिएको व्यक्तिलाई समेत आफ्नो छोरा (औरस पुत्र) समान नै कानून व्याख्या संबन्धी ऐनले मानेको देखिन आएबाट सो परिभाषामा सौतेनी छोरा पनि रहेको भन्ने उल्लेखन हुनु पर्ने अवस्था र कारण देखिन आउंदैन । सौतेनी छोरा र छोरामा मातृत्वको हिसावले पृथक जस्तो देखिएतापनि पितृत्वको कारणले निज छोरानै हुन जान्छ । कानूनको परिभाषा गर्दा व्यापक र वृहद रुपमा समेटिने गरी गरिएको हुन्छ । कुनै परिवार समुदायको लागि मात्र लागू हुने गरी कुनै पनि शव्द वा शव्द समुहको परिभाष गर्न व्यवहारिक रुपमा संभव हुन सक्दैन । एउटै पुरुषबाट जन्मिएको छोराको हकमा फलानो अर्थमा त्यो छोरा होइन यो अर्थमा छोरा हो भनी सो को परिभाषा खोज्नु युक्तिसंगत र न्यायसंगत हुन सक्दैन । (प्र.नं. १९) § सौतेनी छोरा बोली व्यवहारको प्रचलनबाट फरक जस्तो देखि तापनि धार्मिक रीति स्थिति पारिवारिक कानून आदिले कुनै ठाउंमा पनि निजलाई स्वास्नीमानिसले आफुले जन्माएको छोरा भन्दा पृथक रुपमा राखेको देखिन आउंदैन । धर्मपुत्रको महलको २ नं. ले छोरा हुने लोग्ने मानिसले र लोग्ने जीवित हुने वा आफ्ना वा आफ्नी सौता जो सुकै पट्टी भए पनि छोरा हुने स्वास्नीमानिसले समेत धर्मपुत्र राख्न हुंदैन भन्ने व्यवस्था गरेको पाइन्छ । अर्थात स्वास्नीमानिसले आफ्नो लोग्नेबाट जन्मेको छोरा सौतेनीकै रुपमा भए पनि रहेको छ भने त्यस्तो अवस्थामा आफ्नो तर्फबाट छोरा जन्मिएको रहेनछ भने पनि कानूनतः त्यता स्वास्नीमानिसले धर्मपुत्र राख्न नपाउने गरेको पाइन्छ । यस कानूनी व्यवस्थाले छोरा भएमा छोरा सरह मानी छोरा नहुने स्त्रीले धर्मपुत्र समेत राख्न नपाउने गरी आफुले जन्माएको छोरा र सौतेनी छोरालाई समानस्तर वा हैसियतमा राखेको देखिन आउंछ । साथै अपुतालीको १० नं. ले लोग्ने वा छोरा नहुने वा भिन्न बसेको स्वास्नीमानिसको अंश जिउनी सौतेनी छोरामा सर्ने व्यवस्था समेत गरेको देखिन्छ । आफ्नो छोरा नहुने स्वास्नीमानिसको सामाजिक रीति परंपरा अनुसार काजक्रिया वा धार्मिक संस्कार सौतेनी छोराले नै गर्नुपर्ने र गरि आएको प्रचलन पनि रहिआएको छ । कसैको एक भन्दा बढी स्वास्नी रहेछन् र ती सबैबाट सन्तान (छोरा छोरी) जन्मिएका रहेछन् भने ती सन्तानहरु सबैलाई समान हैसियत प्रदान गरेको अंशवण्डाको महलको व्यवस्था र लेनदेन व्यवहारको महलको व्यवस्थाबाट समेत देखिन आउंने । (प्र.नं. २०) § जग्गाधनी र मोहीको प्रयोजनको लागि भुमि सम्बन्धी ऐन, २०२१ ले छोरा शव्दको परिभाषा नगरेको स्थितिमा कानून व्याख्या सम्बन्धी ऐन, २०१० को परिभाषालाई मान्यता दिनुपर्ने अपरिहार्यता रहेको देखिन्छ । कानून व्याख्या सम्बन्धी ऐन, २०१० ले (पुत्र) छोराको परिभाषा गर्दा धर्मपुत्र समेतलाई जनाउंछ भनी सकेपछि त्यसमा सौतेनी छोरा परेको छैन पर्दैन भनी व्याख्या गर्नु व्याख्याको सिद्धान्तको प्रतिकूल हुनुका साथै न्यायिक दृष्टिकोणबाट समेत मिल्ने नदेखिंने । (प्र.नं. २२) § कानूनतः स्वीकार गरिएको अरुद्वारा जन्म दिएको छोराले समेत धर्मपुत्र रहेको कारणबाट मोहियानी हक प्राप्त गर्न सक्ने देखिन आउंछ । तर जसको सौतेनी आमासंग जन्मजात पारिवारिक र प्राकृतिक सम्बन्ध गांसिएको हुन्छ, जुन सम्बन्धलाई कानूनतः बदर गराउन समेत पाइदैन त्यस्तो नैसर्गिक अधिकार प्राप्त सौतेनी छोरालाई धर्मपुत्रले समेत पाउने अधिकार पाउंदैन भनि वंचित गर्नु न्यायोचित हुन नसक्ने । (प्र.नं. २२) § भुमि सम्वन्धी ऐनको प्रयोजनको लागि सौतेनी छोरालाई पनि छोरा नै मान्नुपर्ने भई आफुले जन्माइको छोरा नभएको अवस्थामा सौतेनी आमाले मोही हक प्राप्त गरी कमाई गर्दै आएको जग्गामा भुमि सम्वन्धी ऐनको अरु प्रकृयाहरु पुरा गरेको स्थितिमा सौतेनी छोरामा पनि सौतेनी आमाको मोहियानी हक सर्न सक्ने अवस्था देखिन्छ । सौतेनी छोरामा मोहियानी हक सर्न नसक्ने भन्ने प्रत्यर्थीतर्फका विद्धान कानून व्यवसायीहरुको जिकीरसंग सहमत हुन नसकिने । (प्र.नं. २२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6747 |
|---|---|
| मुद्दाको विषय | जोतकट्टा |
| निर्णय वर्ष / मिति | 2056/02/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6747 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
