नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6437 · वि.सं. २०५४

नि.नं. 6437 — जिउ मास्ने वेच्ने ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीहरु रामशरण पुडासैनी तथा कृष्ण प्रसाद पुडासैनीले पार्वती राना मगरसँग मिली भारतको वम्वै पुर्‍याई विक्री गरी फर्केका र विक्री भएको ठाउँबाट भाग्न सफल भई भारतीय प्रहरीहरुको सहयोगमा नेपाल आएका भनी पिडित पक्ष इन्द्रकला श्रेष्ठ तथा शारदा थापा मगरको किटानी जाहेरी परेको देखिन्छ । उक्त जाहेरी दरखास्त तथा अनुसन्धान अधिकारी समक्ष निजहरुले गरेको वयान अदालतबाट प्रमाणित भएको छ । जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ६(२) वमोजिम पिडित पक्षको अदालतद्वारा प्रमाणित भएका वयानमा उल्लेखित कुरा झूठ्ठा हो भनी खण्डन गर्ने तथा स्वास्नी मानिसलाई वेचविखन गर्न लगेको होइन भनी प्रमाण पुर्‍याउनु पर्ने भार उक्त ऐनको दफा ७ वमोजिम प्रतिवादी पक्षमा रहेको पाइन्छ । तर सो वमोजिम प्रतिवादीहरुले गर्न सकेको पाइदैन । जाहेरवालीहरुसँग यी प्रतिवादीको रिसइवी भई सोही रिसइवीका आधारमा जाहेरी दिएको भन्ने तथ्य पनि मिसिलबाट देखिएको छैन । प्रतिवादीहरु प्रहरीमा कागज गर्दा जाहेरवालीहरुलाई वम्वैमा लगी विक्री गरेकोमा सावित भएको छन् । अदालतमा वयान गर्दा प्रतिवादी कृष्ण प्रसाद कसुरमा इन्कार रहे पनि शारदा थापा मगरलाई श्रीमती तुल्याई भारतको भिवन्डी भन्ने ठाउमा लगेको कुरामा सावित छन् । सो ठाउँमा आफूले शारदा थापालाई किन एक्लै छोडी आए सो को उपयुक्त कारण एवं आधार निजले खुलाउन सकेको पाइदैन । जेठी स्वास्नीसँग झगडा भएकोले फर्की आई सोही रिसइवीले जाहेरी दिएको हो भनी प्रतिवादी कृष्ण प्रसादले वयान गरेको पाइयो । तर सो कुरा तथ्य साथ पुष्टि भएको छैन । तसर्थ पिडित पक्षको जाहेरी र सो जाहेरीका समर्थन हुने गरी अदालत समक्ष भएको प्रमाणित वयानलाई प्रतिवादीले अन्यथा प्रमाणित गर्न नसकेको र प्रतिवादीहरुको प्रहरी समक्षको वयान उल्लेखित आधारबाट पुष्टि भइरहेकोले अन्यथा भन्न सकिने अवस्था नहुँदा पुनरावेदक प्रतिवादी कृष्ण प्रसाद पुडासैनी तथा रामशरण पुडासैनीलाई जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) वमोजिम कैद वर्ष १५ (पन्ध्र) गर्ने गरेको शुरु चितवन जिल्ला अदालतको फैसला सदर गरेको श्री पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखिंदा सदर हुने । (प्र.नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6437
मुद्दाको विषयजिउ मास्ने वेच्ने ।
निर्णय वर्ष / मिति2054/05/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6437
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्