नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 641 · वि.सं. २०२८
नि.नं. 641 — हकदार कायम गरीपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) स्वास्नी छोरा कायम गरी दिंदा पुनरावेदन नगरी चित्त बुझाई बसेमा–स्वास्नी छोरा होइनन् भन्नेतर्फ कुनै जिकिर आउन नसकेमा–स्वास्नी छोरा हो भन्ने सिद्ध हुने । सर्वप्रथम वादीहरू स्वास्नी छोरा हुन होइनन् भन्नेतर्फ हेर्दा वादीहरू ९३ सालसम्म कैले काँही आफ्नो दरवारमा बस्ने गरी आएको भन्ने कुरा प्रतिवादी माधव सम्शेर गोविन्द सम्शेरहरूले स्वीकारै गरेका छन् । नोकरको रूपमा आइबस्ने गरेको भन्ने निजहरूको जिकिर भए पनि त्यस कुराको सबुद प्रमाण दिन गुजार्न सकेको पाइदैन । यिनीहरूकै पहिले परेको अशं मुद्दामा सुरु रा.का.दे.पै.बाट जाहेर प्रकाश नभएका स्वास्नी छोरा हुँदा अंशमा दावी नलाग्ने भनी खारेज गरेको रहेछ । त्यसबाट श्री ज.प्रताप सम्शेरको स्वास्नी छोरा त कायमै गरी दिएकोमा प्रतिवादीहरूले पुनरावेदन नगरी चित्तबुझाई बसेका देखिन्छ । प्रतिवादीहरूतर्फबाट हाल बहससमेतमा वादीहरू श्री ज.प्रताप सम्शेरका स्वास्नी छोरा होइनन् भन्नेतर्फ कुनै जिकिर आउन पनि सकेन । अतः उपरोक्त कारणहरूबाट वादीहरू श्री ज.प्रताप सम्शेरकै स्वास्नी छोरा रहेछन् भन्ने कुरा सिद्ध भएकै छ । (प्रकरण नं. २६) (२) तत्काल प्रचलित लोग्ने स्वास्नीको ५ नं. : स्वास्नीले कसैलाई आफ्नो पतिको स्वास्नी छोरा हुन् भनी–साक्षीहरू मध्ये कसैले भनेर थाहा पाएको भनी–कसैले स्वास्नी छोरा हो भनी किटेर बकपत्र गरी दिएमा–निजहरू घरमा राखेको स्वास्नी छोरा देखिन आउने । वादी सितावदन फुलनाना उक्त लोग्ने स्वास्नीको ५ नं.अनुसार बाहिर राखेकी स्वास्नी वा घरमै राखेको के हो र वादीहरू प्रकाश भएका स्वास्नी छोरा हुन होइन भन्नेतर्फ हेर्दा प्रतिवादी माधव सम्शेर गोविन्द सम्शेर सरहकै अंशियार निजहरूकै मुमा नारायण लिंकुमारीले फुलनाना सितावदन हाम्रो दरवारमा सानै उमेरदेखि ल्याइराखेका थिए, पछि उनीहरूसँग पति ज.प्रताप सम्शेर फँस्नु भई छोरा कुन्जबहादुर, चलाकबहादुर, छोरी पुतली जन्मेको हुँदा वादीहरू प्रकाश गरी राखेका स्वास्नी छोरा हुन् भन्ने बयान गरेकी र वादीको साक्षी आफू रानी साहेब प्रतिवादीहरूकै जेठा बुवा श्री ज.चक्र सम्शेरकी पत्नीले श्री ज.प्रताप सम्शेर पाल्पाको बडाहाकिम हुँदा म पनि पाल्पा गई उहाँको दरवारमा २ वर्ष सँगै साथ बसेको बखत सिताबदन फुलनाना प्रताप सम्शेरको स्वास्नी हुन् र छोरा कुन्जबहादुर चलाकबहादुर, छोरी पुतलीसमेत साथै थिए, ती सबै एउटै भान्छामा खाने हुँदा यिनीको हुन् भनी सोद्धा सीतावदन, फुलनाना प्रताप सम्शेरका रानी हुन र निजबाट जन्मेका छोरा छोरी कुन्जबहादुर चलाकबहादुर पुतली हुन् भनी भन्थे, त्यसै बेलादेखि थाहा पाएकी हुँ भन्ने र वादीको साक्षी श्री ज.राम सम्शेर प्रतिवादीहरूकै भैयादले ८८ सालमा बुवा श्री ३ महाराज भिम सम्शेर कहाँ राणाहरूको थमौती हुँदा सो थमौतीको दाम राख्न भनी दाज्यू श्री ज.प्रताप सम्शेरकहाँ म रूपैयाँ राख्न भनी जाँदा दाज्यूबाट भाइ मेरो छड्के पट्टिका स्वास्नी सितावदन फुलनानापट्टिको छोराहरू भनी यी वादीहरूलाई देखाई बक्सेको थियो भन्ने वादीको साक्षी श्री ऋषीकेश शाह, प्रतिवादीहरूकै भानिजले श्री ज.प्रताप सम्शेरको सितावदन फुलनाना ल्याईता स्वास्नी र कुन्जबहादुर चलाकबहादुर छोरा हुन्, म पनि मावली बज्यै नारायण लिंकुमारी कै साथमा रहे बसेर हुर्केको हुँदा सानैदेखि वादी चलाकबहादुर कुन्जबहादुर समेत सँगसँगै खेले हुर्केको हुँ भन्नेसमेत किटानसाथ बकपत्र गरेको पाइन्छ । यसबाट वादी सितावदन फुलनानाहरू ज.प्रताप सम्शेरले घरैमा राखेको स्वास्नी हुन् भन्नेसमेत देखिन आउँछ । (प्रकरण नं. २८) (३) पहिलेको कुरा थाहा छैन भन्ने दुवै पक्षको साक्षीको भनाइ भएमा–उक्त भनाइले प्रकाश नभएको स्वास्नी छोरा भन्ने जिकिरलाई मद्दत गर्न नसक्ने । जहाँसम्म दुवै पक्षको साक्षी फिल्ड मार्सल श्री रूद्र सम्शेरको बकपत्रको प्रश्न छ, उहाँले पहिले मलाई केही थाहा छैन, मैले फोहरा दरवारमा वादीहरूलाई देखेको थिइन । मैले टिका लगाई दिएको छैन । म कहाँ आएको पनि होइन भन्ने र पछि वादी पक्षले जिरह गर्दा म ८।९ सालमा पाल्पाबाट आई नेपाल बसेपछि वादीहरू म भएमा आई हामी प्रताप सम्शेरका स्वास्नी छोरा हौं भनी वादीहरूले भनेकोले चिनेको हुँ भन्ने भनाई छ । वादीहरू श्री ज.प्रताप सम्शेरको जीवनकालमा प्रकाश भएका थिएनन् भन्ने नभई पहिलेको कुरा थाहा छैन भन्नेसम्म उहाँको भनाइले प्रकाश नभएका भन्ने प्रतिवादीहरूको जिकिरलाई कुनै मद्दत गर्न सक्तैन । (प्रकरण नं. २९) (४) स्वास्नी छोराको नाम उल्लेख गर्ने बाध्यता नभएको पत्रमा निजहरूको नाम उल्लेख नभएमा–निजहरू प्रकाश नभएको स्वास्नी छोरा भन्ने अर्थ गर्न नमिल्ने । श्री ज.प्रताप सम्शेरले श्री ३ महाराजा जुद्ध सम्शेरकहाँ चढाएको उइल भनिएको पत्रमा वादीहरूको केही उल्लेख नभएको भन्ने प्रतिवादीपक्षको जिकिरका हकमा त्यसमा प्रतिवादी माधव सम्शेर गोविन्द समशेरको पनि नाम उल्लेख छैन । तीनपाटनको बिर्ता रानी नारायण लिङ र ५ छोरीलाई दिने व्यवस्था गरिएको कुरासम्म उल्लेख गरिएको छ, सबै परिवारको लागि व्यवस्था गरेको नभई कुनै खास सम्पत्ति परिवारमध्येका कुनै व्यक्तिहरू लाई दिनेसम्म व्यवस्था गरेको उक्त उइल भनिएको पत्रमा वादीहरूको नाम उल्लेख गर्नैपर्ने बाध्यता भएको कुरा पनि होइन । त्यसकारण उक्तपत्रमा वादीहरूको विषयमा केही उल्लेख नभएकोले वादीहरू प्रकाश नभएको भन्ने अर्थ गर्न मिल्दैन । (प्रकरण नं. ३०) (५) वारेसद्वारा पास गराएको लिखतहरूमा बाबु बाजेको नाम फरक–फरक देखिएमा पनि प्रकाश नभएको स्वास्नी छोरा भन्ने अर्थ गर्न नमिल्ने । प्रतिवादीतर्फका विद्वान अधिवक्ताले वादी कुञ्जबहादुर उमेर पुगिसकेपछि निजको नाममा जग्गा खरिद लिंदा ९९।२।१२।२ को लिखतमा ब्रम्हबहादुरको नाती गोबिन्दबहादुरको छोरा भन्ने र ०४।१।३०।३ को लिखतमा वीरबहादुरको नाती गोपालबहादुरको छोरा भन्ने ३ पुस्ते लेखाएको छ । बुवा ज.प्रताप सम्शेरकै जीवनकालमा प्रकाश भएको भए त्यसरी बाबु बाजेको नाम फरक पारी लेखाउनु पर्ने थिएन भन्ने र वादीतर्फमा विद्वान अधिवक्ता संरक्षक प्रतिवादीहरूले नै कुञ्जबहादुरका नाउँमा जग्गा खरिद गराई लिई वारेसद्वारा पास गराई लिएकासमेत हुँदा त्यस्तो लेखाएको भन्ने बहस गर्नुभएतर्फ हेर्दा सो लिखतमा लेखिए बमोजिमकै वादी कुञ्जबहादुरको बाबु बाजे भए दुवै लिखतमा एकै बाबु बाजे लेखाएको हुनुपर्नेमा फरक–फरक नाम लेखाएको र सो कागज निज कुञ्जबहादुर स्वयं उपस्थित भई पास गराई लिएको नभई वारेसद्वारा औंठाको छाप लगाई पास गराइलिएको भन्ने देखिएको समेत हुँदा उक्त लिखतहरूमा वादी कुञ्जबहादुरको ३ पुस्ते फरक–फरक लेखाएको भन्ने आधारमा प्रकाश नभएको भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताको उपरोक्त तर्क युक्तिसङ्गत देखिंदैन । (प्रकरण नं. ३१) (६) स्वास्नी छोरा होइनन भन्नेले सद्दे साँचो मानिएको प्रमाण निमित्त प्रस्तुत पत्रहरूबाट निजहरू स्वास्नी छोरा देखिन आएमा–निजहरू स्वास्नी छोरा हुन भन्ने प्रमाणित हुने । वादीहरूबाट प्रमाणमा पेश भइराखेको चिठ्ठीमध्ये सद्दे भनी प्रतिवादीहरूले पनि मानी राखेको कुनै माधव सम्शेरले कुञ्जबहादुरलाई कुनै गोविन्द सम्शेरले चलाकबहादुरलाई कुनै कान्छी रानी साहेवले भनी कुञ्जबहादुर र मैयाँ भनी सम्बोधन गरी छोरी पुतलीलाई लेखेको समेत ११ थान चिठ्ठीहरूमा वादीहरूको सुख दुःख सञ्चो बिसञ्चो पढाई इत्यादि विषयमा स्नेहभाव प्रकट गरी लेखेको र मुमा नारायण लिंकुमारीले छोरीलाई दशैंको टिका दक्षिणा पठाएको समेत देखिन्छ । वादीहरू ज.प्रताप सम्शेरका स्वास्नी छोरा हुन भन्ने सिद्ध हुनआएको कुरा माथि उल्लेख भइसकेकोले उक्त चिठ्ठीहरू प्रतिवादीहरूको जिकिरअनुसार काम गर्न राखेको व्यक्तिलाई कामकाजको सम्बन्धमा लेखेको नभई छोरा छोरी भाइ बहिनीको निकटतम सम्बन्ध हुँदा त्यस्तो चिठ्ठीहरू लेखेको र छोरीलाई दशैंको टिका दक्षिणा पठाएको समेत प्रष्ट हुन्छ । उक्त चिठ्ठीबाट वादीहरू ज.प्रताप सम्शेरका प्रकाशित भई राखेका स्वास्नी छोरा हुन् भन्ने कुरालाई प्रमाणित गर्छ। (प्रकरण नं. ३२) (७) जालसाजी कागज खडा गर्न पर्ने कारणको अभाव भएमा–उक्त खडा रहेको पत्र सद्दे साँचो नै मान्नु पर्ने । अर्को प्रतिवादीहरूले जालसाज भनेको चिठ्ठी २ मध्ये नारायण लिंकुमारीले चलाकबहादुरलाई लेखेको ०६।११।११ को चिठ्ठीमा तिमीलाई चालिसहजार तिम्रो दिदीलाई पाँचहजार कुञ्जेलाई चालिसहजारसमेत पचासीहजार मध्येमा मेरो भागबाट अठ्ठाइसहजार तीनसय तेत्तीस रूपैयाँ पाँच आना मे.ज.माधव सम्शेरका नाउँमा चेक काटी बुझाइदिएँ । तिमीले पाउनु पर्ने चालिसहजार र तिम्रो दिदीको पाँचहजार नानी छोरा ले.क.गोविन्द सम्शेर जिम्मा गएको छ, तिमी र तिम्रो दिदी मजकुर छोरा नानीको भागमा र कुञ्जे छोरा नानी मे.ज.माधव सम्शेरको भागमा परेको भन्ने र रानी लिङकुमारीले गोविन्द सम्शेरलाई लेखेको ९६।८।१८।१ को चिठ्ठीमा कुञ्जबहादुर, चालकबहादुरको गोत्रको बन्दोवस्त मिलाउने सम्बन्धलाई लिई निजहरू तिम्रो बुबाज्यूका रगत हुन् अधर्म नगर भन्नेसमेत उल्लेख गरिएको रहेछ । नारायण लिंकुमारी आफ्नो छोराहरूको विरूद्धमा गई वादीहरूसँग मिली जालसाजी चिठ्ठी खडा गर्नुपर्ने कुनै खासकारण खुलाउन र त्यसकुराको सवुत प्रमाण गुजार्न प्रतिवादीहरूले नसकेकाले उक्त चिठ्ठीहरू सद्दे नै मान्नु पर्ने हुनआएकोछ । (प्रकरण नं. ३३) (८) कुनै पत्रबाट प्रकाश गरी नराखेको स्वास्नी छोरा देखिएमा–श्री ३ मा जाहेर गरी गोत्रको ठेगाना लगाउने उक्त पत्रको मनसायसम्म देखिएमा–प्रकाश नगरेको स्वास्नी छोरा भन्ने समर्थित नहुने । उक्त ९६।८।१८।१ को चिठ्ठीमा गोत्रको ठेगाना लगाउने कुरा लेखिएकोले सो मितिसम्म वादी हरू प्रकाशमा आइनसकेको प्रष्ट हुने भन्ने प्रतिवादीपक्षको मुख्य जिकिर भएको हकमा उक्त चिठ्ठीमा श्री बाबुज्यूको रगत हुन, निज कुञ्जेहरूको बारेमा श्री जनरल साहेबबाट र मैलेसमेत सुतक बारी पुतलीलाई आजसम्म परेको काममा टिका लगाई दक्षिणा श्री को पालादेखि सबैले दिइआएको हुँदा मैले चाहिं धर्म पोल्ने होइन भन्नेसमेत उल्लेख गरिएको बाट वादीहरू श्री ज.प्रताप सम्शेरका स्वास्नी छोरा हुन् भन्ने प्रतिवादीहरूको परिवारमा पहिले नै प्रकाश भइसकेको कुरा उक्त चिठ्ठीले नै व्यक्त गरेको छ, पछि छोराहरूसंग कुरा नमिलेबाट गोत्रको बारेमा श्री ३ मा जाहेर गरी ठेकान लगाउनेसम्म उक्त चिठ्ठीको मनसाय देखिन्छ । जसबाट प्रतिवादीहरूको उपरोक्त जिकिर समर्थित हुँदैन । (प्रकरण नं. ३४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 641 |
|---|---|
| मुद्दाको विषय | हकदार कायम गरीपाउँ |
| निर्णय वर्ष / मिति | 2028/03/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रैलोक्यराजको राय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 641 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
