नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6304 · वि.सं. २०५४

नि.नं. 6304 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जुन कुरा कानूनले नै स्पष्ट गरेको छ मनोनयन गर्ने निर्णय तथा नियुक्तिपत्रमा उल्लेख गरिनु पर्ने जरुरी नहुने । (प्र.नं. १२) § सदस्य भन्नाले परिषद्को सदस्य सम्झनु पर्ने र सो शव्दले परिषद्को सदस्य सचिव समेतलाई जनाउने कुरा ऐनको दफा २ को खण्ड (ग) मा गरिएको परिभाषाले प्रष्ट्याएको छ । उल्लेखित कानूनी व्यवस्थाबाट परिषद्को सदस्य पदमा निवेदक मनोनित भएको मितिबाट ४ वर्षसम्म निजको पदावधि रहेको भन्ने देखिन आउने । (प्र.नं. १२) § खेलकुद विकास ऐन, २०४८ वमोजिम राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनित सदस्यलाई ४ वर्षको पदावधि वाँकी छंदै सदस्य पदबाट हटाउने सम्वन्धमा कानूनमा कस्तो व्यवस्था छ भनी हेर्दा, उक्त ऐनको दफा ६ को उपदफा ४ मा कुनै सदस्यले आफ्नो कर्तव्य पालन गरेको छैन भन्ने लागेमा परिषद्को सिफारिसमा श्री ५ को सरकारले त्यस्तो सदस्यलाई जुनसुकै वखत हटाउन सक्ने र यस्तो कारवाही गर्दा सम्बन्धित सदस्यलाई सफाई दिने मौकाबाट वन्चित नगरिने भन्ने व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा निवेदकलाई यहि कानूनी व्यवस्थाको आधारमा कारवाही भै सदस्य पदबाट हटाइएको भन्ने कुरा देखिन आएको छैन र लिखित जवाफबाट पनि त्यस्तो जिकिर रहेको पाइएन । यसरी सदस्यलाई कारवाही गरी हटाउँदा पनि लगाइने आरोपमा सम्वन्धित सदस्यलाई सफाई दिने मौका प्रदान गरिनु पर्ने अनिवार्य हुन्छ । प्राकृतिक न्याय सिद्धान्त अन्तर्गतको यो व्यवस्थालाई कानूनले नै पालना गर्नु पर्ने गरी स्पष्ट रुपमा वाध्यात्मक वनाएको छ । निवेदकलाई सदस्य पदबाट अवकश भनी हटाइएको मान्ने अवस्थामा पनि कानून वमोजिम हटाइएको भन्न सकिने अवस्था नदेखिने । (प्र.नं. १३) § कानून वमोजिम नियुक्त कुनै पनि व्यक्ति कानून वमोजिम नै नियुक्त पदबाट हट्ने अवस्थामा बाहेक पदमा वहाल रही काम गर्न पाउने हक राख्दछ । (प्र.नं. १५) § नेपाल अधिराज्यको संविधान, २०४७ ले कानूनी राज्यको अवधारणा प्रति प्रतिवध्दता देखाएको छ । नागरिकलाई प्राप्त हकमा कानूनकै आधारमा हस्तक्षेप गर्न मिल्ने हुन्छ । खेलकुद विकास ऐन, २०४८ को दफा ६ को उपदफा ४ को अवस्थामा वाहेक निवेदकलाई राष्ट्र्रिय खेलकुद परिषद्को सदस्य पदमा वहाल रही काम गर्न पाउने पदावधि वाँकी छंदै श्री ५ को सरकार, मन्त्रिपरिषद् तथा शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्रीलाई सदस्य पदबाट अवकाश दिई हटाउने अधिकार कानूनले प्रदान गरेको देखिदैन । कानूनको अख्तियार वेगर जहिले मन लाग्यो कानून वमोजिम नियुक्त परिषद्को सदस्यलाई पदावधि वाँकी छंदै अवकाश दिने कार्य स्वेच्छाचारी भन्नु परी त्यस्तो कार्यलाई कानूनी राज्यको अवधारणाले स्विकार गर्न सकिने अवस्था नहुने । (प्र.नं. १५) § नेपाल कानून व्याख्या सम्वन्धी ऐन, २०१० मा भएको व्यवस्था कानूनी शव्द तथा शव्द समुहहरुको सहि अर्थ निकाल्न सहायक हुने हो । खेलकुद विकास ऐन, २०४८ जस्तो विशेष ऐनले हकको श्रृजना तथा व्यवस्था गरे जस्तो गरी हकको श्रृजना तथा व्यवस्था गरेको नहुने । (प्र.नं. १६) § खेलकुद विकास ऐन, २०४८ ले निवेदकलाई सदस्य पदमा वहाल रही ४ वर्षसम्म काम गर्ने हक प्रदान गरेको छ र सो अवधि भित्र पनि कारवाही गरी हटाउन सकिने व्यवस्था गरेको छ भने सो वाहेक अन्य अवस्था वा कारणबाट सदस्यलाई पदावधि वाँकी छंदै सदस्य पदबाट अवकाश दिन वा हटाउन नपाउने विधायिकाको मनसाय रहेको भन्नु पर्ने । (प्र.नं. १६) § कानूनको अर्कै अभिप्राय रहेको अवस्थामा नेपाल कानून व्याख्या सम्वन्धी ऐन, २०१० को दफा ६ को अधिकार भनी प्रयोग गर्न मिल्ने अवस्था नहुने । (प्र.नं. १६) § नेपाल अधिराज्यको संविधान, २०४७ को परिप्रेक्ष्यमा नियुक्त गर्नेले विना कुनै कानूनी आधार अवकाश पनि दिन सक्तछ भनी अर्थ गर्दा पदमा नियुक्त व्यक्ति जहिले पनि असुरक्षित भइरहने र कार्यकारिणीको स्वेच्छाचारितालाई वढावा हुन जाने हुन्छ । जुन कुरा संविधानको अवधारणाको प्रतिकूल हुने । (प्र.नं. १६) § संविधान र कानूनको पालना गर्नु पर्ने कर्तव्य राज्य तथा व्यक्ति सवैको हो । संविधानको भावना र कानूनको व्यवस्था अनुकूल राज्यले आफ्नो कार्य शैली अपनाउनु पर्ने हुन्छ । संविधान तथा विशेष कानूनले स्पष्ट रुपमा प्रदान गरेको सुरक्षित हकमा नेपाल कानून व्याख्या सम्वन्धी ऐनको व्याख्याको आडमा हस्तक्षेप गर्न मिल्ने अवस्था नहुने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6304
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2053/11/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6304
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्