नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6150 · वि.सं. २०५३
नि.नं. 6150 — मृत्यु दर्ता प्रमाण पत्र बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को दफा १५ ले मुद्दा हेर्ने अधिकारीमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको र सो को दफा १४ मा दफा १३ अन्तर्गत सजाय हुने मुद्दा सरकार वादी हुने व्यवस्था रहेको पाईन्छ । जो निर्णयकर्ता हो सो पदाधिकारी वादी वा प्रतिवादी कायम हुन नसक्ने कुरा प्राकृतिक न्यायको सिद्धान्तको आफ्नो मुद्दामा आफै न्यायाधीश हुनु हुँदैन भन्ने मान्य कानूनी सिद्धान्तलाई अ.बं. ३० नं. समेतका नेपाल कानूनमा अंगिकार गरिएको र राजेन्द्र बिरही विरुद्ध श्री ५ को सरकार भएको राजकाज मुद्दामा न्यायिक सिद्धान्तको रुपमा अंगिकार गरिएकोबाट पनि सो कुरा स्थापित हुन आउने । ( प्र.नं. १९) पुनरावेदन गर्ने अधिकार मुद्दामा पक्ष विपक्षलाई प्राप्त हुने अधिकार हो । पुनरावेदन कसले गर्न पाउने भन्ने कुरा कानूनद्वारा निश्चित गरिने कुरा हो । त्यस्तो कानूनको अभावमा कुनै व्यक्ति, निकाय वा अधिकारीमा पुनरावेदन गर्ने हक अधिकार प्राप्त हुन नसक्ने । (प्र.नं. १९) प्रस्तुत मुद्दामा शुरु तहको निर्णय गर्ने प्रमुख जिल्ला अधिकारीलाई पुनरावेदन गर्ने अधिकार यो कानूनले प्रदान गरेको छ भन्ने दर्शाउन सकेको देखिँदैन । विना कानूनी आधार प्रस्तुत पुनरावेदन दर्ता हुन आएको देखियो । प्रमुख जिल्ला अधिकारी प्रस्तुत मुद्दाको पक्ष वा विपक्ष कायम भएको नभई निर्णयकर्ताको हैसियतले कानूनले निरोपित गरेको देखिन आउने । (प्र.नं. १९) कानूनमा प्रमुख जिल्ला अधिकारीलाई प्रस्तुत विवादको विषयमा कारवाही र किनारा गर्ने अधिकारसम्म प्रदान गरेको पाईन्छ । सो अधिकार पदिय अधिकार भएको हुँदा सो अधिकार मुद्दाका पक्षको हैसियतले सामान्यतः प्राप्त गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीले प्राप्त गर्न सक्ने कानून र कानूनी सिद्धान्त समेतको अभावमा पुनरावेदन गर्न पाउने नदेखिएकोले प्रस्तुत पुनरावेदन दर्ता गरेको मिलेको नदेखिँदा प्रस्तुत पुनरावेदन खारेज हुने । ( प्र.नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6150 |
|---|---|
| मुद्दाको विषय | मृत्यु दर्ता प्रमाण पत्र बदर |
| निर्णय वर्ष / मिति | 2053/02/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6150 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
