नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 583 · वि.सं. २०२८

नि.नं. 583 — जग्गा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कस्तो देखिएमा कुनै जग्गा कसैको (वादीको) हकको भन्ने प्रमाणित नहुने । प्रतिवादीहरूले आफ्नो नाममा दर्ता गराए पनि जग्गा हामीहरूले तिरो–भरो गरिआएको हाम्रो हकको भन्ने वादी पक्षको मुख्य जिकिर भएको हकमा तिरो–भरोतर्फ आफूहरूले तिरो–भरो गरेको झगडा पर्नुभन्दा अगाडी कुनै पनि सालको रसिद वादीहरूले पेश गर्न सकेको पाइंदैन । जग्गातर्फ वादीहरूतर्फकै निलवीर विष्ट भागिन्ते विष्टसमेतको जुम्ला अदालतबाट ९३।७।२०।५ मा फैसला भएको जग्गा मुद्दाको फिरादमा वादीले नै शिवनाथ काफ्लेका नाममा दर्ता भई निजको छोरा प्रभुनाथ काफ्लेबाट कुतमा भोगेको शिवगेडी कुइचाखेतसमेतमा जवरजस्ती चलन गरिदिए भन्ने उल्लेख गरेको र वादी रनवीर विष्टसमेत प्रतिवादी मु.प्रभुनाथ काफ्लेसमेतको २००१ सालमा परेको लुटपीट मुद्दामा हामीले भोग गरेको हाम्रो जग्गामा अधिया साजौ कुतवापत ठिटुवा दिनुपर्छ भनी धनमाल लुटे भन्ने वादी दावी र हाम्रो जग्गा कुत साजा अधियाँमा दिएको भन्नेसमेत प्रतिवादी भएकोमा आखिर वादीहरूको उजुर झुठ्ठा ठहरी जुम्ला अदालतबाट ०२ साल चैत्रमा फैसला भएको औ वादी रामकृष्ण हमाल प्रतिवादी पुरीनाथ काफ्लेसमेतको देवीदासलाई कर्तव्य गरी मारे भन्ने ज्यान मुद्दामा यो मुद्दाको वादी रनवीरको बाबु भनिएका मागिन्ते विष्ट र राम्पती चन्द्रवीर चन्द्र सिंहसमेतले ९८ सालमा बयान गर्दा सिप गाउँमा देहारपाटा गाउँका प्रतिवादी रजनीखरबाहेक अरु प्रतिवादीको घर जग्गा छ पौष माघमा सिपागाउँमा थिए भन्ने उल्लेख गरेकोसमेत देखिन्छ । वादी महिन्द्रमली विष्टसमेत प्रतिवादी प्रभुनाथ काफ्लेको तिरो तिरेको रसिद दिलाई जग्गामा दावी छुटाइपाउँ भन्नेसमेत ९४ सालमा जग्गा मुद्दा परेकोमा अघिदेखि वादीहरूले प्रतिवादीहरूलाई कुत बुझाई खाइआएको र अब पनि कुत तिरी जग्गा खान पाउने भन्ने शर्त राखी ९४।६।२३।६ मा मिलापत्र भए गरेको देखिएको समेतबाट जग्गा वादीहरूको हकको भन्ने कुरा प्रमाणित हुँदैन । (प्रकरण नं. २२) (२) प्रमाणको निम्ति प्रस्तुत शंकास्पद देखिने कागज प्रमाणमा लिन नहुने । वादीहरूतर्फबाट प्रमाणमा पेश भइराखेको प्रतिवादीहरूले जग्गामा हक छाडी गरी दिएका भनेको ९५।९७ सालको कागजहरू हेर्दा मु.प्रभुनाथ काफ्ले आगे भएको ९५।१२।१६।४ को कागजमा सिंजा दरा देहारपाटा गाउँको मुखिया तालुकदार म भएकाले सो रुपदरासिपा गाउँका खेतको जम्मा तिरोको रसिद दिए तापनि अघिदेखि जग्गाको भोगतिरो तिम्रो भएको हुनाले पछि कसैबखत हकदावी गर्ने छैन भन्नेसम्म लेखिएको, यही जग्गाभन्ने त्यसमा उल्लेख नभएको र प्रभुनाथ काफ्लेसमेत जना १२ आगे भएको अर्को ९७।१।२४ को कागजमा ९६ सालको मोठ तेरिजमा हाम्रो नाममा लेखी दर्ता भएको सिपज्यूलाका तेरिजभित्रका जम्मै जग्गा हाम्रो नाउँमा दर्ता गर्‍यौं तापनि अड्डामा गई उजुर गर्नुपर्दैन पछि कसैबखतमा दा.खा.दर्ता र अड्डाबाट फैसला मिलापत्र छ भनी हकदावी खिचोला गर्ने छैनौं भन्नेसमेत उल्लेख भएको भए पनि कसैको ल्याप्चे सहीछाप तत्काल प्रचलित कागजजाँचको २० नं.बमोजिम प्रमाण लाग्ने किसिमको प्रष्ट नभएको र मुख्य सो कागजमा ९६ सालको मोठ तेरिजमा हाम्रा नाममा लेखी दर्ता भएको भन्ने बोली परेको सो ९६ सालको मोठ कहिले खडाभएको रहेछ भन्नेतर्फ हेर्दा सो मोठ खडा गर्न जुम्ला मालका पुर्जिबमोजिम खटी गएको डोरमा ९७ साल फाल्गुणमा मात्र सो सिपागाउँको यो झगडा परेको जग्गासमेतको हाल मोही खुलाई तालुकदार प्रभुनाथ काफ्ले समेतले मुचुल्का गरिदिई सोअनुसार हाल मोही खुलाई सो मोठ खडा भएको देखिनाले नामसम्म ९६ सालको भन्ने राखिएको भए पनि वास्तवमा सो मोठ ९७ साल फाल्गुण पछिमात्र खडा भएको प्रष्ट हुनेसमेत हुँदा सो मोठ खडा हुनुभन्दा अगावैको ९७।१।२४।२ मिति परेको उक्त कागजमा ९६ सालको मोठ तेरीजमा हाम्रा नाममा लेखी दर्ता भएको भन्ने बोली लेखिएको शंकास्पद भएकोसमेतबाट उपरोक्त कागजहरू प्रमाणमा लिन मिल्ने देखिएन । (प्रकरण नं. २३) (३) झगडा परिरहेको जग्गा विपक्षीले माग गरेको सालको बाली भराइपाउँ भनी दिएको फिरादपत्रको नक्कल र मुद्दा पर्दापर्दैको बीचको आफ्ना नाममा दर्तागरिएको दर्ता नक्कल लाई–उक्त जग्गामा निज फिरादकर्ता वा दर्तावालाका हक हुने कुराको प्रमाण मान्न नमिल्ने । हाल वादी पक्षबाट पेश हुनआएको सर्पराज हमालले बसन्त बुमीसमेत उपर ०२५।२।१।३ मा दिएको फिरादपत्र नक्क्ल हेर्दा यसै मुद्दामा डिभिजबेञ्चबाट ०२२।४।२७।४ मा फैसला भएको आधारमा २००२ सालदेखि २०२१ साल तकको झगडा परेको जग्गाको बाली बिगो भराइपाउँ भन्ने दावी लिई सो फिरादपत्र गरेको देखिएकोले तेरो मेरोमा झगडा परी राखेको जग्गा वादीपक्षले भोगगरेको सालको बाली भराइपाउँ भनी नालेस गरेको हुँदैमा त्यतिकैबाट जग्गा यो मुद्दाको वादीपक्षको हक कायम हुन नसक्ने र अर्को २००८ सालमा नामसारी दा.खा.हुँदा वादीहरूका नाममा दा.खा.भएको भनी २००८ सालको दर्ता नक्कल पेशगरेको हकमा २००२ सालदेखि यो मुद्दा पर्दापर्दै बीचमा वादीहरूको नाममा दर्ता गरिएको भए पनि त्यसलाई कायम मान्न नमिल्नेसमेत हुँदा उपरोक्त कागजहरू यो मुद्दाको लागि जग्गा वादीको हक हुने कुराको प्रमाण मान्न मिल्दैन । (प्रकरण नं. २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.583
मुद्दाको विषयजग्गा
निर्णय वर्ष / मिति2027/06/08
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 583
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्