नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5058 · वि.सं. २०५२
नि.नं. 5058 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
वन ऐन, २०१८ को दफा ३३(१) मा कुनै व्यक्तिले आफ्नो हक भोगको जग्गामा निजी वन लगाउन सक्नेछ भन्ने र दफा ३३(२) मा त्यस्तो निजी वनको वन पैदावार निजी वनका धनीले आफूखुशी गर्न पाउनेछ भन्ने कानुनी व्यवस्था रहेको पाइन्छ । यसरी कानुनले निजी जग्गाको वन पैदावारलाई निजी सम्पत्तिको रुपमा राखेको देखिन आउने । (प्रकरण नं. ९) नागरिकको कुनै पनि हक अधिकारमा प्रतिकूल असर पर्ने कुनै पनि कार्य कानुनद्वारा अधिकृत गरिएको र कानुनको सबै शर्त र प्रक्रिया पुरा गरेर मात्र गर्न सकिने हुन्छ । निवेदकलाई निजी वन पैदावार काट्ने समेतको काममा वन ऐन, २०१८ को दफा ३६ (१) को आधार लिई इजाजत नदिने गरी निर्णय गरेको देखिन्छ । वन ऐन, २०१८ को दफा ३६(१) मा उल्लेखित कारणबाट नियन्त्रण वा रोक लगाउन सक्ने व्यवस्था गरिएको पाइन्छ । तर लिखितजवाफमा उक्त दफामा उल्लेखित खास कुनै कारण वा प्रयोजन भएको अवस्था सिर्जना भएको उल्लेख गरेको पाइँदैन । साथै उक्त दफा ३६(१) मा उल्लेख भए बमोजिम मनाही वा नियन्त्रण गर्न श्री ५ को सरकारले नेपाल राजपत्रमा आदेश प्रकाशित गर्नु पर्ने अनिवार्य व्यवस्था भएको पाइन्छ । उक्त व्यवस्था अनुसार राजपत्रमा आदेश प्रकाशित भएको भन्ने देखिन नआए समेतबाट वन ऐन, २०१८ को दफा ३६(१) को आधारमा इजाजत नदिने गरी गरेको निर्णय सोही दफाको विपरीत भएको देखिने । (प्रकरण नं. ९) निवेदकले निजी नम्बरी जग्गामा लगाएका वन पैदावार कटान गरी अधिराज्य भित्र बेच बिखन गर्न कानुन बमोजिम इजाजत दिनु पर्नेमा परिपत्रको आडमा निजी वन कटान तथा बेच बिखन गर्न नदिने जानकारी गराएको मिति २०४८।१२।२५ को पत्र तथा तत्सम्बन्धी निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निवेदकको निवेदनमा उल्लेखित जग्गामा लगाएको वन पैदावार काटी निकाशी गर्ने लगायतका वैध कार्य गर्ने इजाजत दिनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5058 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2051/10/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 5058 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
