नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 480 · वि.सं. २०२६
नि.नं. 480 — डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वारदात भएको भनी गरेको जाहेरी मौका सर्जमिनबाट समर्थित हुनाको साथै घा जाँचबाट सो प्रमाणित भएमा–वारदात भएकै ठहरिने । २५ जनाको जमात भई धारिलो हतियारले मेरो हातको बुढी औला र चोर औंलामा काटी लाठी फट्टाले कुटपिट समेत गरी वारदात भए गरेको भन्ने निज रामचन्द्रको जाहेरी भएको सो कुरा मौका सर्जमिनबाट समर्थन भएकै र निज रामचन्द्रको घा जाँच हुँदा काटिएको घाउ समेत भए परेको देखिएको प्रमाण समेतबाट डाँकाको वारदात भएकै सिद्ध हुन्छ । (प्रकरण नं. ३५) (२) सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३(४)–वारदात भएको व्यहोरा प्रहरीलाई ज्ञान भएपछि यथाशीघ्र मौका तहकिकात हुनसक्ने । डाँकाको वारदात भएको व्यहोरा देखाई रामचन्द्रले दरखास्त गरेको ढिलो भयो भन्ने बहस गरेकोमा जाहेरवालाले दरखास्त गर्नेबारेमा यति समय भित्र जाहेर गर्नुपर्छ भन्ने सरकारी मुद्दासम्बन्धी ऐन,२०१७ मा लेखेको देखिंदैन, जतिसक्यो उतिचाँडो प्रहरीहरूले खवर पाएमा मात्र यथाशीघ्र मौकातहकिकात उक्त ऐनको ३(४) बमोजिम हुनसक्छ । (प्रकरण नं. ३७) (३) जाहेरवालाको सुरु दरखास्तमा नै सबूद प्रमाण खुलाउनु पर्ने । जाहेरवाला मुख्य गवाहको सुरु दरखास्तमा सबूद प्रमाण खुलाई लेखेको हेरी मौका तहकिकात गर्ने हुनाले दरखास्तवालाले सुरु दरखास्तमै खुलाउनु पर्ने कुरा उक्त ऐनको दफा ३ (१) मा प्रष्ट छ । (प्रकरण नं. ३८) (४) निर्णयकोलागि प्रमाण संकलन, जाँच अदालत आफैले गर्नसक्ने । त्यस्तो प्रहरीहरूले गरेको सर्जमिनहरूमा अदालत रहेको हुँदैन । अदालतले आफूले ठहर गर्न आफैले प्रमाण संकलन, जाँच गर्नसक्छ । (प्रकरण नं. ३९) (५) अदालतबाट गवाही पठाउना निम्ति लेख्दा सर्जमिनमा बकिसकेको भन्ने जवाफ पठाएमा–प्रमाण पुर्याउन आनाकानी गरेको देखिने । श्री ५ को सरकारतर्फबाट अभियुक्तहरूले अदालतमा मुद्दा के के बाट पुष्टि हुन्छ, त्यस्ता व्यक्ति वा चिज सामान पनि अदालतलाई जाँच्न दिनुपर्छ । त्यस्तो नगरी अदालतले गवाही पठाई दिनु भनी लेखेकोमा पनि अघी सर्जमिनमा बकी सकेको भनी जबाफ पठाएकोले प्रमाण पुर्याउन आनाकानी गरेको देखिएकै छ । (प्रकरण नं. ४०) (६) विशेष गरी फौज्दारी मुद्दामा अभियुक्तले घटना गरेको भन्न निज घटनामा उपस्थित रहेको भन्ने वादीले प्रमाणित गर्नुपर्ने । अभियुक्तलाई घटनामा सामेल थियो भनी प्रमाण पेश गर्नुको मतलव नै अरु ठाउँमा थिएनन भन्ने हो । अभियुक्तहरूले घटना गरेका हुन भन्न अभियुक्त घटनामा सामेल छन् भनी देखाउनु पर्छ । त्यस्तो उपस्थिति वादीले खासगरी फौजदारी मुद्दामा प्रमाणित गर्नुपर्छ । (प्रकरण नं. ४१) (७) सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३ को उपदफा ६ मा पुनः तहकिकात गरी मुद्दा चलाउनु हुने ठानी अ.बं.८८ र १३९ नं. ले व्यवस्था गरेमुताविक प्रहरी प्रतिवेदन पर्नसक्ने र पेटबोलीबाट बुझ्नसक्ने अवस्था बाहेक पुनः तहकिकात नगरी प्रहरी प्रतिवेदनमा मुद्दा चलाउने भनिएको व्यक्ति उपर अदालतबाट मुद्दा चलाउन नहुने । सरकारी मुद्दा सम्बन्धी ऐनको दफा ३ को उपदफा ६ मा पुनः तहकिकात गरी मुद्दा चलाई इन्साफ गर्न पाउने देखी अ.बं.८८ नं. बमोजिम प्रहरीप्रतिवेदन पर्नसक्छ वा अदालत मा कारवाही गर्दागर्दै अ.बं.१३९ नं. बमोजिम पेटबोलीबाट बुझ्न सकिन्छ । यस्तो अवस्था नपरी पुरा तवरले इन्साफ गर्न पुनः तहकिकात नगरी प्रहरी प्रतिवेदनमा मुद्दा नचलाउनाले भनिएका व्यक्तिउपर अदालतबाट मुद्दा चलाएको मनासिव देखिँदैन । (प्रकरण नं. ४२) (८) सर्जमिनले चिनेको भन्दा ती चिनेकाहरूको नाम खुलाउन नसकेमा पहिलेको आफ्नो भनाईलाई पछिल्लो आफ्नै भनाईले समर्थन नगरेमा–निजहरूले लेखिदिएको कुरा प्रमाणिक मान्न नहुने । ती सर्जमिनहरू मध्ये रामऔतार काउँको हकमा चिनें भनेको ९ जना को को हुन नाम खुलाउन नसकेको र जगरनाथ रमेशर दुईजनाको हकमा यस अदालतमा बकपत्र गर्दा हामीले देखे चिनेको होइन सर्जमिनमा सिकाई लेखाएको हो भनी सर्जमिनले आफ्नो भनाईलाई आफैले समर्थन नगरेको हुँदा निजहरूले सर्जमिनमा लेखिदिएको कुरा प्रमाणिक मान्न भएन । (प्रकरण नं. ४४) (९) गुजे्रको म्याद थामी दिन भएको हुकुम प्रमांगीको तामेलीभन्दा अघि माथिल्लो अदालतबाट फैसला गरेमा–शुरुको इन्साफमा पुनरावेदन नगरेको भन्न नहुने । पुनरावेदन दिने म्याद गुज्रेको थामी पाउँ भनी निजहरूले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको निवेदनपत्रमा म्याद गुज्रेको ७५ दिनभित्र दोश्रापटकको यो निवेदन दिएकोमा रु.४ का दरले जरिवाना गरी म्याद थामी जनाउ दिई अपील लिई ऐनबमोजिम गर्नु भन्ने ०२१।३।१२।५ मा हुकुमको प्रमांगी बक्स भएको सो प्रमांगीको जनाउ तामेल गर्न ०२१।११।८ मा मात्र अ.रुद्रप्रसादलाई बुझाएको तामेली नआउदै ०२१।११।२०।४ मा नारायणी अं.अदालतबाट फैसला भएको समेत देखिएकोले यस स्थितिमा निजहरूले सुरुको इन्साफमा पुनरावेदन नगरेको भन्ने तर्क उठाउनु मनासिव देखिँदैन । (प्रकरण नं. ४६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 480 |
|---|---|
| मुद्दाको विषय | डाँका |
| निर्णय वर्ष / मिति | 2026/01/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 480 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
