नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4350 · वि.सं. २०४८
नि.नं. 4350 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नेपाल कानुनमा प्रयोग भएको कुनै शब्दको अर्थ वा व्याख्या नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० मा गरिएको छ भने सो शब्दको अर्थ वा व्याख्या सोही अनुसार गर्नु पर्ने । (प्रकरण नं. १३) (२) कानुन व्याख्याको सिद्धान्त अनुसार यदि कानुन प्रष्ट छ, त्यसमा कुनै दुविधा छैन भने सामान्य रुपमा त्यसको जे जस्तो अर्थ हुन्छ त्यही अर्थमा त्यो कानुनलाई लागू गर्नु पर्छ, बलपूर्वक त्यसको व्याख्या गरी असाधारण वा असमान अर्थ खोज्ने प्रयास गर्न हुन्न । (प्रकरण नं. १३) (३) भूमिसम्बन्धी ऐनको दफा २६ को उपदफा (१) मा प्रयुक्त “छोरा” शब्दको अर्थ गर्दा नेपाल कानुन व्याख्या सम्बन्धी ऐन अनुसारको सामान्य कानुनी अर्थ नगरी त्यसको असाधारण अर्थ वा व्याख्या गर्नु पर्ने कुनै कारण वा औचित्य देखिन्न । (प्रकरण नं. १३) (४) मोहियानी हक सम्बन्धी कानुन जग्गावाला र मोहीको बीचको सम्बन्ध र तिनीहरुको पारस्परिक हक एवं दायित्व निर्धारण गर्ने कानुन हो, त्यो कानुनले बाबु र छोरा अथवा पति र पत्नीको सम्बन्धको निर्धारण वा पुनर्निधारण गर्दैन । (प्रकरण नं. १५) (५) मोहियानी हकको प्रयोजनको लागि धर्मपुत्रलाई छोरा सम्झन नमिल्ने कुनै बन्देज भूमिसम्बन्धी ऐन, २०२१ ले लगाएको छैन । (प्रकरण नं. १६) (साविक पेज नं. ४५०) (६) कानुन बमोजिम दुई व्यक्ति बीचको पारस्परिक हक र दायित्व यकिन गर्दा कानुनले व्यवस्था नगरेको सम्बन्धको स्थायित्वको नयाँ मापदण्ड खडा गरी सो आधारमा कसैलाई उसको कानुनी हकबाट बञ्चित गर्ने गरी हक वा दायित्वको पुनर्निधारण गर्नु न्यायोचित हुँदैन । (प्रकरण नं. १७) (७) धर्मपुत्र र धर्मपिताको सम्बन्ध कुनै बखत टुट्न सक्दछ भन्ने आधारमा “छोरा” शब्दको सामान्य अर्थलाई संकुचित पारी आफूले जन्माएको छोरा (औरसपुत्र) मा सीमित गरी मोहियानी हकको प्रयोजनको लागि धर्मपुत्रलाई धर्मपिताको छोरा मान्न अस्वीकार गर्नु कानुन, न्याय वा विवेक कुनै पनि दृष्टिकोणबाट उचित मान्न नसकिने । (प्रकरण नं. १७) (८) सम्बन्धको स्थायित्वको आधारमा धर्मपुत्रले धर्मपितातर्फको कुनै अधिकार पाउने वा नपाउने कुराको निरुपण गर्नु कानुनसंगत नहुने । (प्रकरण नं. १७) (९) जुन रुपमा पति, पत्नी र छोराको अस्तित्व पत्नी, पति वा छोरासंग कुनै एक समयमा एउटै मात्र रहन्छ त्यै रुपमा धर्मपुत्रको अस्तित्व पनि धर्मपितासंग त्यो सम्बन्ध कायम रहेसम्म छोराको रुपमा मात्र रहेको हुन्छ त्यसलाई द्वैध भन्न नमिल्ने । (प्रकरण नं. १८) (१०) मोहियानी हकको प्रकृति वा स्वरुप उत्तराधिकारबाट नसर्ने मोहीको व्यक्तिगत हकको रुपमा परिणत हुने कुरा मान्न नसकिने । (प्रकरण नं. २०) (११) मोहीको सुरक्षाको लागि मोहियानी हकको बेचबिखनमा प्रतिबन्ध लगाउने सम्म कानुनको मनसाय हो, त्यो कानुनी प्रावधानले मोही वा निजको परिवारका सदस्यहरुको हक वा हितको प्रतिकूल जग्गावालाको कुनै हक सृष्टि गरेको सम्झन नमिल्ने । (प्रकरण नं. २०) (१२) अदालतले व्याख्या गर्दा संकुचित वा अनुदार व्याख्या होइन, उदार र फराकिला व्याख्या गर्नु उपयुक्त र न्यायोचित हुने । (प्रकरण नं. २०) (१३) मोहीको मृत्युपछि मोहीका परिवारका सदस्यहरुको बीचमा विवाद उपस्थित भई मोहीको ठेगान नलागेको अवस्थामा मात्र जग्गावालाले मोही रोज्ने अधिकारको प्रयोग गर्न सक्दछ, मोहीका परिवारका सदस्यहरुको बीचमा कुनै विवाद छैन भने त्यो अधिकार उसले प्रयोग गर्ने प्रश्नै आउँदैन । (प्रकरण नं. २०) यस फैसलाले ने.का.प. भाग २९, अड्ढ २, पृष्ठ १४० मा प्रकाशित (शेषनाथ प्र. कुर्मी वि. भू.सु.का.पर्सा) भएको सिद्धान्तलाई अमान्य घोषित गरेको । (साविक पेज नं. ४५१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4350 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2048/09/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4350 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
