नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 301 · वि.सं. २०२२
नि.नं. 301 — हर्जाना दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नागरिक अधिकार ऐन, ०१२ को दफा १७ – आघात भएका व्यक्तिले नै क्षतिपूर्तिमा दावा गर्न सक्ने । आघात व्यक्तिको मृत्यु भएमा हकवालाहरूले क्षतिपूर्तिको दावा गर्न नमिल्ने । यदि कसैको लापरवाही वा गलत कामबाट कसैलाई घातक चोट लागेमा त्यस्तो घातक चोट लगाउने व्यक्ति वा अधिकारीको विरुद्ध चल्न पाउने व्यक्तिको मृत्यु भएपछि जिवित हकवालाहरूले मृत व्यक्तिको हकमा दावी गर्न पाउने नपाउने के हो ? भन्ने तर्क उठ्छ । हकवालाहरूलाई मानसिक चिन्ता र पिर हुनु त स्वाभाविकै छ । तर मृत व्यक्तिको वापतमा हकवालालाई क्षतिपूर्ति दावी गर्न पाउने अधिकार उक्त नागरिक ऐनको दफा १७ ले दियो दिएन भनी हेर्दा आघात भएका व्यक्तिले क्षतिपूर्तिमा दावा गर्न पाउने उक्त दफाबाट देखिएको र आफ्नो नातेदार वा छोरा नातिको मृत्यु भएमा मृत्यु भएको व्यक्तिको हकमा पनि हकवालाहरूले क्षतिपूर्ति दावी गर्न पाउँछन् भन्ने अधिकार उक्त ऐनले दिएको देखिएन । (प्रकरण नं.२१) (२) कसैको गलत कामबाट कसैको मृत्यु भएमा सम्पत्ती चल बस्तु वा चिजमा बाहेक व्यक्तिगत अधिकार मृतकसाथै अन्त हुने । मर्नेको सम्पत्ती इत्यादि चल अचल बस्तु वा चिजमा बाहेक निज मृत्यु भएको व्यक्ति जिवित रहेमा निजले नै व्यक्तिगत रुपबाट चलाउन पाउने कारवाई अधिकार पनि मृतकको हकदारहरूमा सर्छ भन्न सकिदैंन । किनभने कसैको लापर्वाही वा गलत कामबाट कसैको मृत्यु हुन गएकोमा अन्यायी विरुद्ध कारवाई मुद्दा गर्ने व्यक्तिगत अधिकार पनि सो मृतक व्यक्तिको साथ साथै मर्छ । कुनै व्यक्ति मर्न गएकोमा ऐनमा प्रष्ट व्यवस्था भएमा बाहेक प्रत्यक्ष वा त्यसको परिणामको क्षतिपूर्तिमा दावी गर्न पाउने हक अरुलाई हुँदैन । (प्रकरण नं.२२) (३) मरेका व्यक्तिको वापतमा क्षतिपूर्ति बारे (क) पुरानो मुलुकी ऐन, सवारीको ७ नं.१ दफा, (ख) सवारी ऐन, २०२० को दफा ५(४१) (ग) रेल्वे ऐन, २०२२ को दफा ८, माथि (क) (ख) र (ग) मा मरेमा हकदारलाई कृया खर्च र चोटसम्म लागेमा घा खर्च भराउने व्यवस्था भएको । (घ) क्षतिपूर्ति ऐन, २०१९ को दफा ४ मा सम्पत्तीको क्षतिपूर्ति दिनेसम्म उल्लेख भएको। (ङ) नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ३१ मा मजदुरले काम गर्दा घा चोट अंगभंग भएमा वा मृत्यु भएमा परिवारले पाउने क्षतिपूर्तिको व्यवस्था गरिएको, (च) नागरिक अधिकार ऐन, २०१२ को दफा १७ ले मृत व्यक्तिका हकदारले दावी गर्न नसक्ने । मरेको व्यक्तिको वापतमा क्षतिपूर्ति गर्ने भराउने बारेमा के कस्तो व्यवस्था रहेछ भनी हेर्दा पुरानो मुलुकी ऐन सवारीको ७ नं.१ दफा र सवारी ऐन, ०२० को दफा ५४ को (१), रोलबे ऐन, ०२० को दफा ८ मा ज्यान मरेमा हकदारलाई कृया खर्च मात्र र ज्यान नमरी घाचोटसम्म लागेमा आघात परेका व्यक्तिलाई घाखर्च अवस्था अनुसार भराउने व्यवस्था भएको देखियो । क्षतिपूर्ति माग भएको प्रस्तुत मुद्दा हुनाले क्षतिपूर्ति ऐन, ०१९ हेरेमा सो ऐनको दफा ४ मा कुनै नेपाल कानून बमोजिम उन्मूलन भएको प्राप्त गरिएको वा प्राप्त गरिने सम्पत्तीको क्षतिपूर्ति दिने तर्फको कुरामात्र उल्लेख भएको । दावी गरिए बमोजिम ज्यान वापतको क्षतिपूर्ति भराउने समेत कुरा त्यसमा उल्लेख नभएको र, नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, ०१६ हेरेमा सो ऐनको दफा ३१ मा कुनै कारखानाको मजदुरलाई कारखाना को काम गर्दा शरीरमा घाउचोट पटक लागेमा वा अंगभंग भएमा वा मृत भएमा सो मजदुर वा निजको परिवारले पाउने क्षतिपूर्तिको दर तोकिए बमोजिम हुनेछ भन्ने लेखिएको । यस्तो किसिमको बिशेष व्यवस्था भएकोमा हकवालाले क्षतिपूर्तिमा दावा गर्न पाउने । प्रस्तुत मुद्दामा केटाकेटीहरूलाई योग्य बनाउन वादीहरूले लगाएको र योग्य भएर निजहरूबाट हुन आउने उपार्जन समेतलाई लिएर वादीहरूले हर्जाना दावी गरेको । त्यस किसिमको क्षतिपूर्ति दिलाउने भराउने कानूनमा व्यवस्था भएको नदेखिएको र नागरिक अधिकार ऐनको दफा १७ ले पनि मृत्यु भएको व्यक्तिको हकदारहरूले दावी गर्न नसक्ने देखिएकोले लापरवाही वा गलत कामबाट मृत्यु हुन गएको व्यक्तिको हकमा क्षतिपूर्ति जस्तै देवानी तर्फबाट उठाइने कारवाइ उठाउनलाई मर्ने व्यक्तिका हकदारहरूले पनि मर्ने व्यक्तिको वापतमा क्षतिपूर्तिको दावी गर्ने सक्छन् भन्ने कानून व्यवस्था नभएसम्म मृत व्यक्तिका हकमा हकदारहरूले क्षतिपूर्तिको दावी गर्न पाउँछन् भनी भन्न मिल्दैन । (प्रकरण नं.२३) (४) मुद्दा गर्नु पर्ने कारण कुन अवस्था देखि हुन आउने – आघात भएकै अवस्था देखि कारण हुन आउने । नकी सो सम्बन्धमा लेखपढी जाँचबुझ गरी सकेपछिको मिति देखि कारण हुन आउने । यसबाट अनिश्चित कालसम्म कायम रहने हुँदा मुद्दा गर्नु पर्ने कारण जुन अवस्था देखि हुन आउँछ सो नै मितिलाई गणना गर्नु पर्ने । मुद्दा चलाउनु पर्ने कारण भएको भन्ने उक्त ऐनको वाक्यले वादीको भनाई बमोजिम इण्डियन एयरलायन्स कर्पोरेशनले क्षतिपूर्ति दिन इन्कार गरेका मितिदेखि प्रारम्भ हुन्छ कि भन्नालाई प्रतिवादीले वादीको कुनै नागरिक अधिकार हनन् नगरेसम्म वादीले प्रतिवादी उपर नागरिक अधिकार ऐन अन्तर्गत क्षतिपूर्तिको माग गर्ने हो । त्यसकारण हर्जानाको माग गर्दा इन्कार गर्नाले मात्र कसैको नागरिक अधिकार हनन् हुने भन्ने कुरा युक्तिसंगत देखिंदैन । जुन दुर्घटनामा परी माल नोक्शानी ईत्यादी भई वादीको नागरिक अधिकार ऐनले दिएको अधिकारमा आघात भयो । स्वतः मुद्धा गर्नु पर्ने कारण हुन आउँछ । अतः मुद्धा चलाउनु पर्ने कारण कानूनी हक अधिकार हनन् भएको मौकाको दिन देखि उत्पन्न हुन्छ । यसकारण दुर्घटनाको मति ०१३।२।२ देखि नै वादीको उजुर गर्ने हदम्यादको गणना गर्नु पर्ने हुन आउँछ । हर्जानाको माग इन्कार गरेका मितिलाई लिएर सो मितिदेखि हदम्याद प्रारम्भ हुन्छ भन्ने हो भने कुनै पक्षले सो क्षतिपूर्तिको सूचना दिंदै दिएन वा दिन धेरै समय लगायो भने त्यसको म्याद अनिश्चित कालसम्म कायम रहि रहने अवस्था पर्न जान्छ । साथै म्यादबारे अव्यवस्था हुने र कानून सिद्धान्तमा बिलकुलै नमिल्दो हुन अउँछ । (प्रकरण नं.२५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 301 |
|---|---|
| मुद्दाको विषय | हर्जाना दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2022/03/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्रीरत्नबहादुर बिष्टज्यूको राय मुनासिव छ । हदम्याद शुरु हुने मिति तर्फसम्म सहयोगी न्यायाधीशज्यू श्री नयनबहानुर |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२२, नि.नं. 301 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
