नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 291 · वि.सं. २०२२
नि.नं. 291 — हक सफा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) साहू असामीको ९ नं. – भिन्न भएका नठहरिए र घरको मुख्य आफै भए, थाहा दिने प्रश्न नउठ्ने । सगोलको व्यक्तिलाई कस्तो अवस्थामा निखन्न पाउने हक नहुने ? साहु असामीको ९ नं. मा निखन्ने बारेमा व्यवस्था गरेको देखिन्छ । जुन यस प्रकार छ । “हकवालाको घरको मुख्य मालिकलाई जनाउ नदिई किन्न बेच्न हुँदैन । हकवालाले लिएसम्म अरुले पाउँदैन । बेचे किनेका मितिले हकवाला यसै सरहदमा भए ६ महिना र बिदेश गएको भए १ बर्षसम्ममा थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ । सो म्याद नाघेपछि हकवालाले पाउँदैन । किने बेचेको पक्का हुन्छ । निखनी लिन पाउने कुरामा धेरै जना हकवाला भएकोमा नजिकको जो हुन्छ, उसैले निखनी लिन पाउँछ । वादीहरू खड्गबहादुरसँग भिन्न भएका नठहिरए पछि घरको मुख्य खड्गबहादुर नै हुन्छन् । आफूले आफैलाई थाहा दिने प्रश्न उठ्दैन । त्यसकारण सगोलको व्यक्तिलाई निखन्न पाउने हक दिएको छैन । (प्रकरण नं.१४) (२) अपुतालीको १ नं.– ७ पुस्तासम्मका १० दिन जुठो लाग्नेमा जो जति नजिकको छ भन्ने उल्लेख भएको । सगोलको व्यक्ति हकवाला नमानिने भन्ने ऐनमा व्यवस्था नभएको । हकवाला शब्दले सगोल वा छुट्टिएका सबै किमिसका हकवालालाई जनाउने । साहु असामीको ९ नं.हकवालाले लिएसम्म अरुले नपाउने । धेरै हकवाला भएमा सवभन्दा नजिककोले निखन्न पाउने । सगोलका अंशियारको मन्जुरी लिन पर्ने भन्ने साहु असामीको ८ नं. मा उल्लेख भएको । साहु असामीको ९ नं.बमोजिम सगोलको व्यक्तिले निखन्न पाउने । अपुतालीको १ नं.हेरेमा हकवाला भनेको ७ पुस्तासम्मको १० दिन जुठो लाग्नेमा जति नजिकको छ, उही हुन्छ भन्ने उल्लेख भएको र सगोलको व्यक्ति हकवाला मानिन नसक्ने ऐनमा कतै व्यवस्था नभएकाले हकवाला शब्दले सगोलका वा छुट्टिएका सबै किसिमका हकवालालाई सम्मिलित गरेको पाइन्छ र हकवालाले लिएसम्म अरुले पाउँदैन । धेरै हकवाला भएकोमा नजिकको जो हुन्छ, उसैले निखनी लिन पाउँछ भन्ने उक्त साहु असामीको ९ नं. को बोलीले हकवालामा जो नजकि छ, उसैलाई निखन्न पाउने हक प्रदान गरेको देखिन्छ । ऐनले सगोलको अरु अंशियारको पनि मन्जुरी लिनु पर्ने, सम्पत्ति मन्जुरी नलिई बेचेको कलममासम्म साहु असामीको ८ नं.लाग्ने कुरा हो । जस्तो अंशबण्डाको ३८ नं. ले अरुको मन्जुरी लिनु नपर्ने समेत ऐनले आफू खुशी गर्न पाउने सम्पत्ति बेचेको कलममा पनि सगोलको व्यक्तिको लागि साहु असामीको ८ नं.नै लाग्ने अवस्था पर्न आउँदैन । त्यसको अवस्था सगोलका व्यत्तिले पनि साहु असामीको नं.९ कै आधार लिनु पर्ने हुन आउँछ । हकवाला शब्द भित्र सगोलको व्यक्ति पनि पर्ने हो भने सगोलको आफ्नो समेत हक लाग्ने सम्पत्ति आफैले निखन्न पाउने हुन्छ भन्ने तर्कका हकमा आफ्नो हकवाला कसैले बिक्री गरेको सम्पत्ति हकवालाले नै लिन चाहेमा निखनी लिन पाउने नै कानूनको मुख्य सिद्धान्त हो । यस्तो निखन्ने बारेमा बिक्री गर्ने व्यक्तिसँग नाता सम्बन्ध भएको व्यक्तिलाई सम्पत्तिको उपभोग गर्दा आफ्नो बीचमा कुनै उनाउँ व्यक्तिको उपस्थिति हुन आई अप्ठेरो नपरोस् भन्ने समेत सिद्धान्तको आधारमा हकवालाले निखनी लिन पाउने समेत सुविधा प्रदान गरेको देखिन्छ । सगोलको व्यक्तिले निखन्न नपाउने कानूनले बन्देज गरेको नदेखिएकोले सगोलको व्यक्तिलाई साहु असामीको ९ नं.बमोजिम निखन्ने हक रहँदैन भन्न मिल्ने देखिदैन । (प्रकरण नं.१४) (३) मौकामै थाहा भएको थियो भन्ने कुराको खम्वीर जिकिर दिन नसके र वतन बिभिन्न ठाउँको देखिए ०१५।१।१६ मा थाहा पाएको भनी सो मितिले ३५ दिन भित्रको उजुरी देखिए साहु असामीको ९ नं.रजिष्ट्रेशन ३९ नं.बमोजिम म्याद भित्रकै देखिने । ०१५।१।४ गते जग्गा बेचेको कुरा सगोलका वादीहरूले मौकामा थाहा नपाई ५ महिना पछि ०१५।५।१६ मा मात्र थाहा पाएको भन्ने कुरा सुहाउँदो सत्य हुन सक्दैन । मौकैमा, उसै दिन थाहा पाएका थिए । त्यसकारण वादीहरूको उजुरी म्याद भित्रको छैन भन्ने निवेदक तर्फको जिकिर भए पनि वादीहरूको वतन चितवन सलौली बस्ने भन्ने लेखिएको कुरालाई प्रतिवादीले स्वीकारै गरेका र राजीनामा लिखतमा असामी खड्गबहादुरको वतन सेरबास, सो कागज लेखिएको मुकाम मेरै घर बसन्तपुर भन्ने लेखिएको । जग्गा पनि नारायणघाटको भन्ने देखिएको । खड्गबहादुरसँग सगोलमा भए पनि छुट्टै सलौली भन्ने ठाउँको घरमा बस्ने वादीहरूलाई शेरबासको घरमा बस्ने खड्गबहादुरले बसन्तपुरको घरमा बसी नारायणघाटको जग्गा बेचेको कुरा मौकैमा थाहा हुन नसक्नुको अवस्था पनि देखिन्छ । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 291 |
|---|---|
| मुद्दाको विषय | हक सफा |
| निर्णय वर्ष / मिति | 2022/02/22 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री लोकराज जोशी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२२, नि.नं. 291 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
