नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 195 · वि.सं. २०२०
नि.नं. 195 — नासो धरौट
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नासो धरौट बुझी लिएको कागजमा कागज जाँचको २० नं.बमोजिम अक्षर नजान्नेको र लेख्न जान्नेको पनि कागजमा ल्याप्चे सहीछाप गर्दा, गराउदा दायाँ बायाँ दुवै हातका बुढी औंठाको सहीछाप गर्नुपर्ने । सर्वप्रथम प्रतिवादीले नासो जिम्मा लिइ वादीलाई गरिदिएको भनेको ०१०।११।१७।१ को कागज प्रतिवादीलाई देखाउँदा जि.कृष्णप्रसादको हस्ताले लेखेको भन्ने वादी । निज गाउँको जिम्मावाल भएबाट तिरो बुझी अर्धकट्टीमा रैतीको सहीछाप गराई लिने चलन हुँदा झुक्यानबाट गराई लिएको होला भन्ने प्रतिवादी जिकिर हुनाले त्यसतर्फ विचार गर्दा, कागज जाँचको २० नं.को ऐनमा “अक्षर नजान्नेको र लेख्न जान्नेको पनि यसै महलको २०(ग) रजिष्ट्रेशनको २३ नं.का समेत ऐनले औंठाको ल्याप्चे सहीछाप गर्नु गराउनु पर्ने कागजमा ल्याप्चे सहीछाप गर्दा गराउँदा दाहिने हातको बुढी औंठाको, दायाँ बायाँ दुवै हातको बुढीऔंलाको सहीछाप गर्नुपर्ने । रीतपूर्वक सहीछाप नपरेको कागजबाट तपसीलमा लेखिएको बाहेक नालेस उजुर लाग्न सक्तैन भन्ने लेखिएको । ऐजन २०(ग) मा नासो धरौट बुझी लिएको कागजमा दायाँ बायाँ दुबै हातको बुढी औंठाको सहीछाप हुनुपर्छ भन्ने उल्लेख भएको । प्रस्तुत लिखतमा उक्त ऐनबमोजिम रीत पुर्याई ल्याप्चे सहीछाप गराई लिएको नदेखिएको र सो लिखत लेखी दिने भनी वादीले भनेको र साक्षीसमेत राखेको जि.कृष्णप्रसाद समन म्यादमा हाजिर हुन नआएको र वादी आफैंले पनि आफ्नो प्रमाण निमित्त अड्डामा उपस्थित गराउन नसकेको । नासो धरौट लिएको कागजमा साक्षी राखेको पनि नदेखिएकोले त्यस्तो कानूनको रीत नपुगेको र अरु कुराबाट समर्थन हुन नआएको लिखतलाई मान्यता दिन मिलेन । (प्रकरण नं. १२) (२) नासो धरौटको १० नं. अनुसार वादीले साक्षी गवाहीबाट प्रमाण गुजार्न नसकेमा सो ऐन अन्तर्गतको कारवाई भन्न नमिल्ने । अब नासो धरौटको १० नं.मा अतास परेमा लुकाउनको खातिर नासो राखेकोमा लिखत नभए पनि साक्षी गवाही मात्र भए पनि सुनी मामिला फैसला गर्नु भन्ने उल्लेख भएकोले वादीले साक्षी गवाहीबाट प्रमाण गुजार्न सकेको छ छैन भनी विचार गर्दा, फिरादपत्रमा २ जना साक्षी राखेकोमा निजहरूलाई माथि लेखिएबमोजिम वादीले अड्डामा ल्याई आफ्नो दावीलाई पुष्ट्याईं गराउन नसकेकी र अड्डाबाट तामेल भएका समनको म्यादसमेत निजहरूले गुजारी बसेकाले त्यसतर्फबाट पनि वादीको दावी समर्थन हुन नसकेकाले वादीतर्फका विद्वान वकीलको बहस जिकिर मनासिव देखिएन । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 195 |
|---|---|
| मुद्दाको विषय | नासो धरौट |
| निर्णय वर्ष / मिति | 2019/12/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२०, नि.नं. 195 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
