नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 172 · वि.सं. २०१९
नि.नं. 172 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सरजमिनको मुख्य उद्देश्य–प्रारम्भिक जानकारी र वस्तुस्थिति पत्ता लगाउनु– सरजमिनले मूल प्रमाणको स्थान लिन नसक्ने । अ.बं. १५७ नम्बरमा सरकार वादी हुने ज्यानमारा, डाका रहजनी, राजकाज, गाथागादी जिउको नोक्सान हुने शंका देखिएको हुलदंगाका मुद्दामा र ज्यानसम्बन्धी २ नम्बरको ऐनमा पनि अवस्थाअनुसार तुरुन्त सरजमिन गर्नु पर्ने व्यवस्था भएको पाइन्छ । अ.बं. १७६ नं. मा सरजमिनबाट बुझ्नु पर्ने कुराको जो बुझ्नु पर्ने तालुकदार र सरजमिन समेत बुझी सकी फेला नपरेका प्रतिवादीका हकमा समेत वादी र फेला परेका प्रतिवादीका गवाह र सफाई बुझ्नु पर्ने कुरा बुझ्नु भन्ने र अ.बं. १७७ नं. मा उर्दि पुर्जि बमोजिम खटी जानेले वारदात भएको ठाउँमा गै सरजमिन बुझ्दा “वारदात भएको रहेछ भने” वारदात भएका ठाउँको नाउँ र बेला, साल, मिति, समेत रिपोर्टमा लेखी सो कागजात समेत वारदात भएकै ठाउँमा पक्रिएकाहरूलाई समेत उर्दी पुर्जी दिई पठाउने अड्डामा चलान गरी ल्याउने पठाउने भन्ने उल्लेख भएको पाइन्छ । उपरोक्त नम्वरका ऐनहरूबाट फौजदारी मुद्दामा सरजमिन मौका तहकिकात गर्ने प्रमुख उद्देश्य खास वारदात भएको हो, होइन र भएको भए को को मूछिएका छन ? त्यो कुरा पत्ता लगाउनु हो । यस कुराको पुष्टि अ.बं. को १७८ नं. बाट पनि अरू ज्यादा मात्रामा भएको देखिन्छ । उक्त ऐनमा “सरजमिनमा गै बुझेकोमा जाहेरवालाले नालेस परेको कुरा भएकै ठहरेन भने तुरुन्त सो उजुरवालालाई ऐन बमोजिम गर्नु” भन्ने उल्लेख भएबाट वारदात भएको हो, होइन र त्यस विषयको प्रारम्भिक जानकारी सम्म पत्ता लगाउनु हो भन्ने सरजमिनको मुख्य उद्देश्य देखिन्छ । (प्रकरण नं. १५) (२) यसै प्रकारको देवानी मुद्दामा पनि अ.बं. २१५ नं. को ऐनमा नक्सा सरजमिन गर्ने व्यवस्था भएको र उक्त ऐनमा लेखिएबमोजिम नक्साको रूप प्रष्ट देखिने गरी कैफियत खोली लेख्ने कुरा बाहेक अरू कुरा सो नक्सामा लेखे बात लाग्छ भन्ने कुरा उल्लेख भएको पाइन्छ । तसर्थ, सरजमिनसम्बन्धी ऐनहरूको विश्लेषणात्मक अध्ययन गर्दा यो स्पष्ट हुँन आउँछ कि सरजमिन गर्नाको तात्पर्य बस्तुस्थिति पत्ता लगाउन मात्र हो । सरजमिनबाट थाहा हुन आएको कुराले मूल प्रमाणको स्थान लिंदैन । (प्रकरण नं. १६) (३) बकपत्रलाई इन्साफ गर्दा मूल आधार माग्नु पर्ने । झुट्टा बक्नेलाई सजाय हुने । प्रचलित कानूनमा सरजमिनका व्यक्तिहरूलाई धर्म भकाउने तथा जिरह गर्ने व्यवस्था उल्लेख भएको पाइँदैन । अ.बं. को १८९ नं. बाट लिएर साक्षीसम्बन्धी अरू विभिन्न दफाहरूमा साक्षी गवाहलाई बकाउने कार्यविधि र कस्ता साक्षी कस्ता मुद्दामा बकाउन हुन्छ ? भन्ने उल्ेख भएको पाइन्छ । ती ऐनहरूमा व्यवस्था गरिएका अरू कुराहरूको अतिरिक्ततामा, तुलसी समाई धर्म भकाई बकपत्र गराउने र एका गवाहले बक्न लागेको अर्का गवाहाले सुन्न नपाउने र एका झगडीयाले अर्को झगडीयाको साक्षीहरूलाई जिरह गर्न पाउने व्यवस्था भएको देखिन्छ । अ.बं. १९४ नं. मा साक्षी गवाहाको बकपत्रको नमूना जोडिएको छ । त्यसमा खास गरी साक्षी सित “तिमीले झुट्टा बकेमा सजाय पाएको छ, छैन” भन्ने प्रश्न गरिन्छ । त्यसबाट साक्षी गवाहले जानी जानी झुट्टा बकेमा निजलाई सजाय हुन्छ भन्ने पहिले नै प्रष्ट गरिन्छ । यसरी विधि पुर्याएर जो बकपत्र लिइन्छ, त्यस बकपत्रलाई इन्साफ गर्दा मूल आधार मान्नु पर्ने भएकोले झुट्टा बकी इन्साफमा खलल पार्ने किसिमको बकपत्र गर्ने व्यक्तिलाई दण्डको भागी गर्नु पर्ने न्यायसँगत कुरा हुन आउँछ । (प्रकरण नं. १७) (४) साक्षी गवाह र सरजमिनमा भिन्नता । (हेर्नोस् प्रकरण नं. १५,१६,१७ र¬¬) साक्षी गवाह बकाउने र सरजमिन गराउने उद्देश्य भिन्न भिन्न देखिन्छ र विधीकर्ताले प्रचलित ऐनमा दुबैका कार्यविधिको पृथक पृथक व्यवस्था गराएको पाइन्छ । यी सब पृथक व्यवस्था र उद्देश्यबाट साक्षी गवाह र सरजमिन एकै नभई पृथक हुन् भन्ने कुरा प्रष्ट हुन आउँछ। (प्रकरण नं. १८) (५) ‘गवाह’ भन्ने शब्दले साक्षीलाई जनाउने–‘गवाह’ शब्दले सरजमिनलाई जनाउँदैन । (क) सरजमिनमा झुट्टा बक्नेलाई दण्ड सजाय गर्न नमिल्ने । सरजमिनमा झुट्टा बक्नेलाई सजाय दिन मिल्छ कि मिल्दैन ? भन्ने तर्फ बिचार गर्दा, अ.बं. २१३ मा साक्षी गवाहले पक्का प्रमाण पुग्ने गरी बकी दियो भने त्यस्ता साक्षी गबाहले नभएको झुट्टा कुरा बकी लेखिदिएको ठहरेमा त्यस्ता साक्षीलाई सजाय गर्ने व्यवस्था गरेको देखिन्छ । उक्त ऐनको आदीबाट अन्तसम्म कहिं पनि सरजमिन भन्ने शब्द उल्लेख भएको पाइँदैन । उक्त ऐनमा साक्षी गवाह भन्ने एकसाथ उल्लेख भएकोले गवाह शब्दले सरजमिनलाई जनाउँदछ कि भन्ने तर्क गरेमा पनि गवाह भन्ने शब्द साक्षीकै लागि प्रयोग भएको हो भन्ने कुरा अ.बं. १८८, १८९, १९०, १९१, १९२ आदिबाट स्पष्ट रूपमा झल्किन्छ । (प्रकरण नं. १९) (६) सरजमिन र साक्षी गवाहसम्बन्धी ऐनका विभिन्न दफाहरूबाट विधिकर्ताले दुबैलाई पृथक श्रेणीमा राखी दुबैको लागि भिन्न भिन्न व्यवस्था गरेको प्रष्ट देखिन्छ र अ.बं. २१३ नं. मा सरजमिन शब्दको उल्लेख नहुनु पनि सुनी जानेको कुरा लेखाई दिने सरजमिनको कुनै अपराध मान्न नहुने भई तिनलाई दण्ड गर्ने न्यायोचित हुँदैन भन्ने सिद्धान्त अपनाएको देखिन्छ । अतः सरजमिनमा झुट्टा बक्नेलाई दण्ड सजाय गर्ने कानूनमा व्यवस्था नभएकोले दण्ड गर्न मिल्दैन । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 172 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2010/04/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१९, नि.नं. 172 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
