नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11482 · वि.सं. २०८२
नि.नं. 11482 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
बकसपत्रदाता र बकस प्राप्त गर्ने बिचको सम्बन्ध र प्राप्त हुन आएको सम्पत्ति प्राप्त हुनुपर्ने कारणको सापेक्षतामा प्रयोजनपरक व्याख्या हुनु नै समन्यायिक र न्यायोचित हुने । बकसपत्रदाताको बकसपत्र प्राप्तकर्तासँगको विगतमा रहेको सम्बन्ध र बकसपत्र प्राप्त भएको परिवेश, अवस्था र कारणको विश्लेषण नगर्ने तथा बकसपत्रको लिखत खडा गरी सम्पत्ति आदान प्रदान हुँदैमा निजी आर्जन ठहर गर्दै जाने हो भने सगोलको सम्पत्तिको ठुलो मात्रा कुनै अंशियारतर्फ पर्न जाने र कुनै अंशियारले सगोलको सम्पत्तिबाट सानो हिस्सा प्राप्त गर्ने वा पूर्ण रूपले विमुख हुने अन्यायपूर्ण अवस्था सिर्जित हुन सक्ने हुँदा निजी आर्जनको निर्क्यौलको सन्दर्भमा बकसपत्रसम्बन्धी कानूनी व्यवस्थाको व्याख्या र प्रयोगमा अदालतले संवेदनशीलता र सजगता अपनाउन पर्ने । (प्रकरण नं.१०) आफूले प्राप्त गरेको सेवा, सहयोग वा संरक्षणबापत दाता खुशी वा प्रसन्न भई बकसपत्र गरिदिने प्रचलन रहेकोले यस्तो लिखत परिवारभित्रका नाता सम्बन्ध कायम रहेको व्यक्तिहरूका बिचमा लिने दिने गरेको देखिए तापनि परिवार बाहिरका व्यक्तिहरूका बिच पनि यस्तो लिखतका माध्यमबाट सम्पत्ति हस्तान्तरण नहुने भन्ने नहुने । तर बकसको शाब्दिक अर्थ नै इनाम, बक्सिस वा पुरस्कार भएकोले दातासँग बकस प्राप्तकर्ताको के कस्तो सम्बन्ध रहेको हो र के कुन समयमा के कस्तो कार्य गरेबाट दाता के कसरी प्रभावित वा प्रसन्न भई आर्थिक प्रतिफल नलिई सम्पत्ति बकस दिन तत्पर भएको हो, सो बेहोरा बकसपत्र कागजबाट देखिनुपर्ने । बकसपत्रको कैफियत महलमा लेखिने कैफियतको भाषा दाताको भाषा भएको र बकसपत्र प्राप्त गर्नेको दाताहरूसँग कुनै पारिवारिक नाता सम्बन्ध र अन्य कुनै प्रकारको सम्बद्धता नदेखिएको अवस्थामा बकसपत्र दाताहरूसँगको विगतको सम्बन्ध र सोही सम्बन्धका आधारमा गरेको सेवा र सहयोगसमेत खुलाई निजहरूलाई रिझाएको भन्ने बेहोरा पुष्टि गर्ने दायित्व बकसपत्र प्राप्त गर्नेमा नै रहने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11482 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2082/03/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | टेकप्रसाद ढुङ्गाना, मेघराज पोखरेल, श्रीकान्त पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11482 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
