नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11440 · वि.सं. २०८२

नि.नं. 11440 — लिलाम लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

म्यादको सम्बन्धमा कानूनले स्पष्ट प्रावधान गरेको छ भने त्यसलाई नै अनुशरण गर्नुपर्ने तर कानूनमा द्विविधा देखिन्छ भने त्यसलाई सामञ्‍जस्यपूर्ण र व्यवहारउपयोगी हुने गरी व्याख्या गरिनुपर्ने । कानूनी प्रावधानहरू एकआपसमा विरोधाभाषपूर्ण नभई एकआपसमा परिपूरक रहन्छन् भन्ने विधिशास्त्रीय मान्यता रहेकोमा कुनै पनि कानूनी प्रावधान विधायिकाले त्यत्तिकै राखेको हुँदैन, ती सबै प्रावधानहरू कार्यान्वयन हुन सक्ने मान्यताले नै निर्माण गरिएका हुने । एउटा कानूनी प्रावधानलाई अर्को कानूनी प्रावधानले निस्तेज गर्न पनि नसक्ने । त्यसैअनुरूप कानूनको व्याख्या पनि कानूनी प्रावधानहरूबिचमा तादाम्यता रहने गरी सामञ्‍जस्यपूर्ण व्याख्या गर्नुपर्ने । (प्रकरण नं.४) मुद्दा दोहोर्‍याई हेर्नको लागि निवेदन दिन पाउने कुराले मुद्दामा भएको फैसला चित्त नबुझेको विषयमा माथिल्लो तहबाट उपचार प्राप्त गर्ने अवसर प्रदान गर्ने । यसका लागि दिइने निवेदनका लागि फैसलामा ग्रहण गरिएका आधारहरूबारे जानकारी प्राप्त हुनुपर्ने । कार्यविधिगत कानूनी पक्षका लागि व्यवहारमै उपयोगी र कार्यान्वयन गर्न सकिने हुनुपर्ने । मुद्दा दोहोर्‍याई हेर्नको लागि दिइने निवेदनका खातिर फैसलाको पूर्णलेख बिनाको जानकारीको कुनै प्रयोजन नै नहुने । (प्रकरण नं.५) फैसलाको नक्कल सारेको मितिलाई मात्र आधार मानी सोही मितिलाई उक्त फैसला भएको थाहा पाएको मिति मानिने भनी व्याख्या गर्दा नक्कल सारेको मितिको आधारमा जहिलेसुकै पनि मुद्दा दोहोर्‍याई हेर्नको लागि निवेदन पेस गर्न सकिने भई असीमित म्याद कायम हुन जान्छ, जुन व्याख्या म्यादसम्बन्धी विधिशास्त्रीय मान्यताकै बर्खिलाप तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (३) को कानूनी व्यवस्थामा प्रतिबिम्बित विधायिकी मनसायविपरीत समेत हुन जाने । (प्रकरण नं.६) न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) बमोजिम मुद्दा दोहोर्‍याई हेर्नको लागि पेस हुनआएका निवेदन, देवानी प्रकृतिको मुद्दाका हकमा उच्च अदालतबाट फैसला प्रमाणीकरण भएको छ महिनासम्ममा फैसलाको नक्कल लिएको मितिले पैंतालिस दिनको म्यादभित्र तथा फौजदारी प्रकृतिको मुद्दाका हकमा उच्च अदालतबाट फैसला प्रमाणीकरण भएको एक वर्षसम्ममा फैसलाको नक्कल लिएको मितिले पैंतालिस दिनको म्यादभित्र दर्ता गरिँदा न्यायोचित हुने देखिने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11440
मुद्दाको विषयलिलाम लिखत दर्ता बदर
निर्णय वर्ष / मिति2082/3/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशडा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल, बालकृष्ण ढकाल
मुद्दा नं.०८०-RE-०३४९
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11440
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्