नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11344 · वि.सं. २०८१

नि.नं. 11344 — मूल्य अभिवृद्धि कर (०६४-०६७)

सिद्धान्त / नजिर सार (Headnote Summary)

कर छली गर्ने मनसायले कर विवरण पेस भएको अवस्थामा हदम्यादको सीमा नतोकिनु विधायिकी मनसाय नै रहेको देखिने । कानूनमा भएको अपवादात्मक व्यवस्था वा विशेष व्यवस्थालाई विधायिकाको अन्तिम आशयको रूपमा लिइने । कुनै कानूनमा एकै दफामा सामान्य र विशेष गरी दुई फरक प्रावधान राखिएको देखिएमा विशेष कानूनी व्यवस्था मान्य (overriding effects) हुन्छ र यसले सामान्य कानूनी प्रावधानलाई निष्क्रिय वा शङ्कुचित गराउँछ भन्ने मान्यता राख्ने । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २० को उपदफा (४) ले कानूनको सामान्य व्यवस्थाअन्तर्गत कर अधिकृतले निश्चित अवधि चार वर्षभित्र कर निर्धारण गर्नुपर्ने कर्तव्यलाई इङ्गित गरेको देखिने भने उपदफा (४क) को व्यवस्था भनेको हदम्यादको अपवादात्मक विशेषाधिकारयुक्त व्यवस्था हो अर्थात् कर छलीलाई नियन्त्रण गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागलाई सुम्पिएको विशेष जिम्मेवारीअन्तर्गत जहिलेसुकै पनि कर निर्धारण गर्न मिल्ने । (प्रकरण नं.४) करदाताले पेस गरेको विवरण यो कारणले म्यादभित्र नरहेको, यो यस कारणले अधुरो र त्रुटिपूर्ण रहेको, यो कारणले झुठ्ठा रहेको वा करको कम रकम देखाएको वा ठिक नभएको, न्यून बीजकीकरण गरेको, बीजक जारी नगरी बिक्री गरेको, दर्ता नगरी कर उठाएको वा कारोबार गरेको भन्नेलगायतका आधारहरू प्रमाणबाट कर अधिकृतले नै स्थापित गर्नुपर्ने । कर अधिकृतको यो प्रमाणको भारसम्बन्धी दायित्व निरपेक्ष कानूनी दायित्व नभई स्वयंकर निर्धारण प्रणालीअन्तर्गत करदातालाई सुम्पेको कानूनी दायित्वको सापेक्षतामा परिभाषित गर्नुपर्ने दायित्व हो भनी मान्नुपर्ने । (प्रकरण नं.८) तिरेको कर र बिक्रीमा सङ्कलन गरेको कर मिलान गरी फरक हुन आउने कर रकम अप्रत्यक्ष करको रूपमा रहेको मूल्य अभिवृद्धि करको भार वहन अन्ततोगत्वा उपभोक्ताले नै गर्ने । मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवाको कारोबार गर्ने दर्तावाल व्यक्तिको अहम् दायित्व खरिद बिक्रीको कारोबार रकम तथा खरिदमा तिरेको कर र बिक्रीमा सङ्कलन गरेको करको मासिक हिसाब राखी स्वयं कर निर्धारण गरी उपभोक्ताले तिरेको कर राज्यकोषमा दाखिला गर्नुपर्ने । व्यापारिक वस्तु वा सामानको खरिद बिक्री गर्ने व्यक्ति आफैँले मूल्य अभिवृद्धि कर तिर्ने नभएर कारोबारको हरेक तहमा भएको बिक्रीको मूल्यअनुसार अभिलेख राखी सङ्कलन भएको कर दाखिल गर्ने सहजकर्ताको भूमिका मात्र निर्वाह गर्ने । दोहोरो करको अवस्था आउन नदिन व्यापारिक वस्तु वा सेवा खरिद गर्ने व्यक्ति फर्म वा कम्पनीले तिरेको कर आफूले त्यस्तो वस्तु वा सेवा बिक्री गर्दा उपभोक्तासँग कर उठाएपछि करकट्टी गर्न पाउने । करदाताले मूल्य अभिवृद्धि करमा दर्ता नभएको फर्म वा व्यक्तिसँग खरिद गरेको बीजक पेस गरी, कारोबारको अद्यावधिक विवरण पेस नगरेका र कर दाखिलासमेत नगरेका फर्म वा कम्पनीसँग सामान खरिद गरेको भनी बीजक पेस गरी तथा आफूसँग कारोबार नै नगरेका फर्म वा कम्पनीसँग लिएको बीजक मात्र पेस गरी करकट्टी लिन्छ र सोको समर्थन खरिद बिक्री खातालगायतको कर तिरेको प्रमाण पेस गरी गराउन सक्दैन भने त्यस्तो अवस्थामा झुठ्ठा वा नक्कली बीजक बनाई राज्य कोषमा जम्मा हुनुपर्ने कर राजस्व गैरकानूनी रूपमा करकट्टी गरी अनुचित लाभ लिने गम्भीर कसुर गरेको स्वतः स्पष्ट देखिने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11344
मुद्दाको विषयमूल्य अभिवृद्धि कर (०६४-०६७)
निर्णय वर्ष / मिति2080/10/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना | माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश डा. श्री कुमार चुडालको फरक राय
मुद्दा नं.०७७-NF-००३५ | ०७४-LE-००८० | ०६९-LE-०२२६ | ०६९-LE-०२२१ | ०७०-LE-००७७ | ०६९-LE-०२२०
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11344
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्