नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11233 · वि.सं. २०८१
नि.नं. 11233 — अपहरण तथा शरीर बन्धक एवं सङ्गठित अपराध
सिद्धान्त / नजिर सार (Headnote Summary)
अदालतमा अभियोजन भई कारबाहीको चरणमा आइसकेका सङ्गठित अपराधको मुद्दामा प्रमाणको मूल्याङ्कन नै फरकढङ्गले गरिनुपर्ने हुँदा सामूहिक कसुर हो वा सङ्गठित अपराधको कसुर हो भनी निर्क्यौल गर्नु आवश्यक हुने । प्रचलित ऐनको व्यवस्थाले सङ्गठित अपराध र सामूहिक अपराधलाई करिब एकसमान व्यवहार गरेको हुनाले सो सम्बन्धमा अनुसन्धान, अभियोजन र न्याय निरूपणसमेत संवेदनशील हुनुपर्ने । "सङ्गठित अपराध" कुनै निश्चित अपराध होइन, यो जुनसुकै प्रकारको भए पनि गम्भीर प्रकृतिको अपराध हुनुपर्ने । त्यस्तो अपराधमा संलग्न व्यक्तिहरूको सङ्गठनको स्वरूप एक खाले नहुन पनि सक्छ, स्पष्ट अधिकार र कर्तव्य तोकिएका सङ्गठनको सोपान देखिने पनि सक्ने, नदेखिने पनि हुन सक्ने । सङ्गठित अपराधीहरूले एकै मुलुकभित्र रही कार्य गरेको पनि हुन सक्छ वा विभिन्न मुलुकमा छरिएको सञ्जाल पनि हुन सक्ने । यथार्थमा के हेरिनुपर्दछ भने उक्त समूह तत्काल कुनै कसुर गर्न बनेको झुन्ड वा समूह नभई सङ्गठित अपराधीहरूको समूह हुनुपर्दछ । तीन वा सोभन्दा बढी व्यक्तिहरू संलग्न भई कसुर गर्दैमा सङ्गठित समूह भनी यकिन गर्न नसक्ने । सङ्गठित अपराध गरेको भन्नका लागि सङ्गठित वा असङ्गठित (लोओसे नेछुस्) समूहको योजना विद्यमान छ वा छैन भन्ने हेरिनुपर्ने । यस प्रकृतिको अपराधमा योजना बनाइएको छ वा छैन, सङ्गठनको नेतृत्व छ वा छैन, कुनै सरकारी कर्मचारी वा गोपनीयताको रक्षा गरिएको छ वा छैन, खास प्रभावकारी व्यक्तिको संरक्षण छ वा छैन र अपराध गर्नको लागि बनाइएको समूहले आफ्नो लागि भन्दा समूहका लागि काम गरेको देखिन्छ भने त्यस्तो समूहबाट गरिएको अपराधलाई सङ्गठित अपराध मान्नुपर्ने । सङ्गठित अपराध हुनका लागि अपराध गर्नकै लागि बनेको स्थायी संस्थागत संरचनासमेत देखिनुपर्ने । केही व्यक्ति मिलेर अल्पकालीन वा एक पटक मात्र लाभ लिने प्रकृतिको समूहमा कुनै कसुर गरे भन्दैमा सङ्गठित अपराध गरेको मानी त्यस्ता व्यक्तिलाई सङ्गठित अपराधको कसुरदारको श्रेणीमा राख्नु न्यायोचित नदेखिने । (प्रकरण नं। २५) सङ्गठित अपराध निवारण ऐन, २०७० को कानूनी व्यवस्थाबाट अपराधमा तीन वा तीनभन्दा बढी व्यक्तिहरूको संलग्नता हुनासाथ स्वतः सङ्गठित अपराधको कसुर प्रमाणित हुन सक्ने अवस्था नदेखिने । सङ्गठित अपराधको कसुर हुनका लागि आपराधिक समूहको आपराधिक, आर्थिक वा कुनै भौतिक लाभका लागि स्थापित स्थायी संरचनामा आबद्ध तीन वा तीनभन्दा बढी व्यक्तिहरूको समूहद्वारा आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानी जानी कुनै गम्भीर अपराध गरेको तथ्य ठोस प्रमाणबाट पुष्टि हुनुपर्ने । (प्रकरण नं। २६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11233 |
|---|---|
| मुद्दाको विषय | अपहरण तथा शरीर बन्धक एवं सङ्गठित अपराध |
| निर्णय वर्ष / मिति | 2080/03/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11233 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
