नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11158 · वि.सं. २०८०

नि.नं. 11158 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

विनियमावलीले सजायको प्रस्तावसम्म गर्न पाउने अख्तियारी प्रदान गरेको छानबिन अधिकारीले स्पष्टीकरणसमेत सोध्न पाउने भनी अर्थ गर्नु र उनाउ व्यक्ति (छानबिन अधिकारी) ले सोधेको स्पष्टीकरणको सन्तुष्टिमा अधिकारप्राप्त अधिकारीले सजायको निर्णय गर्नु विनियमावलीको व्यवस्थाका साथै प्रशासकीय कानूनको आधारभूत मूल्य मान्यतासमेतको विपरीत हुने । (प्रकरण नं.९) सार्वजनिक कानूनले वा अन्य व्यावसायिक प्रतिष्ठानका नियमावलीहरूले अधिकार प्रदान नगरेको व्यक्ति वा निकायले निर्णय गरेमा वा अधिकारप्राप्त व्यक्ति वा निकायले आफूलाई प्राप्त अधिकारभन्दा बढी अधिकार प्रयोग गरेमा वा कानूनबमोजिम पालना गर्नुपर्ने प्रक्रियाको पालना नगरी निर्णय गरेका वा अधिकारको बदनियतपूर्ण प्रयोग वा दुरूपयोग गरेमा त्यस्तो अधिकारको प्रयोगमा अधिकारक्षेत्रात्मक त्रुटि भएको मानिने र त्यसरी गरिएका निर्णयहरू कानूनको दृष्टिमा मान्य हुन नसक्ने । (प्रकरण नं.१२) विभागीय कारबाहीसम्बन्धी निर्णय अन्य प्रशासकीय निर्णय जस्तो अन्य अधिकारीबाट पेस हुन आएका प्रस्ताव वा टिप्पणीमा यान्त्रिक रूपमा स्वीकृति जनाई गर्न मिल्दैन । विभागीय कारबाहीको निर्णय गर्दा अनिवार्य रूपमा निर्णयको आधार कारण उल्लेख गरेकै हुनुपर्छ । मनासिब कारण उल्लेख नगरी गरिएका निर्णयमा न्यायिक मनको अभाव रहेको मानिन्छ र न्यायिक मनको प्रयोग नगरी गरिएका निर्णयहरूलाई स्वच्छ सुनुवाइसम्बन्धी प्राकृतिक न्यायको सिद्धान्तअनुकूल रहे भएको भनी मान्न मिल्ने अवस्था नरहने । (प्रकरण नं.१७) बैंकको विनियमावलीको विनियम ४७(२) बमोजिम सहायक प्रबन्धक तहका कर्मचारीलाई विभागीय सजाय दिने अधिकार बैंकको सञ्चालक समितिमा देखिएको एवम् ऐ. विनियम ५० बमोजिम निजउपर सजायको निर्णय गर्नुपूर्व सजायको आदेश दिने अधिकारीले नै सफाइको मौका दिनुपर्नेमा विनियम ४८(१) बमोजिम नियुक्त छानबिन अधिकारीले नै स्पष्टीकरण सोधी निवेदकले पेस गरेको जवाफ सन्तोषजनक नभएको भनी निजले नै विभागीय सजायको लागि प्रस्ताव पेस गरी सोही प्रस्तावअनुरूप सञ्चालक समितिबाट निर्णय भएको देखिँदा त्यस्तो निर्णयमा बैंकको विनियमावलीले तोकेको अनिवार्य रूपमा पालना गर्नुपर्ने कार्यविधिको पालना भएको नदेखिएको एवम् सञ्चालक समितिले उक्त निर्णय गर्दा छानबिन अधिकारीले सोधेको स्पष्टीकरणमा आधारित भई न्यायिक मनको प्रयोग नगरी निर्णय गरेको देखिएको । (प्रकरण नं.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11158
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2079/09/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल | माननीय न्यायाधीश डा.श्री कुमार चुडालको रिट निवेदन खारेज हुने भन्ने रायसँग सहमत हुन नसकेकोले अब प्रस्तुत विवादमा सुनुवाइको लागि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम पूर्ण इजलासमा पेस गर्नु भन्नेसमेत माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय । | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाले रिट निवेदन जारी हुने भनी व्यक्त गर्नुभएको रायसँग सहमत हुन नसकेकोले राय फरक परेको हुँदा अब प्रस्तुत निवेदन सुनुवाइको लागि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम पूर्ण इजलाससमक्ष नियमानुसार पेस गर्नु भन्ने माननीय न्यायाधीश डा.श्री कुमार चुडालको राय । | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय मनासिब देखिँदा सदर हुन्छ । प्रस्तुत फैसलाको जानकारी विपक्षीहरूलाई दिनू । फैसलाको विद्युतीय प्रति यस अदालतको मुद्दा व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
मुद्दा नं.०७८-WF-०१३०
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11158
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्