नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11063 · वि.सं. २०८०
नि.नं. 11063 — अदालतको अवहेलना
सिद्धान्त / नजिर सार (Headnote Summary)
न्याय प्रशासन सञ्चालन गरी निष्पक्ष न्याय प्रदान गर्नु अदालतको प्रमुख कार्य भएको तथा विधिको शासनसहितको कानूनी राज्यमा न्यायको सेवा प्रवाहमा अदालती कार्य तथा प्रक्रियामा अवाञ्छित हस्तक्षेप गर्ने, अदालत वा न्यायिक निकाय साथै न्यायिक प्रकियामा संलग्न व्यक्तिउपर आक्रमण गर्ने वा अदालतप्रतिको जनआस्थामा गम्भीर रूपमा आँच आउने कुनै कार्य गर्ने, अदालतको आदेश वा फैसलाको अवज्ञा गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध गर्ने जस्ता कार्यलाई अदालतको अवहेलनाजन्य कार्य मानिने । अदालतको अवहेलनाको विधिशास्त्रको विकासक्रमदेखि हेर्दा प्रारम्भिक चरणदेखि नै न्यायाधीश, कर्मचारी, कानून व्यवसायी तथा साक्षीउपर आक्रमण गर्ने तथा उनीहरूले गरेको कार्यमा कुनै व्यक्तिबाट शारीरिक उपस्थितिमा प्रतिरोध गर्ने, जथाभावी बोल्ने कार्य आदिलाई अवहेलना मानिन्छ भने हालको विधिको शासनसहितको कानूनी राज्यमा सभ्य र शान्तिपूर्ण तरिकाबाट सभ्यभाव शैलीमा अदालतको आदेश, फैसला वा न्यायिक गतिविधिबारे आफ्नो विचार तथा अभिव्यक्ति राख्न पाउने स्वतन्त्रताको उपभोग गर्नुलाई अदालतको अवहेलना गरेको मान्न नमिल्ने । (प्रकरण नं. ५) अदालतको अपहेलना सम्बन्धमा निर्णय गर्न अदालत स्वयम्लाई स्वविवेकीय अधिकार प्रदान गरिएको र सोहीबमोजिम के कस्तो कार्यले अदालतको अपहेलना हुन्छ भन्ने विषयको निर्क्यौल फरकफरक विवादको विषयवस्तु र परिस्थितिअनुसार अदालत स्वयंले गर्नुपर्ने । (प्रकरण नं. ६) अदालतबाट फैसला तथा आदेश आफ्नो अनुकूल वा प्रतिकूल जुनसुकै प्रकारको आए पनि अदालतको मान मर्यादा प्रतिष्ठा एवं जनआस्थामा आँच आउने खालको हुने कुनै कठोर टीकाटिप्पणी गर्नु, स्वस्थ र मर्यादित लोकतान्त्रिक समाजको विकासको लागि शोभनीय नहुने । अदालतलाई कमजोर बनाएर लोकतान्त्रिक शासन वा व्यक्तिका हक अधिकारको प्रभावकारी संरक्षण हुन नसक्ने । सस्ता र छिछरा टिप्पणी गरेर अदालतलाई जनताको नजरमा अविश्वसनीय बनाउँदा समग्र राज्यको न्याय व्यवस्था नै अविश्वासनीय हुने । यस्तो कार्यको असर संवैधानिक शासन व्यवस्थाप्रतिको जनविश्वासमा पर्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11063 |
|---|---|
| मुद्दाको विषय | अदालतको अवहेलना |
| निर्णय वर्ष / मिति | 2079/09/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री नहकुल सुवेदी |
| मुद्दा नं. | ०७४-MS-०००३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11063 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
