नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11043 · वि.सं. २०८०
नि.नं. 11043 — लिलाम लिखत बदरसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
जमानीको सिद्धान्तअनुसार मुख्य कारणीले तिर्नुपर्ने ऋण निजबाट असुलउपर नभएमा वा वहन गर्नुपर्ने दायित्व निजले पूरा गर्न नसकेमा जमानतकर्ताले कबुल गरेको रकम निजले लेखिदिएको सुरक्षणबाट असुलउपर गरी दायित्व वहन गराइने हो । यसरी जमानतकर्ताको दायित्व असीमित हुने नभई जमानी बसेको अङ्कसम्ममा सीमित हुने । जमानीकर्ताले आफूले कबुल गरेको रकम तिरे बुझाएमा सोबापत निजले सुरक्षणको रूपमा दिएको धितो फरफारक हुने । (प्रकरण नं. ५) ऋण लिनु र जमानत दिनु फरकफरक कार्यहरू हुन् । ऋण व्यक्ति स्वयंले आफ्नो प्रयोजनको लागि लिने नगद हो जसको प्रत्यक्ष लाभ निज ऋणी स्वयंले मात्र प्राप्त गर्ने हुन्छ । जमानतकर्ता ऋणी र ऋण प्रदान गर्ने निकायले लेनदेन गरेको कारोबारको जिम्मेवार साक्षी मात्र हो जो ऋणीले ऋण नतिरेको अवस्थामा मात्र सो कारोबारमा निजको दायित्व सिर्जना हुन्छ । ऋणको प्रत्यक्ष लाभ जमानतकर्ताले नपाउन सक्छ । जमानतकर्ता ऋण लेनदेन गर्ने कार्यमा सघाउने विश्वासको माध्यमको रूपमा मात्र रहेको हुन्छ । ऋणको सम्बन्धमा प्रथम दायित्व ऋणीको नै हुने । कारणवश त्यस्तो दायित्व ऋणीले पूरा गर्न सकेन र ऋणीको सम्पूर्ण जायजेथा लिलाम बिक्री गर्दा पनि संस्थाको कर्जा असुलउपर भएन भने जमानतकर्ताले गरेको कबोलबमोजिमको ऋणको दायित्व निज जमानीकर्तामा सर्ने । (प्रकरण नं. ६) कोही कसैको सम्पत्तिको लिलाम हुँदै छ भने त्यस्तो कार्यको जानकारी सम्पत्ति धनीलाई दिनु पनि सम्बन्धित संस्थाको कर्तव्य हुने । त्यस्तो सूचना पाउनु जग्गाधनीको प्राकृतिक अधिकार पनि हुने । कुनै ऋणबापतको जमानत लिँदैमा आफ्नो जग्गा के कसरी, के कारणले, के कति रकममा लिलामी भयो भन्ने सम्बन्धमा जग्गा धनीले जानकारी नै नपाउने कार्य आधुनिक न्याय प्रणालीअनुकूल भएको मान्न नमिल्ने । आफ्नो स्वामित्वको जग्गा लिलाम हुन लागेको अवस्थामा जमानत रकम तिर्ने वा सो जग्गालाई आफ्नो स्वामित्वमै राख्नका लागि व्यक्तिले सकेसम्मका वैकल्पिक उपायहरू अपनाउन सक्ने तथ्यलाई नजरअन्दाज गर्न नसकिने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11043 |
|---|---|
| मुद्दाको विषय | लिलाम लिखत बदरसमेत |
| निर्णय वर्ष / मिति | 2079/03/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७४-CI-०६०९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11043 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
