नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10777 · वि.सं. २०७८
नि.नं. 10777 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
घर निर्माण भई बजार नै बनेको लामो समयसमेत बितिसकेको स्थितिमा र संविधानले नै प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने कुराको प्रत्याभूति गरेको अवस्था छ भने सडक विस्तारको क्रममा घर भत्काउनुपर्ने भएमा यो कुरालाई मानवीय दृष्टिबाट हेर्नुपर्ने हुन्छ । बनिरहेको आवासबाट हटाउँदा नेपालको संविधानको धारा ३७ (२) ले “कानूनबमोजिम मात्र” हटाउन सकिने भएबाट यो प्रत्याभूतिले कानूनको उचित प्रक्रिया खोज्छ । यस्तोमा निर्मित आवास वैध किसिमबाट बनेको हो वा अनधिकृत रूपमा बनेको हो भन्ने कुरा अवश्य पनि सान्दर्भिक हुन्छ । तर, जब राज्यले नै धारा ३७ को उपधारा (१) बमोजिम उपयुक्त आवास प्रदान गर्ने दायित्व वहन गर्नुपर्छ भने उसले बसिरहेको आवासवाट हटाउन सक्छ भनी अर्थ गर्नु न्यायपूर्ण नहुने । विकास निर्माणको क्रममा हुने विस्थापनको विषयमा उपर्युक्त कुराको सान्दर्भिक अर्थ विकास निर्माणमा विस्थापनलाई न्यूनतम गरिनुपर्ने र कमभन्दा कम व्यक्तिहरूलाई क्षतिपुग्ने गरी विकास निर्माणका कार्यहरू गरिनुपर्छ भन्ने हुन्छ । विकास निर्माणका कार्यको लागि व्यक्तिको सम्पत्ति प्राप्त गर्दा प्रचलित ऐन कानूनले दिएको अख्तियारी वा कानूनले निर्दिष्ट गरेको मापदण्ड पालन गर्दै व्यक्तिको भौतिक सम्पत्तिको क्षति नहुने वा न्यूनतम क्षति हुने गरी योजना बनाउनुपर्दछ । विकल्पविहीन अवस्थामा बाहेक व्यक्तिको आवासको सुरक्षालाई असर पर्ने गरी कुनै कार्य गर्नु हुँदैन । यदि व्यक्तिको भौतिक सम्पत्तिमा क्षति पुग्ने भएमा त्यसको उचित र पर्याप्त क्षतिपूर्ति दिएर मात्र विकास निर्माणको कार्य गर्नुपर्ने हुन्छ, जहाँ कानूनी हक बन्दैन अर्थात्, कानूनको आधारमा व्यक्तिको दाबी लाग्ने अवस्था छैन त्यहाँ मानवीयताले सरकारी निर्णयहरूलाई निर्देश गर्नुपर्ने । (प्रकरण नं.१२) कुन सडक वा राजमार्ग कताबाट लैजाने, कति चौडा वा कुन गुणस्तरको बनाउने भन्ने विषयमा सडकको दुरी, यसले पुर्याउने सेवा, सवारी चाप, शहरीकरणको स्थिति आदिले अनेकौं प्राविधिक प्रश्नहरू सन्निहित हुन्छन् । यी प्रश्नहरूको निरूपण न्यायिक रूपले व्यवस्थापन गरिने मापदण्ड (judicially manageable standard) भित्रको विषय नरहने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10777 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2078/08/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ |
| मुद्दा नं. | ०७३-WO-०७१६ | ०७३-WO-०६८३ | ०७२-WO-६०४ | ०७५-WO-१३५४ | ०७३-WF-०००३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10777 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
