नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10731 · वि.सं. २०७८
नि.नं. 10731 — ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. को व्यवस्थाले ज्यान मार्ने मनसायले जुनसुकै कार्य गरेको भनी ऐनमा उल्लेख भएबाट नै गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने देखीबाहेक अन्य रीतसँग पनि मानिस मार्ने कार्य हुन सक्दछ भन्ने विधायिकी मनसाय रहेको देखिन्छ । ऐनमा भएको “... मार्नको लागि अरू जुनसुकै कुराको उद्योग गरी” भन्ने बेहोरा उल्लेख भएबाट नै यसको दायरा फराकिलो रहेको स्पष्ट छ । तसर्थ, एसिड प्रहार भन्ने शब्द ऐनमा नपरेकै कारणबाट यसलाई ज्यान मार्ने उद्योगको कसुरअन्तर्गत पर्दैन भन्नु न्याय र कानूनसम्मत नदेखिने । ज्यान मार्ने उद्योगको कसुर हुनको लागि ज्यान मार्ने मनसायले गोली चलाएको वा बम हानेको वा घातक हतियारले काटेको वा मार्नका लागि अरू जुनसुकै कार्य गरेको भनी स्पष्ट उल्लेख भएबाट अब एसिड प्रहार सम्बन्धमा ज्यानसम्बन्धी १५ नं.मा कहीँकतै उल्लेख नगरिएको हुँदा एसिड प्रहारको कार्य ज्यान मार्ने उद्योगको कसुरअन्तर्गत पर्दैन भनी मान्न नमिल्ने । (प्रकरण नं.५) एसिड आक्रमणका कारण पीडितमाथि पर्ने जीवनपर्यन्तको गम्भीर शारीरिक र मानसिक क्षतिलाई हेर्दा यसलाई अक्षम्य, असभ्य र हृदयविहीन व्यक्तिले घटाउने अपराध मान्नुपर्दछ । समयमा उपचार नपाएमा ज्यानै जान सक्ने एसिड आक्रमणको घटनाबाट बाँचेका व्यक्तिहरू बाँकी जीवन लज्जा, अपहेलना र भेदभावपूर्ण व्यवहारको बिच बाँचेका छैनन् भनी भन्न नसकिने हुँदा एउटा व्यक्तिको समग्र भविष्यलाई नराम्रोसँग असर पारी असामान्य चरम पीडाको अवस्थामा पुर्याउने एसिड आक्रमणका कसुरदारलाई क्रुरताकै रूपमा मान्नुपर्दछ । सामान्य जीवन बाँचेको व्यक्तिलाई आफैँले चिन्न नसक्ने अवस्थामा पुर्याई उसको हत्या गर्ने वा आत्मसम्मान र मनोबल नै खस्किने गरी कुत्सित मनसायका साथ घटाइने एसिड आक्रमणका घटनाले मूलतः भर्खरै नयाँ भविष्यको मार्गमा अघि बढिरहेका कैयौं युवतीहरूको जीवन क्षत विक्षत बनाएको पाइन्छ । तसर्थ, दोषी व्यक्ति कानूनले तोकेको उच्चतम सजायको भागी हुन योग्य मानिनुपर्ने । (प्रकरण नं.६) योजनावद्ध रूपमा पूर्वतयारीका साथ मनसायप्रेरित आपराधिक कार्यको प्रकृतिअनुसार तत्काल प्रभावकारी उपचार उपलब्ध नभएको भए पीडितको ज्यान जाने अवस्था सिर्जना हुन्छ भने त्यहाँ ज्यान मार्ने उद्योग कसुर कायम गर्न तेस्रो बाहिरी अप्रत्यासित हस्तक्षेपको कारणले ज्यान मर्न नपाएको भनी दाबी लिने अवस्था नदेखिने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10731 |
|---|---|
| मुद्दाको विषय | ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2078/03/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे | माननीय न्यायाधीश श्री शान्तिसिंह थापा |
| मुद्दा नं. | ०७४-CR-०५०३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10731 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
