नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10674 · वि.सं. २०७८
नि.नं. 10674 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि शिक्षक कर्मचारी बिदा स्वीकृत नगराई विद्यालयमा अनुपस्थित भएमा सो अवधिको तलब भत्ता नपाउने भन्ने व्यवस्था सेवा विधिशास्त्र (Service Jurisprudence) को आधारभूत मान्यता हो । तर यस्ता व्यवस्थालाई कठोर तरिकाले नहेरी परिस्थिति र अवस्थाको आधारमा हेरिनुपर्ने । कुन अवस्था, घटना वा परिस्थितिको कारणले व्यक्ति कार्यस्थलमा अनुपस्थित हुनुपरेको हो सो परिस्थितिलाई विवेकपूर्ण ढङ्गबाट न्यायको रोहमा विवेचना गर्नुपर्ने । कुनै मुद्दा चली थुनामा रहेको वा फौजदारी अभियोगको कारण निलम्बन भई विद्यालयमा उपस्थित हुन नसकेको अवस्थालाई सामान्य अवस्थामा जस्तो गरी बिदा स्वीकृत नगराई विद्यालयमा अनुपस्थित भएको भन्ने अर्थ गर्न र No work no pay को विधिशास्त्र लागु गर्न मिल्ने नदेखिने । विभागीय कारबाहीको प्रक्रिया वा फौजदारी अभियोगका कारण निलम्बनमा रहेको व्यक्तिले बिदा स्वीकृत गराउने भन्ने प्रश्न नै नरहने भएकाले यस सम्बन्धमा छुट्टै तरिकाले सम्बोधन गरिनुपर्ने । (प्रकरण नं.३) नैतिक पतन देखिने फौजदारी अभियोगमा थुनामा रहेको शिक्षक सो अवधिभर स्वत: निलम्बन भई निजले उक्त अवधिको तलब भत्ता नपाउने तर त्यस्तो अभियोगबाट सफाइ पाएमा निलम्बन समाप्त भएको आफ्नो पदमा पुनः स्थापित हुने र पूरै तलब पाउने नै बुझ्नुपर्ने । (प्रकरण नं.४) शिक्षा नियमावली, २०५९ को नियम १४१ को प्रतिबन्धात्मक वाक्यांशको रूपमा अभियोग प्रमाणित नभएमा पूरै तलब पाउने भन्ने वाक्यांशले त्यस्तो अभियोगबाट सफाइ पाउने शिक्षकको हकमा सो अवधिको तलब पाउन सक्ने भन्ने अर्थ गर्नुपर्ने । विभागीय सजायबाट निलम्बन फुकुवा भएका शिक्षकले तलब पाउने फौजदारी अभियोगबाट सफाइ पाएकाले नपाउने भन्ने कानूनको परिकल्पना हो भनी मान्न नसकिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10674 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2078/05/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री नहकुल सुवेदी |
| मुद्दा नं. | ०७७-WF-०००४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10674 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
