नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10316 · वि.सं. २०७६
नि.नं. 10316 — निर्णय बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
अमुक व्यक्ति वा पदाधिकारी जरिवानाको भागीदार छ वा छैन भनी हेर्दा उसले कानून उल्लङ्घन गर्ने नियत राखेको थियो वा थिएन, बेइमानी गरिएको थियो वा थिएन भन्ने होइन कि यथार्थमा कानूनको उल्लङ्घन भएको थियो वा थिएन, यसको प्रभाव कति गम्भीर छ भन्नेसम्म हेरी जरिवाना तोकिने । नियामक निकायले पारदर्शीरूपबाट अमुक व्यक्तिले के गरेको हो भन्ने जान्न खोजेको छ; अनुगमन वा निरीक्षणमा देखिएका कुराबारे सम्बन्धित व्यक्तिलाई आफ्नो कुरा भन्ने मौका दिएको छ; निर्णय र सोमार्फत प्राप्त गर्न खोजिएको परिणामबिच तर्कसङ्गतता छ र तथ्यको विश्लेषण र निष्कर्षलाई अभिलेखीकरण गरिएको छ भने त्यसले प्रशासनिक मौद्रिक जरिवाना (Administrative Monetary Penalty) को उद्देश्य पूरा गरेको मानिन्छ । ती सर्तहरू पूरा भएको स्थितिमा निर्णय टिप्पणीबाट गरियो वा न्यायिक निकायबाट गरिने जस्तो फैसलाको ढाँचामा निर्णय लेखिएन भन्ने कुराहरू गौण रहने । (प्रकरण नं.९) कुनै बैंकको जिम्मेवारी लिने सञ्चालक, प्रबन्ध निर्देशक वा अध्यक्ष तथा व्यवस्थापकहरूले विश्वासको हैसियतमा काम गर्नुपर्छ । उनीहरूले विभिन्न हैसियतमा काम गर्दा अवस्थाअनुसार आर्थिक सुविधा, तलब भत्ता आदि लिने भए तापनि उनीहरूको हैसियत नियमित कर्मचारीको भन्दा पृथक र मूलतः न्यासी (Trustee) को हुन्छ । कार्यकारी तहको कुनै पनि पदमा बस्ने व्यक्तिले निक्षेपकर्ता र साधारण सेयरधनीहरूप्रति परम विश्वासको कर्तव्य (Fiduciary duty) राख्दछन् । यसलाई व्यक्तिगत अधिकार र कर्तव्यभन्दा केही पृथक दृष्टिबाट हेर्नुपर्ने । (प्रकरण नं.१०) पुनरावेदनको अधिकार क्षेत्रमार्फत हेर्दा तथ्य र कानून दुवै विषयमा पसी निर्णय जाँच्न मिल्छ । पुनरावेदनको व्यवस्था राखिएकोसम्म कारणले नियामक निकायद्वारा नियमनको पालना गराउन प्रदान गरिएको अधिकार र सो अधिकार प्रयोग गरी भए गरेको कारबाही र सजायको प्रकृति परिवर्तन हुन नजाने भएकोले नियामक निकायद्वारा कारबाही गरिएको यो विषयलाई परम्परागत न्यायिक नजरबाट हेर्नु वाञ्छनीय नहुने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10316 |
|---|---|
| मुद्दाको विषय | निर्णय बदर |
| निर्णय वर्ष / मिति | 2076/05/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०६७-CI-१५२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10316 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
