नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10138 · वि.सं. २०७५
नि.नं. 10138 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
मध्यस्थ नियुक्तिको लागि सम्बन्धित करारीय सम्झौतामा वा छुट्टै सम्झौतामा पक्षहरूबीच आपसी सहमति भएको हुनुपर्दछ र सोही सम्झौतामा उल्लेख भएको कानून तथा कार्यविधिबमोजिम मध्यस्थ नियुक्त भएर निर्णय भएको हुनुपर्दछ । यो नै विदेशी मध्यस्थताको निर्णयले मान्यता पाउने वा नपाउने भन्ने बारेको मुख्य सर्त हुने । (प्रकरण नं.३) मूल करारको भागकै रूपमा रहेको भएपनि Dispute Resolution Clause लाई एक अलग्गै करार मानिन्छ, जसलाई Doctrine of Severability भनिन्छ । यस सिद्धान्तअनुसार मुख्य करारबाट मध्यस्थतासम्बन्धी व्यवस्थालाई अलग मानेको कारणबाट दुईवटा परिणाम आउने देखिन्छ । पहिलो, मूल करारको Status ले मध्यस्थसम्बन्धी विषयलाई प्रभावित नगर्ने । दोस्रो, मध्यस्थसम्बन्धी Governing Law मूल करारको Governing Law भन्दा अलग हुन सक्ने । (प्रकरण नं.४) मूल करारको अंशकै रूपमा रहेको भएपनि Arbitration Clause एक अलग सम्झौता मानिने र मध्यस्थको प्रयोजनको लागि यसमा प्रयोग हुने सारवान् कानून र कार्यविधि कानून कुन देशको हुने भन्ने कुरा पक्षको इच्छामा निहित हुने विषय भएको सन्दर्भमा पक्षहरूले करारको सारवान् विषयमा कुनै देशको कानून प्रयोग हुने गरी छनौट गरेको कारणबाट मात्र त्यसको कार्यविधि कानून र नियुक्ति प्रक्रियासमेत सोही देशको नै छानेका हुन् भनी अर्थ गर्नुपर्ने देखिँदैन । यस आधारमा पक्षहरूबीच भएको करारको दफा १० मा Contract shall be Governed by Korean Law भनी उल्लेख भएकै कारणबाट मध्यस्थ नियुक्तिलगायत कार्यविधिहरूको सम्बन्धमा कोरियन कानून लागू हुन्छ भनी मान्न मिल्ने नदेखिने । (प्रकरण नं.७) Korean Arbitration Act को Article 8 र मध्यस्थता ऐन, २०५५ को दफा २(क) को स्पष्टीकरण (२) मा मध्यस्थहरूलाई विवाद सुम्पने गरी पक्षहरूबीच आदान प्रदान भएको पत्र, टेलेक्स, टेलिग्राफ, टेली फ्याक्स वा लिखित अभिलेख रहन सक्ने त्यस्तै प्रकृतिको दुरसञ्चार माध्यमहरूलाई पनि मध्यस्थलाई विवाद सुम्पने लिखित सहमति भएको मानिने व्यवस्था भएकोमा यसमा विपक्षी कम्पनीसँग उपर्युक्त सञ्चार माध्यमबाट पनि मध्यस्थहरूलाई विवाद सुम्पने गरी कुनै कुरा आदानप्रदान भएको नदेखिने । (प्रकरण नं.११) पक्षहरूबीचमा मध्यस्थताको नियुक्ति र कार्यविधि सम्बन्धमा कुनै सहमति नै नभएको अवस्थामा एक पक्षले दिएको निवेदनका आधारमा Korean Commercial Arbitration Board ले मध्यस्थ नियुक्ति गरेको र मध्यस्थले आफ्नै किसिमको कार्यविधि अपनाएको अवस्थालाई माथि उल्लेख भएअनुसार आपसी सहमति हुनुपर्ने मध्यस्थताको सैद्धान्तिक आधार र कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा समेत मिलेको मान्न सकिने नदेखिने । (प्रकरण नं.१२) करारीय सम्झौतामा ‘मध्यस्थताबाट विवाद समाधान नभएसम्म’ भन्ने वाक्यांश उल्लेख भएकोले उक्त करारीय दायित्वको विषयलाई मध्यस्थताबाट समाधान गर्न पक्षहरूबीचमा करार हुँदा नै सहमति भएको मान्नु पर्ने हुन्छ । यसरी पक्षहरूले करारका सम्बन्धमा विवाद उठेमा त्यसको समाधान मध्यस्थताबाट गर्ने भन्नेसम्म उल्लेख भए पनि यसमा मध्यस्थताको नियुक्तिको प्रक्रिया, संख्या, लागू हुने कानून मध्यस्थताको कार्यविधि वा अन्य सान्दर्भिक कुनै कुरा पनि उल्लेख भएको नपाइने । (प्रकरण नं.१३) आपसी समझदारीमा सद्नियतपूर्वक विवाद समाधान गर्नुपर्ने व्यवस्था करारमा उल्लेख गर्नुको अर्थ सोअनुसारको कार्य हुनुपर्दछ वा सोको लागि प्रयास भएको थियो भन्ने स्पष्ट देखिनु अनिवार्य हुन्छ । अन्यथा सो प्रावधान राख्नुको औचित्य नहुने । मध्यस्थको अधिकारको मूल स्रोत नै पक्षहरूबीचमा भएको सहमति हो । पक्षहरूको बीचमा भएको करारले आपसी समझदारीमा विवाद समाधान गर्ने व्यवस्था गरेकोमा त्यसतर्फ प्रयास नै नगरी मध्यस्थताको प्रक्रिया अवलम्बन गर्नु र सोतर्फ ध्यान नपुर्याई निर्णय गर्नुबाट स्पष्ट रूपमा पक्षहरूको मनसाय र Amicable Settlement Clause विपरीत अपरिपक्व (Premature) अवस्थामा निर्णय भएको देखिन आउने । (प्रकरण नं.१४) एकपटक दिएको र पाएको सूचना सबै कार्यको लागि पर्याप्त हुँदैन । कानूनले तोकेको अलग कार्यको लागि अलग अलग नै सूचना दिनुपर्ने हुन्छ । एउटा कार्यका लागि पनि सूचना दिन छुट गरी गरेको निर्णयले कानूनी मान्यता पाउँदैन । सुनुवाइको पर्याप्त मौका नपाई भएको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने हुँदा कार्यान्वयनयोग्य मान्न नसकिने । (प्रकरण नं.१७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10138 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2074/09/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान |
| मुद्दा नं. | ०६७-WO-०४१९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10138 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
