नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10109 · वि.सं. २०७५
नि.नं. 10109 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
वातावरण संरक्षणको विषय निवेदकको सामान्य जिज्ञासा र चासोको विषय मात्र होइन । यसप्रकारको सार्वजनिक विषयमा रिट निवेदन दिन निवेदकलाई हकदैया रहे भएको नै देखियो । फोहोरमैलाको व्यवस्थापन र वातावरण संरक्षण कुनै राष्ट्रको सीमा वा परिधिभन्दा परको आवश्यकतासँग सम्बन्धित छ । यस्तो बहुआयामिक साझा सरोकारको विषयलाई हकदैया र सरोकारको सीमामा संकुचित राख्नु पनि उचित नहुने । (प्रकरण नं.२) स्वच्छ, स्वस्थ वातावरण मानव जीवनको अभिन्न तथा समग्रताको अंग हो । वातावरण बिग्रन गयो भने यसको प्रत्यक्ष प्रभाव र असर मानव जीवन, वनस्पति तथा पशुपंक्षीमा पर्दछ । मानवको बाँच्ने अधिकारभित्र स्वच्छ स्वस्थ वातवारणको हक पनि अन्तरनिहित रहेको हुँदा बिग्रँदै गएको वातावरण संरक्षणका लागि आज विश्व नै चिन्तित रहेको पाइने । (प्रकरण नं.४) वातावरण र जैविक विविधताको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूलाई नेपालले स्वीकार गरी सकेको स्थितिमा त्यस्ता सन्धिजनित अन्तर्राष्ट्रिय कानूनले व्यवस्था गरेका प्रावधानहरूलाई सम्मान गर्नु (Obligation to Respect), संरक्षण गर्नु (Obligation to Protect) र परिपालना (Obligation to Fulfill) गर्नुपर्ने दायित्व नेपालको पनि रहेको छ । अत: नेपाल सरकार अख्तियार प्राप्त निकायहरूले वातावरण संरक्षणका लागि कानूनसम्मत विधिको अवलम्बन गरी वातावरण क्षय गर्ने उद्योगलाई चेतावनी दिने वा प्रतिबन्ध लगाउन सक्ने भन्ने देखिन आउने । (प्रकरण नं.१०) धुवाँ, धुलो, ध्वनि, फोहोरमैला, प्रदूषित वातावरण र दुर्गन्धित स्थानमा नागरिकले सम्मानपूर्वक बाँच्न सक्ने अवस्था रहँदैन । सम्मानपूर्वक बाँच्न स्वच्छ, सफा पर्यावरणको नितान्त आवश्यक पर्दछ । स्वच्छ र सुन्दर पर्यावरण अन्तरपुस्तामा हस्तान्तरण गर्न वातावरण संरक्षणमा विशेष पहल गर्नुपर्ने देखिन्छ । काठमाडौं उपत्यकामा विभिन्न क्षेत्रबाट उत्पन्न हुने फोहोरमैलालाई जैविक मल बनाउने वा दीर्घकालीन (Long Lasting) विसर्जन गर्ने उपाय सरकारले खोज्नु पर्ने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10109 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2073/12/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत |
| मुद्दा नं. | ०७२-WO-०७९२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10109 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
