नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10043 · वि.सं. २०७५
नि.नं. 10043 — सवारी ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
सामान्य अर्थमा लापरवाहीपूर्ण कार्य (Reckless Conduct) त्यस्तो कार्य हो जसले परिणामलाई बेवास्ता गर्छ । अर्थात्, आफ्नो कार्यको परिणाम यस्तो हुनसक्छ भन्ने जान्दाजान्दै पनि त्यस्तो कार्य नगर्नुपर्ने सकारात्मक दायित्वको उल्लङ्घन गर्छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) मा लापरवाहीको अतिरिक्त “जानीजानी" भन्ने शब्द प्रयोग भएको छ । यसको व्याख्या पनि लापरवाहीसँग जोडेर गर्नुपर्ने हुन्छ किनभने यहाँ "जानीजानी" को अर्थ सो कार्यले ल्याउन सक्ने परिणामको सम्भावनाबारे ज्ञान भएको भन्नेसम्म हो । यस अर्थमा दफा १६१ को उपदफा (१) मा उल्लिखित मनसायपूर्ण कार्यमा सन्निहित ज्ञानबाट उक्त उपदफा (२) मा प्रयुक्त “जानी जानी” भन्ने शब्दलार्इ छुट्याउनुपर्ने हुन्छ । ऐ. दफाको उपदफा (१) मा “ज्यान मार्ने मनसाय लिई किची, ठक्कर दिई वा दुर्घटना गराई” भन्ने शब्दावली प्रयोग भएको छ । यहाँ ज्यान मार्ने मनसाय लिर्इ किच्दा, ठक्कर दिँदा वा दुर्घटना गराउँदा ज्यान मर्न सक्छ भन्ने कुराको ज्ञान त्यस्तो दुर्घटना गराउने व्यक्तिलाई हुन्छ । अर्थात् त्यस्तो हुन्छ भन्ने “जानीजानी” उसले ती कार्यहरू गरेको हुन्छ । त्यस अर्थमा ज्ञान (Knowledge) मनसायपूर्वक गरिने ज्यानसम्बन्धी कसुरको एक तत्त्व हुन सक्छ तर लापरवाहीमा भने त्यो ज्ञान अर्थात् “जानीजानी” गरिने कार्य लापरवाहीकै अङ्ग हुने । (प्रकरण नं.४) सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) मा लापरवाही (Recklessness) भन्ने शब्द प्रयोग भएको छ भने उपदफा (३) मा जानी जानी वा लापरवाही गरी भन्ने शब्दहरू प्रयोग गरिएको छैन । बरू “कसैको ज्यान मर्न सक्ने नदेखिएको” अवस्थाबारे चित्रण गरिएको छ । तर उपदफा (३) को अवस्था पनि दोषरहित दुर्घटना (Blameless Accident or Misfortune) को अवस्था होइन । यस उपदफाअन्तर्गत हुने दुर्घटना दोषपूर्ण नै हुन्छ । ऐनले यस्तो कार्यलार्इ दोषपूर्ण मानेको कारण उक्त उपदफामा हेलचक्र्यार्इं भन्ने शब्द प्रयोग नभए तापनि यहाँ सवारी चालकको कार्यलाई हेलचक्र्याईंपूर्ण (negligent) मानिएको रहेछ भनी अर्थ गर्नुपर्ने हुन्छ । वस्तुत: कानूनले सवारी चालकलाई कुनै कर्तव्य (positive Duty) तोकेको छ र सो कर्तव्य उसले पूरा गर्दैन भने उसको कार्य हेलचक्र्याईंपूर्ण नै हुन्छ । यस्तो हेलचक्र्याईंपूर्ण कार्यको परिणामस्वरूप देवानी वा फौजदारी दायित्व सृजना हुन सक्ने । (प्रकरण नं.५) अन्य व्यक्तिको जिउमा जोखिम पार्ने हक कसैलार्इ हुँदैन । त्यसैले कसैसँग अमूक साधन चलाउने सवारी अनुमतिपत्र छैन भने त्यसको सोझो अर्थ उसँग सो सवारी साधन चलाउने आवश्यक ज्ञान र सीप छैन भन्ने नै हुन्छ । कानूनको पनि त्यही अनुमान रहन्छ । त्यसै कारणले गर्दा सवारी चलाउने अनुमतिपत्रको व्यवस्थालार्इ ऐच्छिक नबनार्इ अनिवार्य बनाइएको पाइने । (प्रकरण नं.७) सवारीसम्बन्धी कानूनको प्रथम एवं प्रमुख उद्देश्य व्यक्ति वा समुदायको सुरक्षा गर्नु हो । मानव जीवनलाई असुरक्षित बनाउने अधिकार कसैमा हुँदैन । यदि एक व्यक्तिलाई कानूनको उल्लङ्घन गर्न निरूत्साहित गरेर सामाजिक सुरक्षा प्रवर्द्धन गर्न सकिन्छ भने कानूनको सोही नै अर्थ गरिनुपर्छ । न्यायले पनि सामाजिक सुरक्षाको नै प्रवर्द्धन गर्ने हो र सो गर्नुपर्ने । (प्रकरण नं.८) सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१(४) मा प्रयुक्त "थप दुई हजार जरिवाना" हुनेछ भन्ने व्यवस्थाको स्पष्ट अर्थ लापरवाही स्थितिमा दफा १६१(२) बमोजिम हुने सजायमा यो थप सजाय हुने भन्ने नै हो । दफा १६१ को उपदफा (२) को कसुरसँग जोडिदिनुको अर्थ उक्त उपदफाहरू अन्तर्गत सवारी साधनको प्रयोग गरी लापरवाही साथमा गरिने कसुर पहिलो कसुर हो र अनुमतिपत्र नहुने कसुर दोस्रो कसुर (Double Count offence) हुने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10043 |
|---|---|
| मुद्दाको विषय | सवारी ज्यान |
| निर्णय वर्ष / मिति | 2074/08/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टरार्इ | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री हरिप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाको राय |
| मुद्दा नं. | ०७३-CF-०००७ | ०७३-CF-०००१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10043 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
