नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 100 · वि.सं. २०१७
नि.नं. 100 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अपहत्या गरी मर्नु एउटा असाधारण कुरा । ठूलो मानसिक स्थिति नियन्त्रणमा नरहेको अवस्था वा शारिरीक वेदना वा चोट परेमा मात्र सम्भव । मर्ने व्यक्ति धुलीखेल बस्ने साहु रेशमलालको छोरा जनकलाल हो भन्ने कुरा निर्विवाद छ । लास पनि फेला परेकै छ । अब विचार गर्नुपर्ने मुख्य कुरा जनकलालको लास रानी पोखरीमा पाइयो । कर्तव्यबाट मरेको हो वा आफैं आई हामफाली मरेको के हो ? पहिले लास फेला पारेको १३ साल जेष्ठ ७ गतेका दिन रानी पोखरीमा भएको मौका तहकिकात लासजाँच मुचुल्का हेरौं । दुबै आँखा केही खुलेको, दुबै गोडा खुम्चिएको, मुखबाट पानी निस्केको, हातगोडा धारीईमारी परेको, दुबै हातको मुठी केही खुलेका शरीरमा कतै घाउ चोटपटक केही नदेखिएको । लास देखाई सोद्धा कर्तव्यको शंका सम्म पनि नगरी आफैं अपहत्या गरी मरेको जस्तो लाग्छ भन्ने भोटाहिटी बस्ने मोहनलाल कुसुले, चिकंमुगल बस्ने रामबहादुर रंजितकार र वानेश्वर व्यारेक बस्ने सि. केन्तबहादुर समेत ९ जना र हाम्फाली मरेको हो भनी किटान गरी बक्ने प्याफल टोल बस्ने नारन भक्त श्रेष्ठसमेत ६ जना र मलाई काटी भाग्ने यही हो । काटी मार्न नसकेकोले पक्राउमा परिन्छ भन्ने डर र त्रासले यहाँ आई हाम्फाली मरेछ भन्ने इन्द्रचोक बस्ने प्यारेलालको भनाई भएको र मानिस केही बाह्रमासे खेल्ने धनी भएको र ३ जना डाक्टरहरूबाट हाल जेष्ठ ८ गते भएको लासजाँच रिपोर्टमा सास रोकिनाले मृत्यु भएको बुझिन्छ । तर सास रोकिनाको कारण भन्न सकिन्न भन्ने लेखिएको देखिएबाट भने प्यारेलालको बयान बमोजिम प्यारेलाललाई काटी मार्न नसकेबाट पक्राउमा परिन्छ भन्ने डरत्रासले नै जनकलाल रानी पोखरीमा आई हाम्फाली मरेको हो कि जस्तो देखिन्छ । तर अपहत्या गरी मर्नु भनेको एक साधारण काम कुरा होइन । ठूलै असह्य मानसिक वा शारिरीक वेदना वा चोट पर्नुपर्छ । मानसिक स्थिति ठिक नियन्त्रणमा नरहेको अवस्थामा मात्र त्यस्तो सम्भव हुन्छ । प्यारेलाललाई काटी मार्न असफल भएको हुनाले नै जनकलालले मर्नु पर्ने सम्मको स्थिति आईपर्यो भन्ने कुरा विचारणीय छ । (प्रकरण नं. ७१) (२) लास कहिलेसम्म पानीमा डुबेर तलै रहने ? ७ जना डाक्टरहरूको बोर्डले दोस्रो पटक लासजाँच गरी एक मत रिपोर्ट गरेकोमा मृत्युको कारण सास रोकिनाले नै भएको हो । लासजाँचबाट पत्ता लागेको कुराहरू र त्यो व्यक्ति गायब भएको र उसको लास पाइएको सम्भावित समय र लास किनारामा झिक्दा लासको दरोपनाको अवस्था बारे र पुलिसले दिएको खबर समेतको विचारबाट लास पानीमा पाइए तापनि लास पानीमा डुबेर मरेको होइन । सास रोकिनाको कारण भने यकिन गर्न सकिंदैन भन्ने लेखिएकोबाट उक्त ११।१२ गतेको सरजमिनको लेखाई बकाई समर्थित हुन्छ । अन्दाजी १२।१३ घण्टा भित्र लास उत्रेको नै देखिएको छ । प्यारेलालको तर्फबाट डाक्टरहरूलाई गरिएको १२ सवालको जवाफमा शरिरको स्पेसिफिक ग्राभिटी पानीको भन्दा हलुका भएको हुनाले मानिस पानीमा पर्दा फोक्सोको हावा बाहिर निस्किसके पछि मात्र माथि नउत्रने गरिकन तल डुब्दछ र लास कुहिई भएको ग्याँस लासलाई पानी भन्दा हलुका पारी सके पछि मात्र माथि उत्रन सक्छ । पानी बाहिर मरेको लास पानीमा परेमा तलसम्म नडुबी उत्रेकै हुन्छ भनिएको छ । पानीमा डुबेर मरेको लास कति समय पछि पानी माथि उत्रन सक्छ ? भन्ने प्रष्ट किटानको जवाफ छैन तापनि लास कुहिई भएको ग्याँस लासलाई पानी भन्दा हलुका पारी सकेपछि मात्र माथि उत्रन सक्छ भने पछि लास सड्न केही समय अवस्य लाग्छ र त्यस्तो नसडेसम्म त लास पानीमा डुबेर तलै रहने देखियो । (प्रकरण नं. ७१) (३) पानीमा हाम्फाली मरेका मानिसमा पाइने चिन्हहरू, फिंज पानीबाट लास उतार्दा पखालिए पनि फेरि फिंज आउने (मेडिकल जुरिसप्रुडेन्स, लेखक मोदी) उपरोक्त तथ्यको अभावमा लास पानीमा पाइए तापनि डुबेर मरेको भन्न नमिल्ने । पानीमा डुवी मरेको चिन्हहरूमा नाकबाट साबुनको फिंज जस्तो (केही रगत पनि मिसिएको) आउनु र नाक मुख वरिपरि जम्मा हुनु, हातको मुठी कसिएको हुनु र नङ भित्र माटो वा हात भित्र मुठीमा केही घाँस वा अरू केही चीज हुनु, पेटमा पानी हुनु, हात खुट्टा ढाडिई चाउरी परेको हुनुपर्ने देखिन्छ । यी सब चिन्हहरू मध्ये केही रगतको छिटाछिटी भएको साबुनको फिंजजस्तो बाक्लो फिंज नाकबाट आउनु र नाक मुख वरपर जम्मा हुनु एक प्रमुख चिन्ह हो, जसको आधारमा यो मानिस पानीमा डुवी मरेको हो भन्ने अनुमान गरिन सकिन्छ भनी मेडिकल जुरिसप्रुडेन्सका किताबहरूमा पाइन्छ । प्रस्तुत केसमा यी कुनै पनि चिन्हहरू देखा परेका छैनन् । धेरै ढिला लासजाँच भएकोले फिंज र अरू पनि चिन्हहरू हराएर जाने सम्भव हुन्छ । फिंजको हकमा पानीबाट लास उतार्दा पखालिन सक्छ भन्ने प्यारेलाल तर्फका विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद वर्माले बहस गर्नु भएकोलाई फिंज पानीबाट लास झिक्दा पखालिए पनि पछि फेरि आउने किसिमको हो । लासजाँच पनि भोलि पल्टै भएको देखिएको छ । लास पाखामा झिकेपछि पनि फिंज नाकबाट आउँछ भनी मोदी भन्ने लेखकको मेडिकल जुरिसप्रुडेन्सको किताबमा लेखेको छ । रानी पोखरीको लासजाँच मुचुल्कामा घाउ चोटपटक थिएन । हुनसक्छ, साना साना घाउ भएकोले नाङ्गो आँखाले देख्न सकिएन होला । तर रानी पोखरीको बगैंचा बनाउने म्याक्लर साहेबले बाँसको टुप्पामा तारको चक्का बनाई लास तान्न खोज्दा ति घाउहरू भएको हुनुपर्छ, भन्ने विद्वान वकिलको बहस थियो । तारको चक्का बनाई लास तान्न खोज्दा त्यतिका ६,७ ठाँउमा जस्तो घुँडामा, कुइनामा घाउ हुन सक्छ भनी विश्बास गर्न सकिन्न र पिसावको थैलीमा पिसाव नहुनु, मगज फियो, कलेजो र मृगौलामा रगत जमेको देखिनु, जनकलाल गायब भएको ६ गते राती पौने बाह्र, बाह्र बजेको समयदेखि रानी पोखरीमा लास उत्रेको समय ७ गते दिउँसो १ बजेतिर अन्दाजी १२।१३ घण्टामा लास पानीमा उत्रेको देखिएको हुनाले लास पानीमा पाइए तापनि पानीमा डुबेर मरेको होइन, भन्ने डाक्टरहरूको रायमा यो बेञ्च पूर्ण रूपमा सहमत हुन्छ । उपरोक्त कारणहरूले जनकलाल अपहत्या गरी पानीमा डुवी मरेको नदेखिई कर्तव्यबाट निजको ज्यान गई लास रानी पोखरीमा फालेको फाल्न लगाएको देखिन्छ । (प्रकरण नं. ७१) (४) अभियुक्त दोषी हुने गरी कुनै मतियार सरहको सहयोगी अभियुक्तले बयान गरेमा सो कुरालाई अरू स्वतन्त्र प्रमाणद्वारा समर्थन भएमात्र कसूर वारदात एकिन हुन सक्ने । कारण, प्रमाण परिबन्धबाट जसको कर्तव्यबाट मारेको ठहर्छ सो नै अपराधी ठहर्ने । शंकाको फाइदा अभियुक्त प्यारेलालले पाउँछन् कि भन्नलाई प्यारेलालको धेरै वर्षदेखिको पुरानो नोकरले किन त्यस्तो बयान गर्यो ? कसैको लोभ लालच वा वहकावटमा लागि त्यस्तो बयान गर्यो वा भएको यथार्थ कुरा नै बतायो ? यो कुरा विचारणीय छ । लालबहादुरको उपरोक्त बयानमा कतिसम्म सत्यता छ ? त्यो अरू स्वतन्त्र प्रमाणबाट समर्थित हुन्छ, हुँदैन ? सो विचार गर्नु अति जरुरी हुन आउँछ । अभियुक्त दोषी हुने गरी कुनै मतियार सरहको सहयोगि अभियुक्तले बयान गरेमा सो कुरालाई अरू स्वतन्त्र प्रमाणद्वारा समर्थन भएमात्र कसुर वारदात एकिन हुन आउँछ भन्ने सर्वमान्य कानूनी सिद्धान्त हो । यसै सिद्धान्तका आधारमा लालबहादुरको बयान कतिसम्म अरू स्वतन्त्र प्रमाणबाट समर्थित हुन्छ ? विचार गरी हेरौं । (प्रकरण नं. ७२) सर्वप्रथम यो कुरा आउँछ कि लालबहादुर प्यारेलालको एक विश्वासी पुरानो महिनाबारी रु. ५० रूपैंया तलब दिई राखेको नोकर हो । निजले अरूको बहकावटमा लागि यस्तो बनावटी कुराको बयान दिएको हो कि भनैं भने सो कुरा कतैबाट प्रमाणित हुन सकेको छैन । न त प्यारेलालले नै लालबहादुरले घुस खाई त्यस्तो झुठ्ठा बयान दिएको हो भनी सावित गर्ने कोशिस गर्नुभएको छ । उल्टो प्यारेलालले नै लालबहादुरलाई घुस दिई आफ्नो पक्षमा ल्याउने प्रयास गर्नुभएको छ । लालबहादुर, रामबहादुर र जितबहादुरलाई जनही ३।३ रूपैंयाँका दरले घुस कं. तेजबहादुर मार्फत पठाउनु भएको मिसिलबाट देखिएको छ । लालबहादुर, रामबहादुर मेरो नोकर भएका र हामीलाई सरकारी सिधाले नपुगी भाँडा बन्धक राखेका छौं । केही खर्च पाउँ भनी खबर पठाएकोले रु. ९। दिएको हुँ । अरू कारणले होइन भन्ने प्यारेलालको भनाई छ । तर लालबहादुर, जितबहादुर र रामबहादुर थुनामा रहेको वखतमा नै बन्धकी निखन्ने उपयुक्त बेला थियो । फेरि लालबहादुर, रामबहादुर त प्यारेलालकै नोकर भएकोले बन्धकी रहेको भाँडा निखन्न दियो भन्ने सम्झौं । तर जितबहादुर त प्यारेलालको कोही होइन । उसको भाँडाको बन्धकी निखन्न प्यारेलाललाई के मतलब ? लालबहादुर, रामबहादुर र जितबहादुर सबैको भाँडा बन्धकमा पर्नु र सबैको यसैबेला निखन्ने भन्ने कुरा पनि मिल्दो कुरा भएन । यसबाट यही प्रष्ट हुन्छ कि प्यारेलालले यी तिनै जना अभियुक्तलाई आफ्नो पक्षमा बकाउने कुप्रयास गरेको हो । तर कं. तेजबहादुरको इमान्दारीताबाट यो काम उद्देश्य केही हदसम्म सफल हुन पाएन । यस्तो पुरानो विश्बासी नोकरले प्यारेलाललाई बनाबटी कुराले फसाउनु पर्ने कुनै कारण पनि देखिंदैन । फेरि लालबहादुरको बयानलाई ७ जना डाक्टरहरूको बोर्डको रायले समर्थित हुन्छ । डाक्टरहरूको रिपोर्ट छ, लास पानीमा पाइए तापनि पानीमा डुबेर मरेको हैन । जब पानीमा डुबेर मरेको प्रकृति देखिंदैन, तब लास लालबहादुरको बयान बमोजिम नै फालिएको हो भनी विश्बास गर्न नपर्ने कुनै पर्याप्त कारण छैन । जनकलाल एक लायक हट्टाकट्टा देखिएको युवकले प्यारेलाललाई काटी मार्ने नियत भएको भए रेटेर मार्न पर्ने थिएन । १।२ चोटमा नै प्यारेलालको ज्यान जान सक्थ्यो । प्यारेलाललको भनाई बमोजिम प्यारेलालले सेफमा दाम थन्काएको जनकलालले देखेको हुनाले सोही दामको लोभले प्यारेलाललाई काट्न खोजेको हो कि त भनौं भने पनि रेशमलाल ठूलै काँटको व्यापारी देखिएको छ । यस्तो हैसियतदारको छोराले त्यती दाम ने. रु. ७५२५।३४ भा. रु. ७९८८। (जुन पसल जाँचबाट सेफ कन्तुरमा रहेको देखिएको छ) को लोभमा परी मानिस काटी मार्न सम्भव देखिंदैन । यदि प्यारेलालकै भनाई बमोजिम काटी मार्न नसकेको भएपनि त्यतिकैबाट मानिस रानी पोखरीमा फाल हाल्छ भनी भन्न कुनै तर्फबाट पनि मिल्ने देखिंदैन । प्यारेलालसँगै व्यापारिक कारोवार भएको व्यक्तिले प्यारेलाललाईनै काटी मार्न पनि केही कारण र नियत देखिंदैन । अब प्यारेलालको शरीरको घाउहरू विचार गरौंं । घाँटी तिर घाउ लागेको जस्तो लागि बिउझिएँ, देब्रे हात छातीदेखि केही माथि घाटीनिर राखी सुतेको बेलामा हातमा घाउ भएको । बायाँ हातबाट हतियार पक्रिंदा खुकुरी रहेछ । उठी खुकुरी समाती खोसाखोस भयो भन्ने, कठालो पनि समातेको भन्ने प्यारेलालको भनाई छ । खुकुरी समाती सकेपछि प्यारेलालको घाँटीमा कसरी आठवटा घाउ पर्न गयो । खुकुरी खोसाखोस हुन थालीसक्यो । आठवटा घाउ हुन्जेलसम्म प्यारेलाल निद्रामा भएको भन्नु पर्यो । काट्नेले पनि एकै चोटी नकाटी साना साना आठवटा घाउहरू बनाईरहन पर्ने कारण छैन । घाउ लाग्नासाथ बिउझें भनेपछि घाँटीमा आठवटा घाउ लाग्न सक्ने अवस्था नै परेन । त्यसको साथ साथै दाहिने हातमा पनि घाउ देखाईएको छ । दाहिने हातमा घाउ हुनु पनि नमिल्ने कुरा छ । खोसाखोस गर्दा खुकुरी ढोकानिर खस्यो भन्ने प्यारेलालको भनाई बायाँ हातले खुकुरी समाती खोसाखोस भएको फेरि कठालो पनि समातेको भने पछि दाहिने हातले नै समातेको भयो । यसरी दाहिने हातमा घाउ हुने खण्ड परेको देखिंदैन । तर प्यारेलालको घाउ जाँचको केश फारमबाट दाहिने हातमा घाउ देखाएको छ । प्यारेलाल नाङ्गो खुकुरी लिई पुलिस सेन्ट्री बसेको ठाउँमा पुगेको देखिएको छ । कं. दिलबहादुर बुढाथोकीले प्यारेलालले नाङ्गो खुकुरी लिएर हिँडेको देखि नाङ्गो खुकुरी लिई हिँड्न हुन्न भनी मैले खुकुरी खोसी सेन्ट्रीमा नै राखेको हुँ भनी भनेको छ । प्यारेलाललाई काटी जनकलाल भागेको भए काटी भाग्ने मानिस समात्ने कोशिस पट्टी नलागी नाङ्गो खुकुरी लिइ गुहार गुहार गरी हिँड्ने काम स्वभाविक देखिंदैन । काट्न लागेको अवस्थामा गुहार माग्नु स्वभाविक कुरा हो । तर काट्ने मानिस भागेपछि भाग्ने मानिस समात्न खोज्नु नै पहिला काम हुन्छ । तर प्रस्तुत केशमा मानिस भरखरै भागेको छ तापनि त्यसपट्टी ध्यान नगई खाली गुहारमा लागिएको छ । काट्ने मानिस कता भाग्यो ? समात्न पर्यो भनी अ. स. ई. हेमप्रसादले प्यारेलालसँग भन्दा अहिले मलाई डाह भएको छ । चिनेकै मानिस हो । त्यो कहाँ जान्छ ? पक्री हालिन्छ भनी प्यारेलालले भने भनी अ. स. इं. हेमप्रसादले बयान गरेकोबाट प्यारेलालको काटी भाग्ने मानिस तत्काल पक्राउ गर्ने अभिप्राय नभई भाग्ने मानिस पक्राउ गर्न खोज्दा लालबहादुर फेला पर्ला भन्ने डरले भाग्ने मानिस समात्ने पट्टी हटक गरेको देखिन्छ । जनकलाल भागेको भनी जनकलालको स्थान लिन खोज्ने लालबहादुर भागेकोले नै काटी भाग्ने मानिस पक्रन पट्टी छेका हालेको हो भन्ने कुरालाई उपरोक्त अ. स. ई. हेमप्रसादको बयानबाट पुष्टी मिल्छ । यी सब कुरा अपराध गरेको अवस्थामा प्रकट हुने चिन्हहरू हुन् । किनभने त्यस्तो अपराध भए गरेको छ । त्यस्ता अवस्थामा कुनै पनि मानिसको मानसिक स्थिति ठिक रहन्न । यो मनोबैज्ञानिक कुरा हो । घाउ बनाउँदा बेठाममा पनि घाउ बन्न जानु, काटी भाग्ने मानिस पट्टी विचारसम्म पनि नहुनु, आफूलाई घाउ पनि लगाई सोही नाङ्गो खुकुरी हातमा लिई बनावटी प्रकृति देखाउनु, यी सब कुराहरू साधारण अवस्थामा अर्थात मानसिक स्थिति ठिक भएको अवस्थामा हुने कुरा होइनन् । आफूलाई खुकुरी लागिसकेकोले होस ठेगानमा नभई समात्ने विचारै आएन भन्ने प्यारेलालको भनाई छ । आफूलाई काट्ने मानिस जसको कठालो समेत समाती सकेको र बाहिर कुसुले पूर्णप्रसाद पनि गुहारमा आइसकेको छ भने पछि त्यस्तो मानिसलाई समात्न नसक्ने कुनै कारण देखिँदैन । लास रानी पोखरीमा फाली सकेपछि प्यारेलालको पसलमा आई प्यारेलालको ललाबहादुरको लालबहादुरसंग खुकुरीले आफ्नो शरिरमा आफैंले घाउ लगाई काट्यो, मार्यो भनि कराउँछु, तँ भागे जस्तो गर्नु भन्ने सल्लाह अनुसार म भागें भन्ने जुन कथन छ, त्यस कुरालाई यी माथिका कुराहरूले गहिरो तरिकाले समर्थन गरेको देखिन्छ । खुकुरी हेर्दा पनि चलन व्यवहारमा नआएको बिल्कुल नयाँ खुकुरी छ । फेरी जनकलाल खुकुरी भिरी हिँड्ने किसिमको मानिस हो भन्ने कुरा कतैबाट देखिदैंन । अर्को मुख्य प्रमाण लाग्ने कुरा प्यारेलालको पसलबाट बरामत भएको ३ गजको स्वदेशी कपडा छ । मर्ने जनकलालको मुखमा कपडा कोची राखेको रहेछ भन्ने लालबहादुरको भनाई छ । कपडामा रातो रातो दाग हुनुको साथै चिउराको टुक्राहरू पनि देखिएको छ । प्यारेलाल तर्फको भनाईमा यो कपडा २।३ महिना अघि प्यारेलालको छोरा भर्याङबाट लडी विरामी हुँदा अस्पताल लैजाँदा छोरालाई बेर्ने काममा प्रयोग भएको हो र त्यसै बेला छोराले वान्ता गरेको दाग हो भन्ने जिकिर छ । त्यति लामो समयसम्म ग्राहकहरू आउने जाने पसलमा यस्तो कपडा रही रहन सक्छ भन्ने अनप्रतितको कुरा हो । (प्रकरण नं. ७३) यी सब कारणहरूले गर्दा प्यारेलालको पसलबाट जनकलाल भागेको नभई लालबहादुर नै जनकलाल बनी भागेको रहेछ भन्ने कुरा सिद्ध हुन आएको छ । प्यारेलालले नै त्यस्तो जघन्य अपराध गरी कसूर छिपाउन त्यस्तो रचना गरेको प्रष्ट देखिएको छ । उपरोक्त कारण प्रमाण परिबन्दबाट प्यारेलालकै कर्तव्यबाट जनकलालको ज्यान मरेको ठहर्नाले तपसिलमा लेखिएको विषयमा तपसिलमा लेखिए बमोजिम गर्ने गरी अरू विशेष अदालतको फैसलामा लेखिएको बुँदा प्रमाणबाट समेत इन्साफ उक्त विशेष अदालतको मनासिब ठहर्छ । (प्रकरण नं. ७४) (५) लासजाँच गराउँदा ज्यान सम्बन्धका ३ नम्बर बमोजिम रीत पुर्याई खुलाउनु पर्ने कुराहरू खुलाई लास जाँच नगरेको देखिएमा ज्यान सम्बन्धीका ४६ नं. बमोजिम हदैसम्मको दण्ड जरिवाना हुने । देहायका मानिस के रानी पोखरीमा मौकाको लासजाँच गराउँदा ज्यान सम्बन्धीका ३ नम्बर बमोजिम रीत पुर्याई खुलाउनु पर्ने कुराहरू खुलाई लासजाँच गरेको नदेखिँदा ज्यान सम्बन्धीका ४६ नं. बमोजिम विशेष अदालतका ०१४।४।१६।६ का फैसलाले देहाय बमोजिम गर्ने गरेको जरिवानाले नपुग्ने भई उक्त ऐन बमोजिम हदैसम्मको देहाय बमोजिका दरले जरिवाना हुन्छ । (प्रकरण नं. ७६) (६) लासजाँच गर्दा डाक्टरहरूले लासजाँच गर्न ल्याएको समय र लासजाँच भएको समय लेख्नुपर्ने । मृत्युको कारण पत्ता लाग्न गाह्रो भएमा पेटमा पाईएका पदार्थहरू रासयनिक जाँचको निमित्त बचाएर राख्नुपर्ने । प्रचलित कानून र मेडिकल जुरिसप्रुडेन्समा देखाउनु खुलाउनु पर्ने कुरा विवरण सहित खुलाई जाँच गर्नु पर्ने । प्रस्तुत केसमा डाक्टरहरूबाट भएको लासजाँचमा जो जति कुराहरू खोल्नु खुलाउनुपर्ने थियो यथार्थ खुलेको देखिएन । लासजाँच गर्न ल्याएको समय र लासजाँच भएको समय लेख्नु पर्ने साथै मृत्युको कारण पत्ता लाग्न गाह्रो भई शंका उत्पन्न भएमा लासजाँच गर्दा पेटमा पाईएको पदार्थहरू रासयनिक जाँचको निमित्त बचाएर राख्नु पर्छ भन्ने मेडिकल जुरिसप्रुडेन्सका किताबहरूमा लेखिएको देखिन्छ । आईन्दा हुने लासजाँचमा मर्नेको कुन किसिमबाट मृत्यु भएको छ, त्यसको सिलसिलामा प्रचलित कानून र मेडिकल जुरिसप्रुडेन्सका किताबहरूबाट के कति कुरा देखाउनु खुलाउनु पर्छ ? त्यसको ख्याल राखी देखिएसम्मको विवरण खुलाई जाँच गर्नु भनी डाक्टरहरूलाई सूचना दिन स्वास्थ्य मन्त्रालयलाई लेखी पठाइदिनु । (प्रकरण ७७) (७) लासजाँच मौका तहकिकात गर्दा प्रचलित कानूनको आधारमा रही ज्यान सम्बन्धीका ३ नं. बमोजिम खुलाउनुपर्ने कुराहरू खुलाई, पाएसम्म सरजमिनका धेरै मानिसहरू राखी मौका तहकिकात लासजाँच गर्नुपर्ने । प्रस्तुत केसमा भएको मौका तहकिकात लासजाँचमा ज्यान सम्बन्धीका ३ नं. को रीत पुर्याई पुलिसबाट खुलाउनुपर्ने कुराहरू खुलाई कारवाई गरेको नदेखिएकोले आयन्दा पर्न आउने यस किसिमका मृत्युका लासजाँच मौका तहकिकात गर्दा प्रचलित कानूनको आधारमा रही ज्यान सम्बन्धीका ३ नं. बमोजिम खुलाउनु पर्ने कुराहरू खुलाई पाएसम्म सरजमीनका धेरै मानिसहरू राखी मौका तहकिकात लासजाँच गर्नु भनी पुलिसहरूलाई सूचना दिन गृह मन्त्रालयलाई लेखी पठाई दिनु । (प्रकरण ७८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 100 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2017/09/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१७, नि.नं. 100 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
