नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10 · वि.सं. २०१५

नि.नं. 10 — राज्य उलट पुलट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफूले लगाएको अभियोगमा आफैले अदालती कारवाईमा सरिक हुनु हुँदैन – कन्टेम्प्ट (मानहानी) का मामिलाहरूमा मात्र आफै बादी आफै न्यायाधीश हुनसक्ने । उजुरवाला आई.जी.पी.ले अदालतको विचारासनमा बसी आफूले लगाएको अभियोगमा आफै कारवाईमा सरिक हुनु राम्रो देखिन नआई आफै वादी आफै न्यायाधीश कन्टेम्प्ट (मानहानी) मा मात्र चल्न सक्तछ । सो बाहेक अरू कलममा यस्तो हुनगर्न पाउने हाम्रो प्रचलित कानुनमा कतै व्यवस्था रहेको देखिदैन । (प्रकरण नं. २१) (२) का.म्या.सवाल नं.१ (व), २ (घ) र २ (ङ) सरकारले का.म्या.लाई मुद्दा सुम्पेको का.म्या.सवालको नं.१ (व) भित्र नपर्ने कालो बजार गरेकोमा र श्रेस्ता अड्डातर्फ सरकारी नोक्सानी परेको मुद्धा बाहेक रु.५०। सम्म दण्ड जरिवाना हुने, कैद बर्ष ३ हुने र बिगो मो.रु.५०। सम्मको मात्र हेर्न पाउने । सरकारी एडभोकेट विद्धान शम्भुप्रसाद ज्ञबालीको बहसमा काठमाडैं मेजिष्ट्रेटको सवालको १ को (व) बमोजिम काठमाडौं मेजिष्ट्रेटको अधिकार क्षेत्र भित्र पर्छ भन्ने जिकिर लिनु भएकोमा सो दफा पढि हेर्दा ३ बर्षसम्म मेजिष्ट्रेटले कैद सजाय दिन सक्छ भन्ने र २ को (घ) मा सवालले हेर्न पाउने अख्तियारी भित्रको मुद्दामा पनि कालो बजार गरेमा सजाय हुने र श्रेस्ता अड्डा तर्फको सरकारी नोक्सानी परेको मुद्दा बाहेक अरूमा रु.५०। सम्म दण्ड जरिवाना र कैद बर्ष ३ हुने र बिगोमा रु.५०। सम्मको मुद्दा सम्म हेरी किनारा लगाई दिनु । सो भन्दा बढी दण्ड जरिवाना कैद बिगो भएको मुद्दाका हकमा मेजिष्ट्रेटले हेरी रहनु पर्दैन । इलाका अदालतमा बुझाई दिनु पर्छ । लेखिए बमोजिम हेर्न नभई बुझाउन ल्याएमा इलाका अदालतले पनि बुझी लिई ऐन बमोजिम कारवाई फैसला गर्नु पर्छ भन्ने र ऐजन (ङ) मा यो सवाल जारी हुनुभन्दा अघि दायर भई रहेका मुद्दाहरू मध्ये हेर्न अख्तियार पाए भन्दा बढी बिगो दण्ड कैद लाग्ने प्रमांगीले दायर भई रहेका मुद्दाहरू इलाका देवानी फौजदारी जहाँ बुझाउनु पर्छ बुझाई दिनु भन्ने लेखिएकोबाट ३ बर्ष भन्दा बढी कैद सजाय हुनसक्ने मुद्दा मेजिष्ट्रेटलाई दिन र मेजिष्ट्रेटले हेर्न हुँदैन भन्ने अर्थ आउँछ । (प्रकरण नं. २१) (३) अभियोगिलाई सजाय गर्न परेमा महल मात्र खोल्नु पर्याप्त नहुने – महलको कुन ऐन अन्तर्गत कति सजाय हुने हो सो पनि खोल्नु पर्ने । विशेष अदालतले मुत्यु दण्डको भागी हुनालाई तत्पर रहने छौं भन्ने वाक्य खण्डलाई आपत्तिजनक सम्झी ज्यान सम्बन्धीको महलले सजाय हुने भनी फैसलामा लेखिएको देखियो तर सो महलको कुन नम्बरको खिलाफ हो र कुन नम्बरबाट के कति सजाय हुने हो खुलाएको छैन् । (प्रकरण नं. २१) (४) लिखतको व्याख्या लिखितको लबजहरू स्पष्ट भएमा अक्षरशः जो अर्थ आउँछ सोही व्याख्या दिनुपर्दछ । देश हितको काम तनमनधनले गर्ने प्रतिज्ञालाई उच्च विचार सम्झनु पर्ने र देश हितको बाधा पारेमा मृत्यु दण्डको भागी हुन तत्पर हुनु पर्ने । कसैको अधिकार हरनगर्ने कसैको नोक्सानगर्ने र कसैको ज्यान लिने मनसाय गरेको अर्थ हुनै सक्तैन । यसको अर्थ अपहत्या गर्ने हो भन्न पनि हुँदैन । यसमा भागी हुनकालागि तत्पर रहनेछांै भनी लेखिएकोबाट हदसेहद सजाय व्यहोर्न कबुल गरेको मात्र हो । तत्पर रहनुको माने तयार रहनु हो । आफु लगायत कसै उपर हात उठाउने अर्थमा यो वाक्य खण्ड आउन सक्तैन । बिनोदचन्द्रको बयानमा यसको बर्खिलाफ काम गरेमा पार्टीको नेता र सदस्य मिली मृत्यु दण्ड दिने भनी लेखिएको भन्ने अर्थ लगाएको छ तापनि सो अर्थ यी लबजहरूबाट लाग्नु लगाउनु अनर्थ हुन्छ । लेखिएका लबजहरू स्पष्ट भएकोमा अरू अर्थ लगाउने प्रयत्नगर्नु मुनासिब पर्दैन । सायद सो बयानगर्नेको मनमा त्यस्तो विचार हुँदो हो । तर अक्षरशः सो अर्थ आउन सक्तैन । अदालतले लगाउन हुदैन । (प्रकरण नं. २१) (५) राजालाई समेत गद्दीबाट निस्कासित गर्ने अधिकार दिइएको छ भनी राजाको हुकुम नलिई लालमोहर नक्कल खेस्रा गर्नु दण्डनीय अपराध हो । लालमोहर गराउन राखेको मसौदा खेस्रा नक्कलमा देशलाई सुहाउँदो पूर्ण समाजवादी व्यवस्था गर्न मन्त्रीमण्डल गठनगरी बक्सेका छौं । सो अन्तरीम मन्त्रिमण्डलले गरेको सम्पूर्ण काम कारवाईमा हामीबाट हस्तक्षेप गरिने छैन् । गद्दीको सुरक्षा राखी मन्त्रीमण्डलले पास गरी तोकी दिएको अधिकारमा हामी रही कार्य गर्न मन्जुर छौं । दिइएको अधिकारको दुरूपयोग गरे हामीलाई गद्दीबाट निस्कासीत गर्न समेतको अधिकार जनताको प्रतिनिधित्व गर्ने यो मन्त्रमिण्डललाई दिइएको छ भन्ने लेखिएको पाइन्छ । यसमा यो कागज मसौदा खेस्राको रूपमा मात्रै छ । अरू कसैसँग सल्लाह नगरी आफु एक्लैको मनसायबाट मात्र लेखाएको भन्ने र पदमसुन्दर मल्ललाई देखाउँदा लबज कडा भयो । फेर्न पर्छ भनेकाले फेर्ने भएको थियो भनी फोरमान वी.वीं राइले बयान गरेको छ तापनि राजा, जो यस मुलुकको लागि सर्वोच्च अधिकार सम्पन्न व्यक्ति होइबक्सन्छ । जसबाट आजसम्म बखत बखतमा मौका र आवश्यकता अनुसार मौसुफका इच्छा र विचारबाट मौसुफमा निहित विशेषधिकारबाट मुलुकको कामकाजको लागि खटाई बक्सेको छ । मौसुफको हुकुम बेगर दिइएको अधिकारको दुरूपयोग गरे हामीलाई गद्दीबाट निस्कासीत गर्ने समेतको अधिकार दिइएको छ भन्ने लबज अक्षरशः लेख्नु दण्डनीय अपराध होइन भन्न कुनै प्रकारबाट पनि हुँदैन । यो अपराधको दोषीलाई कानुन बमोजिम सजाय हुनैपर्छ। (प्रकरण नं. २१) (६) पुलिस आफैं बयान लिने अधिकारी भई गराएको बयानमा अभियोग सावित भई बयान गरेमा पनि अरू सबुद प्रमाणबाट साविती बयान समर्थित नभएमा साविती बयान मात्रैको आधारमा कसुरको ठेगाना लाउनु मुनासिब पर्दैन । फोरमान वी.वी.राई सरकार बिरुद्ध घृणा र द्वेष फैलाउने भन्ने र मे.क.कृपासुरले म पल्टन मिलाएर आउँछु भनेको र वीरगञ्ज घलले ५० नाल बन्दुक ल्याउँछु भनेको थियो भनी फोरमान वी.वी.राईको बयानमा लेखिएकोमा खानतलासीमा बरामद भएका कुनै कागजातमा पनि यी कुनै कुराको उल्लेख नभएकोले बयानगर्नेहरूको आन्तरकि विचार मात्र रहेछ या पक्राउ भई बयान गर्दा पुलिस आई.जी.पी.बयान गराउने अधिकारीको रूपमा बसेकाले बयान गरेको भन्नु पर्ने हुन आउँछ । किनभने न त यो कुरा कुनै कागजातमा देखिन्छ न त यस तर्फ कुनै चेष्टा गरेको सवुत पाइन्छ । कुने अभियोगिले साविती बयान ग¥यो भने सो साविती भएको कुराको पुष्टीको लागि प्रमाण चाहिन्छ चाहिदैन या प्रमाण नभए पनि सावित भएकोले त्यतिकैबाट निज अपराधी हुन्छ । निजले पोलेका व्यक्तिहरू इन्कार भएमा उनीहरूलाई कसुरदार ठहर्‍याउन कतिसम्म सबुदको दरकार पर्छ, यस तर्फ विचार गर्दा सबुदले पुष्टी नदिएको साविती बयानको आधारमा मात्र कसुरदार ठहर्‍याएमा एकाको अपराधमा बीचको व्यक्ति आई कसुर सकार गरी वास्तविक अपराधीलाई बचाउनसक्ने सम्भावना रहन जान्छ । त्यसकारण साविती बयानबाट मात्रै कसुरको ठेगाना लगाउन मनासिब पर्दैन । (प्रकरण नं.२१) (७) सावितीले पोलेकोमा – इन्कार रहेमा – इन्कारीको अभियोग सावित गर्नु पोल्नेको र वादीकै कर्तव्य । इन्कारमा रहेका व्यक्ति उपर लगाइएको अभियोग अरू सबुद प्रमाणले समर्थित नभएमा पुलिसको कर्तव्य अपराधीको खोज गर्ने र अपराध हुन नदिने । अभियोगि सावित गर्न ठोस सबुद प्रमाण पेश गर्नु पर्ने भएकोले पोलिएकै भरबाट र पुलिसको शंकाको भरमा मात्र अपराधी ठहर्‍याउनु हुँदैन । सावितीले पोलेकोमा इन्कार हुनेको हकमा त्यस्तो पोलिएको व्यक्तिले गरे बिराएको सबुद बेगर पोलिएकैबाट मात्र सजाय भागी बनाउन पनि न्यायसंगत हुन जाँदैन । पोलिएको व्यक्तिले कुन बखत कसले कुन कुरामा पोल्दछ भन्ने सम्झी सबुद तयार गरी राख्न सक्दछ । घटना भएको अन्यत्र कतै भए त्यतिमात्र देखाउन सम्भव छ । सबैलाई सबै बखत त्यस्तो अवसर पर्दैन । त्यसो हुँदा पोलिएको व्यक्तिको कसुर सावित गर्न प्रमाण पोल्ने अभियोगी र वादी कै कर्तव्य हुन आउँछ । यस मुद्दामा पुलिसको रिपोर्ट र अभियोगिका बयान बाहेक षडयन्त्रको अरू कुनै सबुद पाइदैन । पुलिसको कर्तव्य अपराधीको खोज गर्ने र अपराध हुन नदिने हो । साथ साथै पुलिसले कुनै व्यक्तिलाई कुनै अपराधको अभियोगी सावित गर्न अदालतको समक्ष ठोस सबुद प्रमाण पेश दाखिल गर्नुपर्छ । पुलिसको शंकाको भरले कुनै व्यक्तिलाई अपराधी तुल्याउन हुँदैन । (प्रकरण नं.२१) (८) सभा वा संघ ऐन, २००५ को दफा ५ अबैधानिक सभा गर्ने अभियोगमा सभा हुन नपाएको देखिए अवैधानिक सभा गर्ने अभियोग लगाउन नमिल्ने । सभा वा संघ ऐन, २००५ को दफा ५ को परिधि भित्र रही सभा संघ गरेमा कसैलाई बात कसुर लाग्दैन । यस मुद्दामा ४ ठाउँमा सभा भएको उल्लेख पाइन्छ । भक्तपुरमा सभा हुँदै भएन । पशुपति भण्डारखालमा स्वयम्भूमा सभा गर्ने उद्योगसम्म भयो । मानिस जम्मा हुन नसकेकोले सभा हुन सकेन भन्ने धेरैको एक मिलान बयान छ । सभा सम्पन्न भएको सबुद वादी तर्फबाट पेश दाखिल भएको छैन । पुलिसले घटनास्थलमा पक्राउ गर्न सकेको छैन । यस अवस्थामा उपरोक्त ३ ठाउँमा अवैधानिक सभा गरे वापत सजाय दिन नमिल्ने । (प्रकरण नं.२१) (९) गुप्तचरहरूको प्रोत्साहनमा – अफिसर वा पल्टनियालाई राजभक्ति या कर्तव्यबाट बिचलित गराउने उद्देश्य लिई भएको सभामा प्रतिज्ञापत्रमा सही भए पनि गुप्तचर बाहेक अरू अभियोगीले उद्देश्य पूर्ति तिर काम गरेको नदेखिई सही गर्नेहरूमा गुप्तचरको संख्या बढी भएमा अबैधानिक षडयन्त्र गरेको अभियोगमा सजाय दिन नमिल्ने । यस मिसिलबाट पल्टन मिलाउने। पुलिस हात लिने कुरा मुख्यतया गुप्तचर गोवरधनले कालीबहादुर, गोर्खबहादुर हात आई सकेको छ भन्यो । पुलिस पट्टी पनि हात लिन म भएँ भनी ले.हर्षबहादुरले भनेको थियो भन्ने मे.क.कृपासुर समेतको बयानबाट देखिन्छ । गुप्तचरको प्रोत्साहनहुँदा हुँदै पनि गुप्तचर बाहेकका अभियोगीले कुनै अफिसर वा पल्टनीया जवानलाई राजभक्ति या कर्तव्यबाट बिचलित गराएको वा गराउने प्रयास गरेको मिसिलबाट देखिदैन । सभा सम्पन्न भएको प्रमाण भएको वीरजंग घले समेतले सहीछाप गरेको । ले.वीरबहादुर राईको घरको मिटिंगमा भएको प्रतिज्ञापत्र हेर्दा जम्मा २३ जवानको सहीछाप परेको देखियो । त्यसमा १३ जवान सरकारी गुप्तचर ५ जवान वतन नभएकोले खोजी गर्दा पनि फेला नपरेका र बाँकी ५ जवान मध्ये धन शाह भन्ने कमलशाह कुनै मिटिंगमा पनि उपस्थित नभएको भन्ने बिनोदचन्द्रको बयानबाट देखिएकाले पछिबाट भए गरेको भनेको मनासिब मान्नु पर्नेमा ले.वीरबहादुर १ हर्षबहादुर दाज्यू भाई भई घरवेटी हुँदा बाँकी २ जवान घर बाहिरको देखिनआइो । अभियोग भन्दा गुप्तचर बेसी मात्रामा यस काण्डमा मुख बयान बाहेक अरू कुनै सबुद नदेखिनाले पनि अवैधानिक षडयन्त्र ठहर्‍याई अभियोगीहरूलाई सजाय दिन मिल्दैन । (प्रकरण नं.२१) (१०) दण्डनीय शब्द प्रयोग गरेको लाल मोहर खेस्रा गरेमा सावित भई खेस्रा बरामद समेत भएमा कागज जाँचको ऐन लाग्ने । लालमोहर गराउन भनी लेखिएको खेस्रामा दण्डनीय शब्द लेखाएमा सावित भएको । उता लालमोहर गराउन भनी गरेको खेस्रा समेत खानतलासीमा निस्की सबुद पुग्न आएको । फोरमान वी.वी.राईलाई पनि कागज जाँचको ऐनले सजाय गर्नु पर्नेमा २००५ सालको सभा वा संघ सम्बन्धीको ऐनले सजाय गरेको समेत विशेष अदालतको इन्साफ गल्ती ठहर्छ । (प्रकरण नं.२१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10
मुद्दाको विषयराज्य उलट पुलट
निर्णय वर्ष / मिति2014/11/30
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१५, नि.नं. 10
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्